८ वैशाख २०८१ शनिबार
अर्थ

न्युरोड शाखाका तीन वरिष्ठ अधिकारी पक्राउ

काठमाडौं- ग्राहकको इलेक्ट्रोनिक्स चेक क्लियरेन्सको क्रममा असम्बन्धित खातामा जम्मा गरेर बैंकको पाँच करोड हिनामिना गरेको अभियोगमा कृषि विकास बैंक रामशाहपथका शाखा प्रबन्धक, इसिसी प्रमुख र कर्जा प्रमुख पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंक मुख्य शाखा न्युरोडका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, सोही शाखाका मुख्य शाखाका इसिसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहठ्ठालाई सोमबार पक्राउ गरेको हो । 
चेक क्लियरेन्सबापतको रकम ग्राहकको खातामा जम्मा गरेपछि सोही चेक प्रयोग गरी बैंकको मुख्य सिस्टममा छेडखानी गरेर आफ्नो खातामा रकम जम्मा गरी चार करोड ९१ लाख हिनामिना गरेको अभियोगमा ब्युरोले बैंकको कर्मचारी दिपिका रेग्मीलाई पक्राउ गरेको थियो । 
पक्राउ अभियुक्तलाई उच्च अदालत पाटनबाट सोमबार  पेस गरी सात दिनको म्याद लिएर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ । 
ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार रेग्मीको बयान र अनुसन्धानमा उनले ठगीमा प्रयोग गरेको खातामा चेक क्लियरिङ गर्न उनीहरुले सघाएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो । 
ब्युरोले विभिन्न व्यक्ति र संस्थाले विभिन्न बैंकको चेकमार्फत उक्त बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक्स चेक क्लियरेन्स (इसिसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरेपछि सोही चेकलाई प्रयोग गरी पुनः कोर बैंकिङ सिस्टमबाट गैरकानुनी रुपमा रेग्मी र उनको आफन्तको खातामा रकम जम्मा गरेको खुलेको जनाएको छ ।

ब्युरोले मंसिर १६ गते अनियमितामा संलग्न रहेको अभियोगमा रेग्मीसँगै प्रकाश घतानी र रमेशकुमार थापालाई पक्राउ गरेको थियो । यीसँगै नेपाली सेनाका जर्नेल डा रमेश विष्ट समेत संलग्न रहेको खुलेपछि बयान लिएर ब्युरोले उनलाई सेनाको जिम्मा लगाएको थियो ।
अनुसन्धानमा बैंककी सहायक टेलर रेग्मीले हिनामिना गरेको बैंकको रकम आफ्नो नाममा रहेको खातासँगै सुन कारोबारी घतानी र जर्नेल विष्टको खातामा राखेको देखिएपछि प्रहरीले उनीहरुलाई समेत अनुसन्धानको दायरामा ल्याएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइरहेको छ । 
ब्युरोका अनुसार रेग्मी चार महिनादेखि अनियमिततामा संलग्न थिइन् । घतानीको खातामा रेग्मीले एक करोड सात लाख रुपैयाँ जम्मा गरेको देखिएको थियो भने विष्टको खातामा ३२ लाख रहेको खुलेको थियो । 
ग्राहकले जम्मा गरेको रकम खातामा बैंकबाट जम्मा हुने गरेकाले सो रकम हिनामिना गरेको घटना सार्वजनिक भएको थिएन । बैंकले शाखाको अनुगमन गर्दा एक चेकको भुक्तानी शंकास्पद देखिएपछि थप अनुगमन गर्दा ठगी प्रकरण खुलेको हो । बैंकले सो घटनाबारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराएपछि राष्ट्र बैंकले सो घटना अनुसन्धान गर्न ब्युरोमा पठाएको थियो । 
राष्ट्र बैंकको पत्रको आधारमा अनुसन्धान अगाडि बढाएको ब्युरोले मंसिर १६ गते तीनजनालाई पक्राउ गरेको थियो । सोमबारको पक्राउपछि यस प्रकरणमा बैंकका पाँच कर्मचारी, सेना र सुन कारोबारी जोडिएका छन् । सोमबार म्याद थप गरिएका तीनैजना कर्मचारीलाई बैंकले निलम्बन गरिसकेको छ ।
बैंकिङ कसूरमा कृषि विकास बैंकका कर्मचारी पटकपटक पक्राउ पर्ने गरेका छन् । यसअघि ब्युरोले स्वयम्भु शाखाका नौजना कर्मचारीलाई ३३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ गरेको थियो भने धितोभन्दा बढी ऋण प्रवाह गरेर ६ करोड ठगी गरेको अभियोगमा बैंकको लगनखेल शाखाका बद्रीराज सुवेदी, उमेशबहादुर राना, फुरन नाम्गेल शेर्पा र ताराप्रसाद काफ्लेलाई पक्राउ गरेको थियो ।

प्रकाशित: २६ मंसिर २०७४ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App