coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

ओली राष्ट्रवादी नेता : राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्गदेन राप्रपाका महामन्त्री हुन् । देशभर कांग्रेससँग गठबन्धन भए पनि झापा–३ मा वामपन्थीसँग मिलेर उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे । उनीसँग चुनावलगायत विविध विषयमा भएको छोटो कुराकानी:

जुन हिसाबले कांग्रेसले झापामा धोका दियो, त्यसबेला देशैभर वामपन्थीसँग तालमेल गर्न सम्भव थिएन । त्यसैकारण झापामा कम्युनिस्टसँग तालमेल गरेका हौँ ।

तेस्रो पटकको कोसिसपछि विजयी बन्नुभएको छ, तपाईँको भूमिका के हुनेछ ?

जनप्रतिनिधिको हिसावमा आफ्नो क्षेत्रको विकास निर्माणका लागि मेरो नेतृत्वदायी भूमिका रहनेछ । राष्ट्रियरूपमा नीति निर्माण तहमा एउटा जनप्रतिनिधि भएको हिसाबमा मेरो भूमिका नै रहन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीको हिसाबमा पार्टीको अहिलेको हारको समीक्षा गर्दै पार्टीलाई वैकल्पिक राजनीतिक दलका रूपमा स्थापित गर्नका लागि मेरो महŒवपूर्ण भूमिका रहन्छ । अब केन्द्रीय समितिको बैठक बसेर समीक्षा गरेर अघि बढाउँछौँ । अब दोहोरो भूमिका रहन्छ, पार्टीको जिम्मेवारीका हिसाबमा र जनप्रतिनिधि भएको हिसावमा ।

कांग्रेसका प्रभावशाली नेतालाई पराजित गर्नुभयो, जित्छु भन्ने लागेको थियो ?
मेरो कस्तो इच्छा थियो भने एकपटक जनताको बीचबाट निर्वाचित हुन सकुँ । आफ्नो क्षेत्रको पछौटेपन हटाउन कोसिस गरुँ भन्ने थियो, त्यो यस पटक पूरा भएको छ । खासगरी उहाँ (कृष्णप्रसाद सिटौला) समानुपातिक छाडेर प्रत्यक्षमा आइ उहाँलाई नै पराजित गर्ने मेरो इच्छा पूरा गरिदिनुभएको छ । सिटौलालाई धन्यवाद दिन चाहन्छु ।

मुलुकभर कांग्रेस र राप्रपा मिलेर गठबन्धन गरिएको छ तर तपाईँले त कांग्रेसकै नेतालाई पराजित गर्नुभयो । के हो यो पारा ?
त्यसबारे म खासै टीकाटिप्पणी गर्न चाहन्न । नेपाली कांग्रेसले राप्रपाप्रति जुन हिसाबको बेइमानी ग¥यो त्यसबारे के चर्चा गरुँ ? सबै सहमति भएर कागजपत्र आदान–प्रदान भएर पनि जब्बर भएर झापा–३ मा उठेर सिटौलाजी पराजित हुनुभएको हो । अन्तिम समयमा आएर नेपाली कांग्रेसले जुन धोकापूर्ण काम ग¥यो त्यसबारे टिप्पणी गर्न चाहन्न । नेपाली कांग्रेसका नेता सिटौलालाई जितेर जनताको सेवा गर्ने मेरो उत्कट चाहनालाई उहाँले नै पूरा गरिदिनुभएकामा हार्दिक धन्यवाद दिन चाहन्छु । देशभर अन्य ठाउँमा कांग्रेससँग तालमेल हुनु र झापामा कम्युनिस्टसँग गठबन्धन गर्ने निर्णय केन्द्रीयस्तरकै हो । जुन हिसाबले कांग्रेसले झापामा धोका दियो, त्यसबेला देशैभर वामपन्थीसँग तालमेल गर्न सम्भव थिएन । त्यसैकारण झापामा कम्युनिस्टसँग तालमेल गरेका हौँ ।

यो तालमेल आवश्यक थियो कि संयोग ?
यसलाई संयोग पनि भन्नुपर्यो । यो तात्कालिक परिस्थितिका लागि आवश्यक पनि थियो । जसरी पनि सिट जित्नुपर्ने बाध्यताका कारण यस्तो तालमेल आवश्यक थियो ।
 
अब प्रत्यक्षतर्फ निर्वाचित हुने तपाईँमात्रै एक्लो सांसद हुनुभएको छ राप्रपाबाट । थ्रेस होल्ड कट्ने सम्भावना पनि देखिन्न, अब तपाईँको हैसियत के रहन्छ संसद्मा ?
संसदीय फाँट संवैधानिक व्यवस्थाअनुसार मेरो हैसियत स्वतन्त्र हुने नै छ । तर पार्टीको जिम्मेवार व्यक्ति भएको हिसाबमा मेरो केही जिम्मेवारी भने रहन्छन् । पार्टीका केही जिम्मेवारी हुन्छन्, जनप्रतिनिधिका हिसाबमा हुने हैसियत नै मेरो संसद्मा रहनेछ । त्यसबाहेक विकास निर्माणका सन्दर्भमा मैले गर्नुपर्ने काम यथावत् नै हुनेछन् ।
 
तपाईँको पार्टीको हिन्दु राष्ट्र र सवैधानिक राजसंस्थाको अजेन्डा मन पराएर मतदाताले मत दिएकोजस्तो लाग्छ ? अब त ती अजेन्डा एक्सपायर भए, हैन र ?
मैले चुनावका बेला मुख्य प्राथमिकता विकास निर्माणमा नै दिएको थिएँ । अहिले पनि जिल्लामा विकास र केन्द्रमा राजनीति भन्ने मेरो मान्यता छ । अब जहाँसम्म मेरो पार्टीको अजेन्डाको सवाल छ, त्यसमा लेनदेनको विषय जोडिन्छ । अब मेरो क्षेत्रमा अन्य पार्टीले मेरो अजेन्डा मन पराएर भोट दिएका पनि हैनन् र अन्य क्षेत्रमा मेरो पार्टीका साथीहरूले एमाले र माओवादीको अजेन्डा मन पराएर भोट दिएका पनि छैनन् । यो संसदीय गणित हो, जुनसुकै हालतमा जित्नका लागि थियो । यो जित्नका लागिमात्रै हो । राजतन्त्र र हिन्दु राज्यको कुरा बिकाउ अजेन्डा हैनन् । यो फरकखाले राजनीतिक विचार हो, यो कालान्तरमा देशीय आवश्यकता हो भनेर पार्टीले स्वीकार गरेको पार्टीको राजनीतिक लाइन हो ।

तपाईँको बुझाइमा यो अजेन्डा अझै काम लाग्ला ?
यो बिकाउ र पपुलिस्ट अजेन्डा भन्दा पनि पार्टीको राजनीतिक दर्शन हो । अब बाटो बाटोमा ठीक हो होइन भनेर टुंग्याउने विषय हैन । यो पार्टीको राजनीतिक लाइन हो । महाधिवेशनबाट पारित प्रस्ताव हो । यसलाई हामी छलफलका माध्यबाट टुंगोमा पु¥याउने नै छौँ । कति उचित र अनुचित थियो, यसलाई हामी पक्कै समीक्षा गर्नेछौँ ।

तपाईँ अजेन्डा र विचार नमिल्ने कम्युनिस्ट पार्टीसँग तालमेल गर्नुभयो । अब तपाईँका राजनीतिक लाइन कामयावी होला र ?
यो अजेन्डा र विचारको विषय हैन । यो त प्रतिनिधिसभातर्फ जसरी पनि विजय हासिल गर्ने विषय थियो । त्यो तात्कालिक थियो । झापाका अन्य ४ क्षेत्रमा भने वाम उम्मेदवारलाई सहयोग गरेका थिए नि त । न मलाई सघाउँदा वामपन्थीको अजेन्डा मान्नुपर्ने थियो न राप्रपालाई सघाउँदा उनीहरूको अजेन्डा मान्नुपर्ने थियो । त्यसैले यो चुनावी तालमेलमात्रै थियो । यो मेरोमात्रै विषय पनि थिएन । राप्रपाका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुरा भएर तालमेल भएको हो ।

तपाईँको पार्टीले प्रत्यक्षमा एकमात्रै सिट जितेको अवस्थामा कसरी अगाडि बढ्ने त ?
एउटा जनप्रतिनिधिको हिसाबमा क्षेत्रप्रतिको दायित्व र प्रतिनिधिसभामा पूरा गर्ने भूमिका सशक्त ढंगमा निर्वाह गर्नेछु । अब पार्टीभित्र हामी गम्भीर समीक्षा गर्छौँ । कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर अबको ५ वर्षभित्र सशक्त पार्टी बनाउने अभियानमा जुट्ने छौँ । दोस्रो संविधानसभामा हामीले प्रत्यक्ष जित्न सकेका थिएनौँ, अहिले प्रत्यक्षमा जितेका छौँ । एउटा चुनाव हार्दैमा पार्टी सकिने भन्ने हँुदैन, अब फेरि हामी अगाडि बढ्न सक्छौँ ।

पार्टी सानो आकारमा खुम्चिएपछि तपाईँ राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि अन्य पार्टीमा प्रवेश गर्ने तयारी गर्नुभएको हल्ला छ नि ? एमालेसँग त सहमति नै भएको छ रे ?
यो वाहियात कुरा हो । म आफैँ पार्टीको नेता हुँ, महामन्त्री हुँ । मेरो विजयले मुलुकभरका साथीले आशा र भरोसा गर्नुभएको छ । त्यो निराधार हो । अर्को कुरा के भने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य भयो, वामपन्थी दलसँग अब फेरि पनि विकास र समृद्धिको सवालमा भने सहकार्य हुन सक्छ । अब पार्टी सानो भयो भन्दैमा फेर्ने भए म २०६२–६३ पछि नै पार्टी फेरेर सांसद, मन्त्री भइहाल्थेँ नि, यो मेरो कल्पनाभन्दा बाहिरको विषय हो । केपी शर्मा ओली आदरणीय र राष्ट्रवादी नेता हुनुहुन्छ । म अत्यन्त सम्मान गर्छु, उहाँले पनि एउटा देशभक्त, जात÷गोत्रको राजनीतिभन्दा माथि उठेर मलाई माया गर्नुहुन्छ । यसबाहेक अरु केही छैन ।
प्रस्तुति : युवराज विवश

प्रकाशित: २७ मंसिर २०७४ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App