४ वैशाख २०८१ मंगलबार
अन्य

कहिले बन्ला सुन्दर बौद्ध?

काठमाडौं- कलात्मक प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै हरेकको नजर बौद्धनाथ स्तुपको फेददेखि टुप्पोसम्म अवश्यै पुग्छ। तर अचेल त्यसरी नजर लाउने प्रश्न एउटै हुन्छ। कहिले बन्ला सुन्दर बौद्धनाथ? हरेक शनिबार सुन्दर बौद्ध हेर्ने चाहनामा पुग्छिन छुल्ठिम शेर्पा। ‘तर अहँ, १५ महिना हुन लाग्यो बनेन त बौद्ध,' उनी अचम्म मान्छिन्, 'बनाएको बनायै छन्, तर बनेको छैन।' शनिबार सिमसिम पानी परिरहँदा पनि घुमफिर गर्नेहरुको लर्को थियो। शान्तिको प्रतीक बुद्ध बस्ने अलपत्र बौद्धको रुप देखेर निराश भएर फर्कन्थे। ‘क्यामरामा कस्तो राम्रो आउँथ्यो अहिले त कति नराम्रो देखिन्छ, साथीहरुसँग घुम्न आएकी शितला नकर्मीले नमिठो सुनाइन्, 'फेसबुकमा हाल्न पनि मन लाग्दैन।'

 २०७२ वैशाख १२ को महाभूकम्पले बौद्ध स्तुपको माथिल्लो भागमा नराम्ररी असर गर्‍यो। महाभूकम्पपछि मानिसहरु यसको भीमकाय आकारको अघिपछि बस्न पनि डराए। भगवान बुद्धको बास छ केही हुन्न यो बौद्धलाई, यस्तै यस्तै आशाका किरणले रोकिएका विदेशी पर्यटक पनि बौद्ध हेर्न फेरि फर्किए।

अहिले माथिल्लो भाग चर्किएको ठाउँमा पुनर्निर्माण चलिरहेको छ। तर पनि गेटबाट छिर्नेकित्तिकै आगन्तुकका आँखा त्यही माथिल्लो भागमा पुगिहाल्छ। सुन्दर बौद्ध गजुर देख्ने चाहना पुरा हुने आशमा। बनाउन सुरु गरेलगत्तै वर्षा सुरु भएपछि पुनर्निर्माणमा पनि असर परेको स्थानीयहरु बताउँछन्।

‘विदेशी पाहुनाले सोधेर हैरान पार्छन् कहिले बन्छ भनेर,' बौद्ध परिसरमा पसल सञ्चालन गर्ने एक व्यापारीले भने, ‘हामी बन्छ छिट्टै भनेर टार्छौं। '

 आएका विदेशी पर्यटक पनि क्यामराको लेन्स बौद्धको सुन्दरता कैद गर्न ताक्छन्। तर फोटोमा पहिलेको जस्तो आकृति नदेखेपछि निराशा पोख्छन्।

 अबको तीन महिनामा भने सुन्दर स्तुप देख्न पाइने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए। ‘माथिल्लो गजुरमा सुनको मलम लगाएका काठ मिलाउने काम भइरहेको छ,' उनले भने, ‘त्योभन्दा तलको छत्रावलीका काठहरु पनि मिलाइँदैछन्।'

उनका अनुसार अविरल वर्षाका कारण निरन्तर काम हुन नसक्दा ढिला भएको हो। महाभूकम्पले बौद्धनाथ गजुरको १३ भुवन तथा मण्डला क्षेत्र भत्किएका थिए। तिनको मर्मत चलिरहेको छ।

आसपासका साना स्तुपा समेत भत्किएका थिए। ती भने बनिसकेका छन्। धर्मालवम्बी र स्थानीयको सहयोगमा १८ करोड रुपैयाँ बजेटमा बौद्धनाथ पुनर्निर्माण भइरहेको उनले जानकारी दिए। सरकारी तवरबाट पुरातत्व विभागले कहिलेकाहीँ प्राविधिक पठाउने कामबाहेक अन्य आर्थिक सहयोग नगरेको भन्दै लामाले गुनासो गरे।

काठमाडौंँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो। मण्डलाकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो। यो स्तुप बनाउन १२ वर्ष लागेको थियो। आठौँं शताब्दीमा यसको पहिलो जीर्णोद्धार गरिएको थियो।

 नेपालको काठमाडौं उपत्यकामा रहेका स्तुपमध्ये पनि सबैभन्दा ठूलो स्तुप हो, बौद्धनाथ। तिब्बत जाने प्राचीन बाटोमा बौद्ध रहेको मान्यता छ।  बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। डनियल राइटद्वारा सम्पादित उन्नीसौं शताब्दीको एक वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले (सन् ४६४–५०५) गरेको देखिन्छ। बौद्धमार्गीहरूले बौद्धनाथ पनि स्वयम्भूजस्तै आफंै उत्पन्न भएकोे विश्वास राख्छन्।

 विश्व सम्पदा सूचीमा परेका स्थलहरूको सुरक्षा सम्बन्धित देशको मात्रै नभएर विश्वकै चासो यसमा रहन्छ। बौद्धमार्गीको मात्र नभएर विश्व सम्पदा हेर्न आउने जोकोही यसको पौराणिकता र कलात्मकतामा मन्त्रमुग्ध हुन्छन्। विश्व सम्पदा सूचीमा रहेका नेपालका १० धरोहरमध्ये एक रहेको बौद्ध स्तुपाको संरक्षणमा सरकारले कम चासो दिएको आरोप स्थानीयहरु लगाउँछन्।

युनेस्कोको पहलमा सन् १९५४ को अप्रिल २१ देखि मे १४ सम्म हेगमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले तयार पारेको महासन्धिमा सशस्त्र संघर्षको बेलामा सांस्कृतिक सम्पदाको सुरक्षा गर्नु विश्वकै जनताको जिम्मेवारी भएको उल्लेख छ।

  काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा परेका स्थलहरूको मूल्यांकन युनेस्कोले नोभेम्भर सन् १९९३ मा संयुक्त रूपमा गरेको थियो। युनेस्कोको पुनरावलोकनले विश्व सम्पदासूचीमा परेका स्थलहरूको दिनहुँ ह्रास हुँदै गएको देखेको थियो। ती स्थलहरूलाई एकदेखि तीन वर्षसमम्म खतरामा परेको विश्व सम्पदा स्थलहरूको सूची (खतरामा रहेका सम्पदाहरू)मा राख्ने र विभिन्न शर्त पूरा गरेको अवस्थामा पुन विश्व सम्पदा सूचीमा राख्ने सिफारिस गरेको देखिन्छ। महाभुकम्पपछि बौद्ध सहित काठमाडौंका अधिकांश सांस्कृतिक धरोहर खतरामै छन्।

प्रकाशित: २३ श्रावण २०७३ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App