८ वैशाख २०८१ शनिबार
अर्थ

कम खर्चिलो बन्दै न्याना उपकरण

काठमाडौं, जाडो मौसम बढेसँगै बजारमा न्यानो सामग्रीको माग बढेको छ । जाडो मौसममा घर, होटल तथा कार्यालयमा प्रयोग हुने एयर कन्डिसनर (एसी), हिटर, गिजर, इलेक्ट्रिक जग, वासिङ मेसिन, वाटर डिस्पेन्सरलगायतको माग बढेको हो ।
व्यावसायीका अनुसार कात्तिक महिनाबाटै यी सामग्रीको माग बढ्न सुरु हुन्छ । कात्तिकदेखि फागुन महिनाभित्र नै यी सामग्रीको अधिक बिक्री हुने गर्छ । त्यसैले व्यावसायीले ग्राहकलाई लक्षित गरी विभिन्न ब्रान्डका सामग्री भित्र्याउने गर्छन् ।
मुलुकमा लोडसेडिङ अन्त्य भएपछि विद्युतीय सामग्रीको प्रयोगमा ग्राहकको आकर्षण बढ्नुका साथै यी सामग्रीको बजार पनि उकालो लागेको छ । पछिल्लो समय ब्रान्डेड सामग्रीको प्रयोग गर्ने ग्राहक बढ्दै गएको व्यावसायी बताउँछन् । नेपाली बजारमा विभिन्न ब्रान्डका एसी, हिटर, गिजर, वासिङ मेसिनलगायतका सामग्री उपलब्ध छन् ।
कम खर्चिलो बन्दै एसी
जाडो मौसममा कोठा न्यानो पार्नका लागि जडान गरिने एयर कन्डिसनर (एसी) विशेषगरी हस्पिटल, होटल, रिसोर्ट, बैंक तथा कार्यालयमा प्रयोग हुन्छ । ठूला घरानाका व्यक्ति तथा आर्थिक स्थिति मजबुत भएकाले पनि घरमा एसी जडान गर्छन् । 
एसी जडान र विद्युत खपतका हिसाबले पनि खर्चिलो हुने आम धारणा छ । तर, आधुनिक प्रविधिको एसी प्रयोग गर्दा धेरै खर्चिलो नहुने व्यावसायी बताउँछन् ।
‘पहिले जडान गरिएका एसी खर्चिलो हुन्थ्यो । पुरानो प्रविधिमा धेरै पावर खपत हुने भएकाले धेरै बिल आउँछ भन्ने बुझाइ छ,’ हिमाल रेफ्रिजेरेसन एन्ड इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक विजयकुमार चौधरीले भने, ‘पहिलेको तुलनामा करिब ७० प्रतिशत कम पावर खपत हुने प्रविधिको एसी भित्र्याइसकेका छौं ।’ पहिले १० हजार रुपैयाँ मासिक बिल आउने एसीबाट अहिले हजार रुपैयाँ कट्न मुस्किल पर्ने उनको भनाइ छ । 
ऊर्जा खपत घटाउन सहयोग गर्ने भएकाले पुराना एसीलाई नयाँले विस्थापित गर्नुपर्ने उनले बताए । ‘लोडसेडिङ कम गर्न पनि यसले सहयोग गरेको छ । ऊर्जा बचत गर्नु भनेको राष्ट्रकै लागि फाइदा हो,’ उनले भने । हिमालले डाइकिन, हिमाल, ब्लुस्टार र फुजिएयर ब्रान्डका एसी  बिक्रीवितरण गर्दै आएको छ । यी ब्रान्डमा वालमाउन्टका साथै सिलिङएक्यासेट एसी उपलब्ध रहेको छ । विभिन्न मोडल र साइजका आधारमा यसको मूल्य एक लाखदेखि एक करोड रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । 
त्यस्तै, नवीन डिस्ट्रिब्युटर प्रालिका रिजनल सेल्स म्यानेजर प्रशान्त आचार्य पनि नयाँ प्रविधिको एसी खर्चिलो नभएको बताउँछन् । कम्पनीले हाइसेन्स ब्रान्डका एसी तीन मोडलमा बजारमा बिक्री गरिरहेको छ । आचार्यका अनुसार हाइसेन्सको नर्मल स्ल्पिट एसी ५४ हजार तीन सयदेखि ८९ हजारसम्म पर्छ । इन्भर्टर एसीले ऊर्जा खपत ३०–३५ प्रतिशतसम्म कम गर्ने उनले बताए । यसको मूल्य ७२ हजारदेखि एक लाख तीन हजार रुपैयाँसम्म रहेको छ । यसमा दुई वर्षको वारेन्टी रहेको आचार्यले बताए । सिलिङ क्यासेटको मूल्य ९६ हजार देखि दुई लाख २० हजार रुपैयाँ पर्ने उनले बताए । नेपाली बजार सुहाउँदो मूल्यमा हाइसेन्स विश्वस्तरीय गुणस्तरको एसी उपलब्ध गराउँदै आएको  कम्पनीको भनाइ छ ।
हिटर र गिजर
जाडो बढ्दै जाँदा हिटर र गिजरको माग बढेको युनिभर्सल टेडर्सका प्रोपाइटर दिलीप अग्रवालले बताउँछन् । कम्पनीले जाँडो महिना लक्षित गरी ग्यास र इलेक्ट्रिक हिटर बिक्री गर्दै आएको छ । ग्यास हिटरको मूल्य ६ हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म पर्ने उनले बताए । 
लोडसेडिङ हटेपछि इलेक्ट्रिक हिटरको बिक्री बढेको छ । युनिभर्सलले १२ सय देखि २२ सय सम्मका इलेक्ट्रिक हिटर बिक्री गर्दै आएको प्रोप्राइटर अग्रवालले बताए । यी दुवैमा एक वर्षको वारेन्टी उपलब्ध छ । यसबाहेक कम्पनीले थर्मस, वाटर डिस्पेन्सर, किट्लीलगायत सामग्रीको बिक्री गर्छ । 
त्रिवेणी व्यापार कम्पनी प्रालिका ब्रान्ड म्यानेजर रामसागर यादवले कम्पनीबाट यासुडा ब्रान्डका ग्यास गिजर, हिटर, वासिङ मेसिनलगायत बिक्री वितरण गर्दै आएको बताए । विभिन्न मोडलमा उपलब्ध वासिङ मेसिन २० हजारदेखि ५४ हजार रुपैयाँसम्म पर्छ । विभिन्न ६ मोडलमा उपलब्ध हलोजिन हिटर नौ सयदेखि दुई हजार ९९ रुपैयाँसम्म पर्छ । ग्यास गिजरको मूल्य मोडल अनुसार पाँच हजारदेखि सात हजार रुपैयाँसम्म पर्ने उनले बताए ।
नवीन डिस्ट्रिब्युटर्सले डेल्ला ब्रान्डका हिटर बिक्री गर्छ । कम्पनीका अनुसार बिजुली र ग्यास दुवैबाट चलाउन सकिने हिटर कालो र निलो रङमा उपलब्ध छन् । यसको मूल्य क्रमशः ११ हजार आठ सय ५० र  १३ हजार ७ सय ५० रुपैयाँ पर्छ । कम्पनीले थर्मपट, गिजर, वाटर डिस्पेन्सरलगायत सामग्रीसमेत बिक्री वितरण गर्दै आएको छ । 
हिमाल रेफ्रिजेरेसन एन्ड इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिले सिजी ब्रान्डका वासिङ मेसिन, माइक्रोवेभ ओभन, हिटर, गिजर, हटपट, इलेक्ट्रिक केटल, वाटर डिस्पेन्सर, फ्यान हिटरलगायत बिक्री गर्दै आएको छ । सिजीका टुइन टब, अटोमेटिक टप लोडिङ र फ्रन्ट लोडिङ गरी तीन प्रकारका वासिङ मेसिन बजारमा उपलब्ध छन् । जसमध्ये फ्रन्ट लोडिङ वासिङ मेसिन सर्वाधिक रुचाइएको कम्पनीले जनाएको छ । ‘अन्य ब्रान्डका भन्दा उच्च गुणस्तर रहेको छ,’ कम्पनीका सेल्स हेड विष्णु ज्ञवालीले भने, ‘वाटर म्याजिक क्युबले गर्दा कपडाको धुलाई राम्रो हुने साथै पानीको खपत कम हुने गर्दछ, साथै सिजी फ्रन्ट लोडिङ वासिङ मेसिनको प्रमुख आकर्षण यसको इन्भर्टर मोटरमा १० वर्षे वारेन्टी हो र मूल्य सोचेजस्तो सामान रोजेजस्तो भएकोले पनि यसप्रति आकर्षण बढेको छ ।’
त्यसैगरी, सिजीका माइक्रोवेभ ओभनको माग पनि बढ्दो रहेको उनले बताए । ‘सिजी ब्रान्डका साधारण, ग्रिल र कन्भेक्सन माइक्रोवेभ ओभन २०, २५ र ३० लिटर मा उपलब्ध छ । बजार मूल्य अन्य समानान्तर ब्रान्डको तुलनामा सस्तो छ,’ ज्ञवालीले भने । यसको बजार मूल्य आठ हजार ६ सय ९० देखि १८ हजार एक सय ९० रुपैयाँसम्म रहेको उनले बताए ।

 

प्रकाशित: २८ मंसिर २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App