७ वैशाख २०८१ शुक्रबार
अर्थ

लुम्बिनीमा बढ्यो चिनियाँ लगानीकर्ताको चासो

शेरबहादुर केसी
बुटवल–नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।
लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ व्यवसायीले होटल, सिमेन्ट, खाद्यान्न, सौर्य ऊर्जा र विद्युतीय सामग्री उत्पादनमा लगानी गर्न रुचि राखेको चिनियाँ व्यवसायीसँग छलफलमा सहभागी नेपाली व्यवसायीको भनाइ छ ।
चीनको औद्योगिक संगठन वान बेल्ट वान रोड इन्टरनेसनल ट्रेड प्लेटफर्म अफ सिआइसी म्युचल ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनीमा आवद्ध व्यवसायी लगायत विभिन्न संस्थाका व्यवसायी यो क्षेत्रको अध्ययन भ्रमण गरी फर्केका हुन् । गत जेठको अन्तिम साता आएको चिनियाँ व्यवसायीको टोलीले यहाँका उद्योगी व्यवसायीसँग छलफल गर्दै लुम्बिनी क्षेत्रमा ठूलो लगानी गर्न चाहेको र त्यसमा नेपाली व्यवसायीको साथ खोजेको बताएका थिए । 
छलफलमा सहभागी अध्यक्ष शर्माका अनुसार चिनियाँ व्यवसायीले ठूलो लगानी गर्न चाहेको र नेपाली व्यवसायीलाई साझेदार बनाउँदै लगानीमैत्री सरकारी नीति खोजेका छन् । नेपाली व्यवसायीसँगको छलफलमा उनीहरुले यहाँ लगानीको वातावरणबारे जिज्ञासा राखेका थिए । उनीहरुले नेपालमा औद्योगिक उत्पादन गरेर भारतमा निर्यात गर्न चाहेको बताएका थिए ।
त्यसअघिका चिनियाँ टोलीले पनि यहाँ गर्न सकिने लगानी र औद्योगिक वातावरणबारे जानकारी लिएर फर्केको अध्यक्ष शर्माले बताए । गत जेठमा आएको चिनियाँ व्यवसायीको टोली र संघको टोलीबीच नेपाल–चीनबीच लगानी अभिवृद्धि गर्न सरकारलाई सुझाव दिने सहमति भएको थियो । त्यसैगरी, चिनियाँ टोलीले लुम्बिनीमा सुविधासम्पन्न पाँचतारे होटल खोल्ने प्रतिबद्धता पनि जनाएको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासलाई ध्यान राख्दै भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम भइरहेको छ । विमानस्थल निर्माणको कामसँगै यो क्षेत्रमा संसारभरका बौद्धमार्गीको आगमन बढ्ने अपेक्षा गरिएको छ । लुम्बिनी आउने बौद्धमार्गीमध्ये पछिल्ला वर्ष चिनियाँ पनि बढिरहेकाले विमानस्थलको निर्माणपछि चिनियाँ पर्यटकको आगमन झन बढ्ने आशा गरिएको छ । 
नेपाली सीमा केरुङ नजिकै सिगात्सेसम्म आउन लागेको रेल लुम्बिनी ल्याउन चीन इच्छुक रहेको बारे चिनियाँ अधिकारीको धारणा आइरहेका बेला लुम्बिनी केन्द्रित औद्योगिक लगानी गर्न व्यवसायीको भ्रमण बढेपछि यो क्षेत्रका व्यवसायी पनि उत्साहित भएका छन् ।
चिनियाँ लगानी आकर्षित गर्न सके यस क्षेत्रको औद्योगिक विकासले फड्को मार्ने नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भरतबहादुर थापाले बताए ।
चिनियाँ व्यवसायीले लगानी मात्रै नभएर प्रविधि पनि भिœयाउने भएकाले यो क्षेत्रले मात्रै नभएर मुलुकले नै लाभ लिन सक्छ । तसर्थ लगानीको वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष श्रीकृष्ण पोखरेलले बताए ।
लुम्बिनीदेखि १५ किलोमिटर हवाई दुरीमा उद्योग खोल्न सरकारले प्रतिबन्ध लगाएको छ ।  लुम्बिनीको यो दुरीमा उद्योग खोल्न प्रतिबन्ध भएपछि नवलपरासी र कपिलवस्तुमा औद्योगिक विकासको सम्भावना बढेको छ । चीनको होङ्सी सिमेन्ट कम्पनीले शिवम् सिमेन्ट कम्पनीसँग मिलेर नवलपरासीको सर्दीमा ठूलो सिमेन्ट उद्योग खोल्न लागिरहेको छ ।
गत भदौ १८ गते लगानी बोर्डसँग लगानी सम्झौता भइसकेको छ । कम्पनीले ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने र सन् २०१८ भित्रै उत्पादन सुरु गर्ने गरी निर्माणको काम भइरहेको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै उत्पादन सुरु गर्ने कम्पनीले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन पु¥याउने छ । यो उद्योगले नेपालको कुल सिमेन्टको मागको ४० प्रतिशत पूर्ति गर्न सक्ने दाबी गरिएको छ । चिनियाँ र नेपाली व्यवसायीको साझेदारीमा खुल्न लागेको यो सिमेन्ट उद्योग दुई देशका व्यवसायीको साझेदारीको नमुना उद्योग भएको व्यवसायीले बताएका छन् ।
‘यो उद्योगले उत्पादन थालेपछि चिनियाँ लगानीकर्तालाई अझै आकर्षित गर्ने देखिन्छ, त्यसका लागि हामीले अझै धेरै लगानीको वातावरण बनाउनुपर्ने छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले भने ।
अध्ययन भ्रमणमा आएको  चिनियाँ टोलीले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन गरेको थियो । उनीहरुले विशेष आर्थिक क्षेत्र मोडलमा उद्योग स्थापना गर्न रुचि देखाएको शर्माले बताए ।
सेजमा स्थापित उद्योगले विभिन्न कर छुट पाउने, बन्द हडताल नहुने, ७५ प्रतिशत उत्पादित वस्तु निर्यात गर्न पाइने जस्ता प्रावधान रहेकाले यस्तै औद्योगिक व्यवस्था बनाए ठूलो लगानी गर्न तयार रहेको नेपाली उद्योगी व्यवसायीसँगको छलफलमा चिनियाँ व्यवसायीले बताएका थिए । 
‘उनीहरु ठूलो लगानीको कुरा गरिरहेका छन् । अहिलेको सेजमा भएको ५२ बिघा एउटै उद्योगलाई चाहिने बताइरहेका छन्, हामी उनीहरुको रुचि र आवश्यकतालाई ध्यान दिन आवश्यक छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले भने ।
कोलकता बन्दरगाहको प्रयोगले वीरगन्ज नाका हुँदै कच्चा पदार्थ ल्याउन सजिलो भएकाले वीरगन्ज क्षेत्रमा औद्योगिक लगानी बढेको हो । विशाखापट्नम बन्दरगाह सञ्चालनमा आएपछि वीरगन्जको साटो बेलहिया नाकाबाट कच्चा पदार्थ ल्याउन सहज हुने व्यवसायीको भनाइ छ । बेलहिया नाका हुँदै ल्याइने कच्चा पदार्थका लागि लुम्बिनी क्षेत्रमा उद्योग खोल्न व्यवसायीको लागि लाभदायक  हुनेछ । पछिल्ला दुई वर्षमा यो क्षेत्रमा ठूलो औद्योगिक लगानी बढेको छ ।
‘मधेस आन्दोलनको प्रभावका बेला पनि भैरहवा नाका मात्रै सहज नभएर विशाखापट्नम बन्दरगाह सञ्चालनमा आउनु पनि हो,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले भने ।
व्यवसायीका अनुुसार चीनसँग जोडिएको मुस्ताङको कोरला नाका र भारतसँग जोडिएको बेलहिया नाका जोड्ने सडकको स्तरोन्नतिको काम भइरहेको छ । कालीगण्डकी करिडोरको काम तीव्र गतिमा अघि बढेको छ । यो सडक चीन र भारतलाई जोड्ने छोटो दुरीको सडक हो । रणनीतिक दृष्टिकोणले पनि यस क्षेत्रमा लगानी बढाउन चिनियाँ इच्छुक भएकाले त्यसबाट नेपालले लाभ लिनुपर्ने व्यवसायीले बताएका छन् ।
‘सरकारले कोरला नाका खोल्न र भौतिक पूर्वाधार विकासमा ध्यान दिए यो क्षेत्रको औद्योगिक र व्यापारको विकासले फड्को मार्नेछ,’ रुपन्देही  व्यापार संघका अध्यक्ष मोती पाण्डेले भने ।


सञ्चालनको तयारीमा रहेको भैरहवास्थित विशेष आर्थिक क्षेत्र । यहाँ निर्यातजन्य उद्योग स्थापना हुँदैछन् । चिनियाँ व्यवसायीको रुचि यस्तैखाले उद्योगमा देखिएको छ । 
तस्बिर ः शेरबहादुर÷नागरिक

प्रकाशित: २८ मंसिर २०७४ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App