७ वैशाख २०८१ शुक्रबार
राजनीति

माननीय बने ‘फरार’ रेशम चौधरी

धनगढी- प्रहरीको ‘फरार’ सूचीमा रहेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्दा ठूला दलले उनको उम्मेदवारीलाई हल्का रुपमा लिएर दाबी बिरोध गर्न पनि उचित ठानेनन् । चौधरीले राष्ट्रिय जनता पार्टीबाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए । दाबी विरोध दर्ता नभएकाले उनको उम्मेदवारी कानुनी कि गैरकानुनी भनेर बहस नै चलेन । त्यति बेला वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने आकलन थियो । जब मतगणना सुरु भयो, सबै छक्क परे । चौधरीले सुरुबाटै ठूला दुई दलका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिए । एक बालक र ८ सुरक्षाकर्मी मारिएको टीकापुर घटनाका आरोपित चौधरीले झन्डै २१ हजार मतान्तरले चुनाव जिते । उनले ३४ हजार ३ सय ४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी उम्मेदवार एमाले केन्द्रीय सदस्य गरिमा शाहले १३ हजार ४ सय ६ मत प्राप्त गरिन् । कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरिन् ।

एक बालक र ८ सुरक्षाकर्मी मारिएको टीकापुर घटनाका आरोपित चौधरीले झन्डै २१ हजार मतान्तरले चुनाव जिते ।


विजयी भए पनि चौधरी प्रमाणपत्र बुझ्न आएनन् । उनले प्रमाणपत्र बुझ्न श्रीमतीलाई वारेसनामा दिए ।  निर्वाचन अधिकृत खिमानन्द भुसालले निर्वाचन आयोगबाट वारेसनामा दिएको व्यक्तिलाई प्रमाणपत्र दिने कि नदिने भनेर निर्देशन माग गरेको बताए ।
निर्वाचित भएपछि उनलाई अब पक्राउ गरिन्छ कि गरिँदैन ? यति बेला यो सबैको चासोको विषय भएको छ । प्रदेश नम्बर ७ का प्रहरी प्रमुख नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक माधव नेपाल चौधरीलाई भेट्टाउनेबित्तिकै पक्राउ गर्ने बताउँछन् । ‘रेशम चौधरीलाई अदालतले पक्राउ पुर्जी काटेकाले हामी खोजिरहेका छौं’, उनले भने, ‘फेला पार्नेबित्तिकै समातेर अदालतलाई बुझाउँछौं ।’ सांसदको शपथ ग्रहण गर्नुपहिले प्रहरीले उनलाई सामान्य ढंगले नै पक्राउ गर्न सक्छ । शपथ ग्रहणपछि भने सभामुखलाई जानकारी गराएर पक्राउ गर्नुपर्ने कानुनी प्रावधान रहेको नेपाल बताउँछन् । प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएपछि अदालतले पुर्पक्षका लागि कारागार पठाउने वा धरौटी लिई तारेखमा छोड्ने आदेश गर्नेछ ।
कानुन व्यवसायी पर्यागदत्त भट्ट दाबी विरोध अवधिमा कसैको उजुरी नपरेकाले सांसद चुनिइसकेपछि पद खोरज गर्नेसम्बन्धमा कुनै उजुरी नलाग्ने बताउँछन् । अदालतले पुर्पक्षका लागि कारागार चलान गरे निलम्बनमा पर्ने र दोषी फैसला गरे बर्खास्त हुने उनको भनाइ छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल अदालतले जारी गरिसकेको पक्राउ पुर्जी खारेज गरेमा मात्र चौधरीलाई पक्राउ नगरिने बताउँछन् । यसअघि पहिलो संविधानसभाको चुनावमा फरार सूचीमा रहेकै बेला रौटहटबाट निर्वाचित भएका बबन सिंहले लुकेर अन्य सभासद्सँगै शपथ खाएका थिए । उनी सुरक्षाकर्मीको आँखा छलेर पटकपटक संविधानसभा बैठकमा सहभागी भएका थिए ।
चौधरीले उम्मेदवारी दर्तासँगै भिडियोबाट प्रचारप्रसार गरेका थिए । उनले युवा समूह परिचालन गरेर भाषण रेकर्ड गरेको भिडियो टोलटोलमा ल्यापटपबाट सुनाउन लगाएका थिए । जातीय मत तान्न सकिने खालको भिडियो उनले टोलटोलमा देखाउन लगाएका थिए । थारु समुदायका पहिचान र अधिकारका लागि लडेका कारण नै घरबारविहीन हुनुपरेको, दुई वर्षदेखि फरार रहनुपरेको उनको भाषणमा उल्लेख थियो । थारुहरुका पहिचान, अधिकार र विकासका लागि सबै काम गर्ने भनेर उनले मत मागेका थिए ।

अदालतको ढिलो फैसलाले चौधरीप्रति सहानुभूति
चौधरीले सहानुभूतिको मत पाएकाले नै फराकिलो मतान्तरका साथ जितेको विश्लेषण गरिएको छ । उनले भिडियो भाषण सबैतिर सुनाएर मत तान्न सकेका हुन । कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त सहानुभूति मतकै कारण चौधरीले चुनाव जितेको बताउँछन् । ‘सरकारले पनि दुई वर्षसम्म फैसला नगर्नु कमजोरी हो, दोषीलाई कारबाही गर्नुप¥यो, निर्दोषलाई त्यत्तिकै दुःख दिनु भएन’, उनले भने, ‘दुई दर्जन व्यक्ति दुई वर्षदेखि कारागारमा छन् ।’
२०७२ भदौ ७ गते टीकापुर घटनामा संलग्न भएको भन्दै चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार डकैतीसम्बन्धी तीनवटा मुद्दा जिल्ला अदालत कैलालीमा विचाराधिन छन् । घटनामा संलग्न भएको अभियोगमा दुई बालक सुधारगृहमा र २३ जना थुनामा छन् । चौधरीलगायत ३३ जना फरार सूचीमा रहेको प्रजिअ रिजालले बताए ।
कैलाली, कञ्चनपुरलागयतको भूभाग समेटेर थरुहट राज्य हुनुपर्ने मागसहित थारु संयुक्त संघर्ष समितिको आयोजनामा २०७२ भदौ ७ गते निषेधित घोषणा गरिएको टीकापुर नगरपालिकाभित्र जुलुस प्रवेश गर्ने बेला प्रहरीका एसएसपीलगायत ८ सुरक्षाकर्मीको ज्यान गएको थियो । एक बालकको गोली हानी हत्या गरिएको थियो । यो घटनाको मुख्य योजनाकार भएको आरोप चौधरीमाथि छ । चौधरीले भने घटनाको दिन आफू टीकापुरमा नभएको बताएका छन् ।
कैलाली क्षेत्र नम्बर १ मा ६० प्रतिशत थारु मतदाता छन् । यो क्षेत्रबाट गत संविधानसभा चुनावमा पनि ३ ठूला दललाई उछिन्दै मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका जनक चौधरीले चुनाव जितेका थिए ।

को हुन् रेशम चौधरी ?
काठमाडौंको आरआर क्याम्पसमा अनेरास्ववियु वाट स्ववियु सदस्य बनेका रेशम चौधरीले कलाकार, खेलाडी, पत्रकार र राजनीतिकर्मीको भूमिका निर्वाह गरेका छन् ।  चौधरीले पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा उम्मेदवारी दिएका थिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले एक हजार ८३ मत प्राप्त गरेका थिए । दोस्रो संविधानसभामा उनी राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीबाट कैलाली १ र ३ बाट उम्मेदवार बने तर पराजित भए । त्यसपछि उनी सोही पार्टीको केन्द्रीय सदस्य भए ।
आरआर क्याम्पसमा अध्ययन गर्ने बेला अनेरास्ववियुका प्रारम्भिक कमिटीमा बसेर राजनीति थालेका उनी ०५४ सालमा एमाले पार्टी विभाजनपछि मालेमा लागेका थिए । करातेका खेलाडी उनले काठमाडौंमा हुँदा सैनिकका छोराछोरीलाई कराते प्रशिक्षण पनि दिए । संगीतकार रहेका उनले तत्कालीन प्रधानसेनापती प्रज्वलशमशेर जबराकी पत्नी सिन्धु राणाको एल्बममा संगीत गरेपछि उनको सम्बन्ध जबरासँग पनि भयो । यही सिलसिलामा उनी राजदरबारसँग पनि नजिक भए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीका लागि आवेदन मागेका बेला चौधरीले पनि आवेदन दर्ता गराएका थिए । उनले सगरमाथा एफएमलगायतमा प्रस्तोताको रुपमा काम पनि गरे । बाढीपहिरो प्रभावितलाई राहत बाँड्न तत्कालीन राजा ज्ञानेन्द्र सुदूरपश्चिमको भ्रमणमा आएका बेला चौधरीले टीकापुरमा उनको स्वागतमा भव्य समारोह अयोजना गरेका थिए ।
उनले थारु उत्थान मञ्च नामक गैरसरकारी संस्था दर्ता गराएका थिए । यो संस्थाको उदयसँगै उनले भारतीय दूतावाससँग सम्बन्ध बढाए । यो संस्थाबाट विभिन्न कार्यक्रम आयोजना गरेर भारतीय दूतावासका पदाधिकारी र राजदूतलाई कैलालीमा बोलाउन थाले । उनले भारतीय राजदूत राकेश सुदलाई टीकापुरमा बोलाएर स्वागत गरेका थिए ।

प्रकाशित: २७ मंसिर २०७४ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App