८ वैशाख २०८१ शनिबार
प्रविधि

लामो ट्विट नै लोकप्रिय

गत महिना ट्विटरले एक सय ४० ‘क्यारेक्टर’ सीमालाई हटाएर दोब्बर बनायो । सुरुमा केही सीमित प्रयोगकर्ताबाट परीक्षणका रूपमा सुरु गरेको दुई सय ८० ‘क्यारेक्टर’को ट्विट सीमा नोभेम्बरको पहिलो सातादेखि सबैले प्रयोग गर्न पाए ।
दुई सय ८० ‘क्यारेक्टर’ बन्ने चर्चा भएसँगै ट्विटरको आलोचना भयो । धेरैले यसलाई गिज्याए । आलोचना ट्विटरको लम्बाइमा मात्र सीमित रहेन, ट्विटरमा भइरहेका दुव्र्यवहारलाई घटाउन कदम नचालेकामा पनि आलोचना भयो ।
ट्विटरले आवश्यक कदम नचाल्ने तर अन्य कुरामा ध्यान दिने भन्दै धेरैले आलोचना गरेका थिए । प्रयोगकर्ताले दुई सय ८० ‘क्यारेक्टर’बारे बहस गर्न ट्विटर दुई सय ८० ह्यासट्याग  नै चलाए । केही दिन ट्विटर समुदायमा यो ह्यासट्याग ट्रेन्डिङकै रूपमा चल्न पुग्यो ।  
सबै प्रयोगकर्ताले प्रयोग गर्न नपाउँदै विरोध भएको दुई सय ८० ‘क्यारेक्टर’ बारे हाल गरिएका सर्वेक्षण नतिजाले भने ट्विटरलाई सायद सान्त्वना दिइरहेको हुनुपर्छ । सुरुवाती सर्वेक्षण र तथ्यांकले दुई सय ८० ‘क्यारेक्टर’को परिवर्तनलाई सकारात्मक रूपमा देखाएका छन् । ‘सोसल फ्लो’ नामक सामाजिक सञ्जाल विश्लेषक कम्पनीले ट्विटर प्रयोगकर्ताले लामो ट्विट मन पराएको दाबी गरेको छ ।
‘सुरुवाती केही शब्दले नै प्रभाव पार्न सफल भए हामी लामो ट्विट पनि पूरै पढ्छौँ,’ कम्पनीका सामाजिक सञ्जाल विश्लेषक तथा सहसंस्थापक फ्र्यांक स्पेइसरले अन्तर्राष्ट्रिय मिडियामा भनेका छन् । कम्पनीले ट्विटर प्रयोगबारे एउटा अध्ययन गरेको थियो । अध्ययनपछि कम्पनीको निष्कर्ष छ, ‘हामी लामा ट्विट पढ्न चाहन्छौँ ।’
‘सोसल फ्लो’ले नोभेम्बर २९ देखि डिसेम्बर ६ सम्मका करिब ३० हजार ट्विटको ट्र्याक गरेर विश्लेषण थालेको थियो । एक सय ४० ‘क्यारेक्टर’भन्दा लामा ट्विट औसतमा २६ दशमलव ४२ पल्टभन्दा धेरै रिट्विट गरिएका थिए । छोटा ट्विट भने औसतमा १३ दशमलव ७१ पल्ट मात्र रिट्विट गरिएका थिए । लामा ट्विटलाई औसतमा ५० दशमलव २८ पल्ट लाइक गरिएको थियो भने छोटा ट्विटलाई औसतमा २९ दशमलव ९६ पल्ट लाइक गरिएको थियो ।
यो निष्कर्ष ट्विटरले यसका ३३ करोडभन्दा धेरै प्रयोगकर्तालाई दुई सय ८० ‘क्यारेक्टर’सम्म ट्विट गर्न दिने आधिकारिक निर्णय गरेको करिब एक महिनापछि आएको हो ।
सेप्टेम्बरदेखि नै ट्विटरले छानिएका समूहमा सफल परीक्षण गरेपछि यसलाई व्यापक बनाएको थियो ।  ट्विटरका प्रवक्ताले गत नोभेम्बरमा कम्पनीले प्रकाशित गरेको ‘ब्लग पोस्ट’लाई आधिकारिक भन्दै थप टिप्पणी गर्न चाहिनन् । दुई सय ८० ‘क्यारेक्टर’ सीमा सबैका लागि खुला गरिएपछि ट्विटरले ‘ब्लग पोस्ट’ प्रकाशित गरेको थियो । त्यसमा कम्पनीको आन्तरिक सर्वेक्षणले लामो ट्विट लेख्नेको ट्विट धेरै रिट्विट हुने पाएको जनाएको थियो । यसैगरी उनीहरूले धेरै ‘फलोअर’ पाउने र ट्विटरमा धेरै समय बिताउने उल्लेख गरेको थियो ।
सिनेट डटकमबाट अनुवादित
 

प्रकाशित: १ पुस २०७४ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App