६ वैशाख २०८१ बिहीबार
अर्थ

चुनावपछि देखिएन सेयर बजारमा नयाँ रौनक

काठमाडौं- बाम गठबन्धनले प्रतिनिधि र प्रदेशसभामा बहुमत ल्याउने प्रस्ट संकेत देखिएका बेला सेयर बजार भने निरन्तर ओरालो लागेको छ । निर्वाचनपछिका दुई दिनमा सेयर बजार करिब नौ बिन्दुले ओर्लिएको छ ।
निर्वाचनपछि  खुलेको आइतबारको सेयर बजार ६.०५ र दोस्रो दिन सोमबार २.७५ बिन्दुले घटेको छ । सोमबार सेयर बजार मापक नेप्से १५२७.७५ बिन्दुमा आइपुगेको छ । 
दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघिको अन्तिम दिन बुधबारको कारोबारले हरियो संकेत देखाए पनि निर्वाचनपछि भने सेयर बजारले रातो संकेत मात्र देखाएको छ ।
निर्वाचनअघिको अन्तिम कारोबारको दिन बुधबार सेयर बजार मापक नेप्से करिब १२ बिन्दुले बढेर बन्द भएको थियो । बिहीबार भएको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बाम गठबन्धनको पक्षमा भारी बहुमत आउने संकेत देखिए पनि सेयर बजार भने उकालो लाग्न सकेको छैन । 
विगतका संसदीय चुनावताका पनि सेयर बजार बढेको थियो । यसपालि भने बजार ओरालो लाग्न पुगेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ठूलो मात्रामा पैसा बजारमा आउने र लगानीयोग्य पुँजी (तरलता) अभाव हट्ने सम्भावना देखिए पनि सेयर बजार बढ्न सकेन । 
सेयर बजार अहिले धेरै घटेको पनि छैन र बढ्न पनि सकेको छैन । ‘सेयर बजारमा धेरै उत्तारचढाव आउने देखिँदैन,’ एक विश्लेषकले भने, ‘केही महिनादेखि नेप्से १५०० बिन्दुको वरिपरिमात्र घुमेको छ ।’ आगामी दिनमा गठन हुने नयाँ सरकारले ल्याउन नीतिले मात्र सेयर बजार उकालो वा ओरालो लाग्ने कुरा निर्धारण हुने उनको भनाइ छ ।
निर्वाचनपछि  पनि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने लगायत स्पष्ट संकेत नदेखिएका कारणले लगानीकर्ताको मनोबल सकारात्मक हुुन नसकेको हो ।
सोमबार एक सय ५७ कम्पनीको आठ लाख ५६ हजार एक सय १८ कित्ता सेयर किनबेच भएका छन् । उक्त दिन ४६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार भन्दा सोमबार कारोबार रकममा कमी आएको छ । आइतबार सेयर बजारमा ८४ करोड ७० लाख रुपैयाँ भएकोमा सोमबार ४६ करोड ४५ लाखको मात्र किनबेच भएको छ । 
सोमबार सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । चार्टर्डले शतप्रतिशत बोनस सेयर घोषणा गरेपछि कम्पनीको सेयर किनबेचमा चाप परेको हो । बैंकको आइतबार पनि यस बैंकको सबैभन्दा बढी २६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
दोस्रो धेरै रकमको सेयर कारोबार हुनेमा प्राइम लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयर छ । यसको चार करोड ७५ लाखको कारोबार भएको छ । बुटवल पावर कम्पनी, नबिल बैंक प्रोमोटर, नेपाल टेलिकम, एभरेस्ट बैंक, चिलिमे हाइड्रो र नेपाल इन्भेस्टमेन्ट बैंकको पनि एक करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
उत्पादन र अन्य समूह बाहेक अरु सबै समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बिमा समूह २६.७३ बिन्दुले घटेको छ भने वित्त समूह सबैभन्दा कम ०.९४ बिन्दुले झरेको छ । अन्य समूह ०.८७ र उत्पादन समूह ०.५६ बिन्दुले उकालो लागेका छन् ।

प्रकाशित: २६ मंसिर २०७४ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App