१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

देउवाका पक्षमा

घटना नं. १
सबैलाई थाहा भएकै कुरा हो, प्रधान मन्त्री शेरबहादुर देउवा भए पनि हालिमुहाली आरजु देउवाको थियो । उनले जे भन्यो त्यही हुन्थ्यो । त्यसैले फेरि पनि नेपाली कङ्ग्रेसबाट प्रधान मन्त्री हुने अवस्था आएमा देउवा नै हुन्थे । भनाइको मतलव चलाउने आरजु नै हुन्थिन् । तर यस्तो भूमिकामा हुँदा पनि आरजुलाई सांसद नै बन्ने रहर चढ्यो जबकि कङ्ग्रेसमै लागेर जिन्दगी बिताएका हजारौँ महिला आरजुभन्दा बढी हैसियत राख्थे उम्मेदवारीका लागि । तर यो विषयमा कोही कङ्ग्रेस बोल्यो ?
घटना नं. २
देउवा न बोली, न काम, न त व्यवहार नै, कुनै हिसावले पनि आकर्षक थिएनन् मतदाताका लागि । तर चुनावमा मत माग्न उनकै हात ठड्याइएको तस्बिर देशभर प्रयोगमा ल्याइयो । खाँटी कङ्ग्रेसका लागि त मत माग्नै पर्दैनथ्यो, दिइहाल्थे तर सामान्य मतदाताका लागि उनको पोस्चर प्रत्युत्पादक हुन्छ, यसो नगरौँ भन्ने साहस किन कुनै कङ्ग्रेससँग भएन ?
घटना नं. ३
अहिले नेताहरू नै केन्द्रीय समिति बोलाउने अनि विशेष महाधिवेशन बोलाएर नेतृत्व फेर्नुपर्ने भन्दैछन् । यही कुरा सुशीला कार्कीलाई महाभियोग लगाउँदा, लोकमानको पक्षमा लाग्दा र नाकाबन्दीबारे बोली नफुट्दा किन कुनै कङ्ग्रेसले भन्न नसकेको ?

 

कङ्ग्रेस एउटा साँचो हो जसले पारेका इँटा कुनै असाध्यै राम्रो कुनैचाहिँ नराम्रो हुनै सक्दैन । यस अर्थमा कङ्ग्रेसमध्ये गगन र विश्वप्रकाश असल तर उनीहरूले नै चुनेर नेता बनाएका देउवा र खुमबहादुरचाहिँ खराब कसरी हुन सक्छन् ?

 
तसर्थ, यी तीनवटा यस्ता प्रतिनिधिमूलक घटना हुन् जसले समस्या शेरबहादुर देउवा हैन, आमकङ्ग्रेसमा छ भन्ने प्रस्ट्याउँछ । तर विडम्बना, अहिले कङ्ग्रेस पराजयको दोष जति सबै सभापति देउवाको टाउकोमा हालेर बाँकी कङ्ग्रेसलाई ‘पानीभित्रको ओभानो’ सावित गर्ने अर्को असफल प्रयास हुँदैछ । जुन प्रयासले आगामी चुनावहरूका लागि पनि कङ्ग्रेसको पक्षमा सघाउँदैन । नीति र अजेन्डाबिहीनता, संविधानविपरितको इतिहासकै सबैभन्दा जम्बो मन्त्रिमण्डल, सत्ताका लागि माओवादीदेखि राप्रपासम्म नछाड्ने लोभी प्रवृत्ति, नीति र कानुनभन्दा माथि ठान्ने अहम् तथा गुटबन्दीको पर्याय बनिसकेको पार्टीको वर्तमान परिणाम अपेक्षित र स्वाभाविक थियो । तर कङ्ग्रेस नेतृत्वले मात्र हैन, कार्यकर्ताले समेत यसलाई कहिल्यै मनन गरेनन् । बिपी, गणेशमान र कृष्णप्रसादको कृपाले २०१७ साल दोहोरिने अपेक्षामा रमाइरहे । जबकि गणेशमान र कृष्णप्रसादलाई नै कङ्ग्रेसले जीवनको उत्तराद्र्धमा कस्तो ‘गुन’ लगायो भन्ने देखिसुन्ने साक्षी सिङ्गो मुलुक छ ।
पार्टीका आन्तरिक अधिवेशन÷महाधिवेशन वर्षौँसम्म गर्नु नपर्ने, आफू त परै जाओस्, अरु पार्टीले गर्ने सिद्धान्त र वादका छलफललाई नाङ्गले पसलेको गन्थनका रूपमा टिप्पणी गर्ने, कुनै भातृसंस्था गठन भएदेखि नमरुन्जेल एउटै व्यक्ति बस्नुपर्ने, अनि निर्वाचनभन्दा ‘टीकाटालो’ लाई पद्धति ठान्ने ‘लोकतन्त्र’ कङ्ग्रेसका लागि रुचिकर बन्दै आयो । प्रतिस्पर्धी पार्टीहरूले लोकतन्त्रको वास्तविक अभ्यास गरिरहँदा आफूचाहिँ अभ्यासबिना नै लोकतन्त्रको सच्चा हकदार भन्ने दाबीमा रमाइरह्यो । अहिलेका जनता भाषणभन्दा व्यवहार हेर्छन् र त्यसैका आधारमा मूल्याङ्कन गर्न सक्षम भइसके भन्ने हेक्का नै उसलाई भएन ।
दुर्भाग्यको कुरा, अहिले चुनावमा कङ्ग्रेसको हारबारे समीक्षा गरिरहेका खासगरी ‘कङ्ग्रेस बुद्धिजीवी÷लेखक’ यतिबेला पनि यस्ता कुरामा ध्यान दिन चाहिरहेका छैनन् । आफ्नालाई टिकट नदिएको झोकमा उनीहरू भन्दैछन्– उम्मेदवारी चयन ठीक भएन । अनि वास्तविक समस्या पन्छाउन जानीजानी पार्टीभित्रै अन्तर्घात भएकाले हार भएको बताइरहेका छन् । त्यतिमात्र हैन, विपक्षीको गलत अजेन्डाका कारण हार भएको हाँस्यास्पद तर्कमा रमाइरहेका छन् । तर आफ्नो पार्टी जनताको कठघरामा अनुत्तीर्ण भएको वास्तविकता उनीहरूलाई विपना नै हो भन्ने पत्याउन हम्मे परिरहेको छ ।
कुनै बेला थियो– बिपी बिक्थे । एउटा समय थियो– समाजवाद र राष्ट्रियताले जनतालाई आकर्षित गथ्र्यो । अनि कुनै बेला थियो– प्रजातन्त्र शब्दले ब्याज खुवाउँथ्यो । अहिलेसम्म कङ्ग्रेस टिकेकै यस्तै ब्याज र पेन्सनमा हो । जसले मानिसलाई अल्छी बनाउँछ । केही गर्नुपर्ने आवश्यकताबाट पन्छाउँछ । आफू यही सोचका कारण निकै पछि परेको तथा माइलो÷साइलोमात्र हैन, कान्छो दलले समेत उछिन्न आँटेको पत्तै नपाउनु कङ्ग्रेस अवकाशतर्फ लागेको गतिलो प्रमाण हो । एउटै ओछ्यानधारी साझेदारले विपक्षीसँग कसेको घरबारको चुँसम्म थाहा नपाउनु यो दलको हुस्सुपनको ज्वलन्त उदाहरण हो ।
उम्मेदवार चयन, चुस्त निर्वाचन प्रचार समिति, कार्यकर्ता परिचालन, मतदाता शिक्षा र बुथ रेखदेख तपसिलका कुरा हुन् । मुख्य कुरा दलको अजेन्डा के हो भन्ने हो । गन्तव्य निश्चित भएपछि मात्र मार्ग निर्माणको आधार तय हुन्छ । यो चुनावमा वाम गठबन्धनसँग ‘स्थिर सरकार’ को नारा थियो भने कङ्ग्रेससँग अभाव भएकै यही हो । हारका अरु कारण त दोस्रोपछिका क्रमशः हुन् । तर आफ्नो अजेन्डा नै बनाउन नसकेको कङ्ग्रेससँग ‘कम्युनिस्टले जिते अधिनायकवाद आउँछ’ भन्नेबाहेक दोस्रो वाक्य नै भएन भाषणका लागि । कम्युनिस्टले जितेमा रुन र हाँस्न पनि नपाइने यो दलका नेताको अभिव्यक्तिले मतदाता हँसाउन केपी ओलीलाई सघाउनेबाहेक माखो मार्न सकेन । तर पनि कङ्ग्रेसलाई यो आफ्नो कमजोरी हो भन्ने लाग्नै सकेन ।
यसरी हेर्दा यतिखेर नेपाली कङ्ग्रेसले बेहोर्नुपरेको लज्जाजनक हार न देउवाको कमजोरीका कारण हो न त यसलाई उनका किचेन क्याबिनेटकै टाउकामा मात्र ‘डम्प’ गर्न मिल्छ । देउवा र कङ्ग्रेसका जस्तासुकै कर्तुतमा पनि रफु भर्न तम्तयार ‘बुद्धिजीवी’ यसका लागि जिम्मेवार छैनन् ? माओवादी कङ्ग्रेससँग मिल्दा ऊ पनि श्रीखण्डको बास्नाले श्रीखण्ड नै भएको व्याख्या गर्ने अनि कङ्ग्रेससँग सहकार्य तोडेको भोलिपल्टै ‘ज्यानमारा’ देख्ने ‘स्वतन्त्र लेखक’ हरूको बिमारीपन यो हारका लागि जिम्मेवार छैन ? आफूलाई सातपटक प्रधान मन्त्री हुन्छस् भन्ने ज्योतिषीसँग मख्ख पर्ने देउवा त भए नै, कङ्ग्रेस पहिलो दल हुने भविष्यवाणी गर्दै विज्ञप्ति नै जारी गर्ने ‘कङ्ग्रेसी प्रा.डा.’ हरू यसका भागिदार हैनन् ?
त्यसैले नेपाली कङ्ग्रेस एउटा यस्तो साँचो हो जसले पारेका सबै इँटा उही आकार÷प्रकारका हुन्छन् । एउटै साँचोले पारेको इँटा कुनै राम्रो र कुनै नराम्रो हुनै सक्दैन । यस अर्थमा कङ्ग्रेसको वर्तमान हविगतका लागि देउवामात्र बलिको बोको बन्ने अवस्था कुनै कोणबाट पनि सही देखिन्न । दोषको मात्रा घटी र बढी हुनेमात्र हो । सधैँ गन्गन्मात्र गर्ने तर आफूलाई फाइदा हुने एउटा कुरा पूरा हुँदासाथ चूप लाग्ने नेता रामचन्द्र पौडेलदेखि चारतारे झण्डा बार्दलीमा टाँसेकै भरमा ४ ट्रिप ग्राभेल हालेर ६ ट्रिपको भुक्तानी लिने बानी परेका ‘कार्यकर्ता’ सम्म यसका लागि सजाययोग्य छन् ।
देउवालाई सभापतिमा चुनेको कसले ? केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउनेमध्ये अदालतले भ्रष्टाचारी ठहर गरेका खुमबहादुरलाई मत दिएको गैरकङ्ग्रेसले हो ? यसबाट समग्र कङ्ग्रेस कार्यकर्ताको मनोविज्ञान र उनीहरू के चाहन्छन् भन्ने बुझिन्न र ? अनि समस्त कङ्ग्रेसको चाहना नै यस्तै छ भने कुनै एउटा व्यक्तिविशेषलाई दोष लगाएर बाँकीचाहिँ साखुल्ले हुने सुविधा राजनीतिशास्त्रको कुन सिद्धान्तले प्रतिपादन गरेको छ ? त्यसैले अहिलेको चुनावको हारको कारण देउवा र उनका केही आसेपासेमा हैन, उनीहरूलाई लगातार कुकर्म गर्न हौस्याउने र कुतर्कद्वारा त्यसको अनुमोदन गर्ने सिङ्गो कङ्ग्रेसभित्र खोज्नुपर्छ ।
अन्त्यमा
ताजा चुनावमा अन्तिम परिणामका रूपमा कङ्ग्रेस सांसदको बिर्को बनेका छन् विजयकुमार गच्छदार । बिर्कोको अर्थ हुन्छ– राखिएको वस्तु सुरक्षित पार्न कुनै भाँडोको मुख छोप्ने पात्र वा ढकना । चुम्बकसामु फलाम एक्लै टिक्न नसकेजस्तै सत्तासँग नङ र मासुको सम्बन्ध राख्न रुचाउने गच्छदाररूपी बिर्को कति गतिलोसँग लाग्न सक्ला र अरुलाई सुरक्षित गर्ने भूमिका निर्वाह गर्न सक्ला ? कौतुहलको विषय बनेको छ ।

प्रकाशित: २९ मंसिर २०७४ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App