८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार

काठमाडौं- राष्ट्रियसभा चुनाव नहुँदासम्म संघीय संसद्ले पूर्णता नपाउने भएको छ । संसद्ले पूर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुईतिहाइ जित्ने वामपन्थी गठबन्धनका नेताले भने पुस १५ गतेभित्र सरकार गठन गर्ने दाबी गर्दै आएका छन् । राष्ट्रियसभा गठनपछि मात्रै नयाँ सरकार गठन हुनेछ ।
संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुपलाई संघीय संसद् भनेको छ ।                                                                                                                                                                   ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद् भनिनेछ,’ सविधानको धारा ८३ मा लेखिएको छ । ‘संविधानको धारा ८४ (८) मा ‘यस भागमा अन्य कुरा लेखिएको भए पनि संघीय संसद्मा प्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको एक तिहाइ सदस्य महिला हुनपर्नेछ’ भन्ने उल्लेख छ । जसअनुसार २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १ सय ११ जना महिला सांसद हुनुपर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाइ महिला अनिवार्य छ ।
निर्वाचन आयोगका अधिकारीले राष्ट्रियसभा गठन नभई संघीय संसद्ले पूर्णता नपाउने बताएका छन् । निर्वाचन आयुक्त इला शर्माले ‘३३ प्रतिशत महिला प्रतिनिधित्व संवैधानिक अनिवार्यताअनुसार राष्ट्रियसभा निर्वाचन नसकी समानुपातिक प्रतिनिधित्वको टुंगो लगाउन नसकिने भएकाले राष्ट्रियसभा ऐन अत्यावश्यक’ भन्दै ट्विट गरेकी छन् ।
उपमहान्यायाधिवक्ता घनश्याम ओझाले राष्ट्रियसभा गठन नभई समावेशिताको संख्या निर्धारण गर्न नसकिने बताए ।
राष्ट्रियसभा गठनसम्बन्धी कानुन पनि आएको छैन । राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुन नबनाई अघिल्लो संसद् अन्त्य भएको थियो । त्यससपछि सरकारले राष्ट्रियसभाको चुनाव ‘एकल संक्रमणीय मत’ का आधारमा हुने व्यवस्था राखेर राष्ट्रियसभा चुनावसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किएको छ ।
‘एकल संक्रमणीय मत’ का आधारमा निर्वाचन हुने व्यवस्थाप्रति एमालेसहितका दलले विरोध जनाएका छन् । ती दलहरु राष्ट्रियसभा गठन निर्वाचन मण्डलका बहुमतीय प्रणालीबाट हुनुपर्ने पक्षमा छन् । ‘अध्यादेश अध्ययनका क्रममा छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नागरिकसँग भने ।
कानुनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रपतिसमक्ष पठाइएको अध्यादेश छिट्ट जारी हुने विश्वास व्यक्त गरे । ‘बहुमतीय र एकल संक्रमणीय भन्ने विषयमा विवाद छ,’ मन्त्री थापाले भने, ‘एकल संक्रमणीय प्रणालीअनुसार निर्वाचन हुँदा दलहरूको शक्तिका आधारमा प्रतिनिधित्व हुन्छ । मत पनि खेर जाँदैन ।’
यसैबीच १६५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मंगलबार रातिसम्मको नतिजाअनुसार एमाले ८०, माओवादी केन्द्र ३६, कांग्रेस २२, राजपा ११, संघीय समाजवादी फोरम १० र अन्य पार्टी ५ स्थानमा विजयी भएका छन् । मतगणना जारी एक स्थानमा एमाले उम्मेदवार अघि छन् । यसैगरी समानुपातिकतर्फ राति १०ः ३० बजेसम्म एमालेले १६ लाख ३७ हजार ६ सय ९४, कांग्रेसले १५ लाख ४५ हजार ६ सय ७८ र
माओवादीले ६ लाख ४९ हजार १ सय ३६ मत पाएका छन् ।

प्रकाशित: २७ मंसिर २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App