८ वैशाख २०८१ शनिबार
अन्य

रोकिएन नाला अतिक्रमण

धनगढी- श्रीकेदार टोल चटकपुरमा नाला अतिक्रमण गरी बालुबा भरेर सडक बनाउन थालेपछि स्थानीयले वर्षातमा बस्ती डुवानमा पर्ने भन्दै अतिक्रमण हटाइदिन जिल्ला प्रशासनमा जेठ दोस्रो साता उजुरी दिए। उजुरीपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका कार्यालयलाई अतिक्रमण हटाउन लिखित निर्देशन दिएको छ। तर, अहिलेसम्म स्थानीयले उजुरी दिएको त्यो नालाको अतिक्रमण समेत हटाउन सुरु भएको छैन। बर्सेनि धनगढी नगरका विभिन्न कुलो, नाला र खोला अतिक्रमण गर्ने क्रम रोकिएको छैन। अतिक्रमण हटाउने र अतिक्रमण गर्नेलाई कारवाही नहुँदा बर्सेनि खोला, नाला अतिक्रमणबाट साँघुरिँदै र पुरिँदै गएको स्थानीय बताउँछन्। खोलानाला साँघुरिँदा वर्षातमा धनगढीबासी डुबानको समस्या झेल्दै आएका छन्।

'नाला अतिक्रमण हुँदा बस्ती डुवानामा पर्दै आएकाले हटाउन माग राख्दै प्रशासनमा उजुरी दिएका हौँ,' श्रीकेदार टोल विकास समिति उपाध्यक्ष बलबहादुर चन्दले भने। नालाखोला अतिक्रमणले वर्षातमा धनगढी नगरका घर डुवानमा पर्ने समस्या वर्षौदेखि ज्यूँका त्यूँ छ। नगर डुवानको समस्या समाधान गर्न उपमहानगर पालिकाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ। 'आफै अतिक्रमण हटाउनु त काहाँ हो, हामीले उजुरी दिँदा पनि अतिक्रमण हटाइँदैन,' उनले भने।

धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित श्रीकेदार टोलदेखि चटकपुरसम्मको करिब सात सय मिटर नालामा बालुवा भरेर अतिक्रमण गरी सडक बनाउन थालिएपछि श्रीकेदार टोलका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। प्रशासन कार्यालयले जेठ १६ गते उपमहानगरपालिकालाई 'सार्वजनिक कुलो अतिक्रमण हटाउन र अतिक्रमण हटाउने क्रममा अवरोध भए प्रशासनको सहयोग लिनु' भनेर  निर्देशनात्मक लिखित पत्र पठाएको थियो। नाला अतिक्रमण हटाउन उपमहानगरपालिकामा पटक–पटक माग गर्दा समेत सुनवाइ नभएपछि स्थानीय बासिन्दा जिल्ला प्रशासनमा पुगेका थिए। 'नाला अतिक्रमणले वर्षातमा विस्थापित हुनु पर्ने अवस्था भएको छ,' चन्दले भने। धनगढी उपमहानगपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले अतिक्रमण हटाइने तयारी भइरहेको र चाँडै हटाउने बताए। अतिक्रमण गरिएको नालामा भइरहेको काम रोक्न लगाइएको  उनले बताए। मोहनबहादुर शाही, डम्मरराज पाण्डे र शिवदत्त पाण्डेयलाई संयुक्त पत्र पठाएर काम रोक्न लगाएको उनको भनाइ छ। 'उपरोक्त सम्बन्धमा तपाईले यस धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्रीकेदार टोलबाट दक्षिण गएको सार्वजनिक नाला अतिक्रमण गर्ने उद्देश्यले बालुवा भर्ने कार्य निरन्तर रूपमा अघि बढाइरहेको देखिएकाले उक्त कार्य तत्काल बन्द गर्न हुन तपाइलाई जानकारी गरिन्छ,' पत्रमा उल्लेख गरिएको छ।

 श्रीकेदार टोलका बासिन्दाले नाला अतिक्रमण हटाउन माग गरेका बेला चटकपुरका बासिन्दाले सडकसहित नाली निकास हुनुपर्ने माग अघि राखेका छन्। 'दुवै टोलका बासिन्दा राखेर छलफल गरी अतिक्रमण हटाउन प्रयास गरिने छ,' कार्यकारी अधिकृत श्रेष्ठले भने। 'कुलो अतिक्रमण गरेर सडक निर्माण गरौं भनेर उपमहानगरपालिकाले भन्न सक्दैन,' उनले भने। श्रीकेदार टोलदेखि चटकपुरसम्मको करिव सात सय मिटर लम्बाइ रहेको कुलोको चौडाइ २० देखि ३० फिटसम्म रहेको छ। नागरिक  वडा मञ्च वडा नम्बर ३ की संयोजक राजकुमारी चौधरीले धनगढी नगर भरका सबै नाला अतिक्रमण भएकाले यो नालाको मात्र अतिक्रमण हटाउँदैमा डुवानको समस्या समाधान नहुने बताउँछिन। 'श्रीकेदार टोलबाट चटकपुरसम्मको अतिक्रमण हटाएर नाला बनाएर केही हुँदैन, श्रीकेदार टोल भन्दा उत्तर र चटकपुर भन्दा दक्षिणतर्फ पनि निकास हुनुपर्छ,' चौधरीले भनिन्, 'सबैतिरका नालाको अतिक्रमण नहटाइ यहाँमात्र हटाउने मागले डुवानको समस्या समाधान हँुदैन।' २०२१ सालको साविकको तारानगर–१ को नक्साअनुसार उक्त नाला कैलाली गाउँदेखि मोहना नदीसम्म पुगेको छ। बोराडाँडीदेखि श्रीकेदार टोलसम्म कुलोको केही अवशेष रहे पनि अन्य क्षेत्रमा भने पूरै  अतिक्रमण भइसकेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले धनगढी उपमहानगापालिकाले नाला अतिक्रमण हटाउन पहल गर्नु पर्ने बताएका छन्। 'सार्वजनिक जग्गा कसैले अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण हटाइनु पर्छ,' उनले भने। अतिक्रमण हटाउने दायित्व स्थानीय निकायको रहेको र प्रशासनले समन्वयकारी भूमिका निर्वाह गरेको उनको भनाइ छ। 'अतिक्रमण हटाउन कतैबाट बाधा, अवरोध, समस्या भइरहेको छ भने हामीलाई भन्नु पर्‍यो। प्रशासनले सुरक्षाको प्रबन्ध मिलाउँछ,' उनले भने।

प्रकाशित: ६ असार २०७३ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App