७ वैशाख २०८१ शुक्रबार
अन्य

लाली चढ्यो पूर्वमा

माझ किरात क्षेत्रको सिलिचुङ (४,१५५ मिटर) पुग्दा मकालु हिमाल आँखैमा टाँसिन्छ । सोलुखुम्बु सीमाको भोजपुरे डाँडाबाट सोलुका गाउँघर र साल्पा पोखरी छयाङै देखिन्छन् । सिलिचुङ बेस क्याम्प साल्पा पोखरी (३,७५०मिटर) हिन्दु, बौद्धमार्गी र किरातीको साझा तिर्थ मानिन्छ । जहाँ भदौरे पूर्णिमा, कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा मेला लाग्छ । मेलामा झाँक्रीको बाक्लो चहलपहल हुन्छ । भाकल पुरा भएपछि तिर्थालु नुहाउँछन् । पूजाअर्चना गर्छन । बलि पनि चढाउँछन् ।

खोटाङ, सोलुखुम्बु र भोजपुरे युवाको सक्रियतामा नयाँ पदमार्ग ‘मुन्दुम टे«ल’ एक्सप्लोर हुँदैछ । टेम्केबाट सुरु भएर मेहेरुङ, मैयुङ, लौरीडाँडा, साल्पा पोखरी हुँदै सिलिचुङ जोड्ने १० दिने पदमार्गमा किराती सुवास पाइन्छ ।

मेलामा बाहेक अरुबेला सिलिचुङ क्षेत्रमा खासै चहलपहल हुँदैन । धार्मिक आस्थाले मन अड्याउन मात्र होइन, प्रकृति र संस्कृतिको अनुपम स्वाद चाख्न समेत यो क्षेत्र उपयोगी छ । यस्तै महत्वपूर्ण अन्य किराती डाँडाहरु मेहेरुङ, टेम्के, मैयुङ, लौरीडाँडा सहित सिलिचुङमा पर्यटनको फुल फुलाउन युवाहरु जुर्मुराएका छन् ।
खोटाङ, सोलुखुम्बु र भोजपुरका युवाको सक्रियतामा नयाँ पदमार्ग ‘मुन्दुम टे«ल’ एक्सप्लोर हुँदैछ । टेम्केबाट सुरु भएर मेहेरुङ, मैयुङ, लौरीडाँडा, साल्पा पोखरी हुँदै सिलिचुङ जोड्ने १० दिने पदमार्गमा किराती सुवास पाइन्छ । मुन्दुम पदमार्ग नामाकरण गरिनुमा खास कारण–पदमार्ग जोडिने क्षेत्रमा किरातीको बसोबास हुनु । किरातीको वेद (धार्मिक ग्रन्थ) नै मुन्दुम हो ।
मौखिक ग्रन्थ मुन्दुमको लिखित रुप छैन । यसमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइँसराई गर्दाका समस्या र जन्मदेखि मृत्यूसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ । प्रस्तावित पदमार्गका डाँडापाखासँग किराती मिथक जोडिएका छन् । सबै उमेर समूहकाले सजिलै हिँड्न सक्ने पदमार्गले खोटाङका साकेला गाउँपालिका, रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र भोजपुरका साल्पा सिलिछो गाउँपालिका, षडानन्द नगरपालिका एवं टेम्के मैयुङ गाउँपालिकालाई जोड्छ ।  
खोटाङ सदरमुकाम दिक्तेल वा भोजपुर सदरमुकाम भोजपुरबाट मुन्दुम पदयात्रा सुरु गर्न सकिन्छ । काठमाडौंबाट निस्केको पहिलो दिन दिक्तेलमा बास बसेर भोलिपल्ट चखेवा भञ्ज्याङ (२४००मिटर) सम्म गाडिमा । त्यसो त घुम्न दिक्तेल सेरोफेरोमा पनि रुपाकोट, मजुवा गढी, गुफा लगायत लोभलाग्दा सम्पदा छन् ।
पदयात्रा चखेवा भञ्ज्याङबाट सुरु गर्नु बेस हुन्छ । त्यहाँबाट टेम्के डाँडा चढेर डाँडाको थाप्लै थाप्लो हिँड्ने । पदमार्गका मेहरुङ, मैयुङ, चिलिमधाप, साल्पा पोखरीमा बास हुन्छ । फर्किंदा मैयुङ, सुन्तले र भोजपुरमा बास पर्छ ।
डाँडामा घाँसे मैदान छन् । गाईभैंसी, भेडा र चौंरीका गोठ पनि । हरेक डाँडा र गाउँका आ–आफ्नै बिशेषता छन् । जस्तो कि टेम्के डाँडा किरात भूमिको मध्य विन्दुमा पर्छ । त्यहाँबाट पूर्वको ताप्लेजुङदेखि पश्चिमको सुनकोशी पूर्व तथा दक्षिणको उदयपूरदेखि उत्तरको सगरमाथासम्म भूभागलाई आदिम किरात भूमि मानिएको छ । त्यस्तै पदमार्गमा पर्ने मैयूङ डाँडा (३,३५० मिटर) पनि निकै सुन्दर छ ।  
होटल तथा लज सुविधा नभएकाले व्यवस्थित भएर यात्रा गर्नु पर्छ । चखेवा भञ्ज्याङमा सामान्य लज छन् । त्यहाँ भन्दा माथि धोत्रे देउरालीमा खाना पाइन्छ । साल्पा भञ्ज्याङमा पनि दुखम् सुखम खाना र बास पाइन्छ । भञ्ज्याङबाट तीन घन्टा उकालो चढेमा सिलिचुङ पुगिन्छ । बिहानै उकालो चढ्नु बेस हुन्छ ।
जैबिक विविधताका हिसाबले आकर्षक मानिन्छ मुन्दुम क्षेत्र । यहाँ ८ प्रजातीका गुराँस फुल्छन् । चाँप, थरिथरिका वनस्पती, जंगली फूल, मृग, कालिज लगायत जंगली पंछी–जनावर डुल्छन् । रेड पाण्डाको राम्रो बासस्थल भएकाले देख्न सकिन्छ । यात्रामा गाउँघरतिर किराती परिकारको स्वादमा रमाउने कि ! तोङबा, सुकुटी, कुखुराको तिते, कोदोको परिकार चाख्ने कि ! अनि साकेला सिली नाच्नुको मज्जा बेग्लै हुन्छ ।  
कुनै पनि ठाउँ पर्यटकीय गन्तव्य बन्न पहिला त्यहीँका मान्छे जागरुक बन्नु पर्छ । बल्ल स्थानीय सरकार, केन्द्र सरकार सबैतिर विकासका लागि दबाब सृजना गर्न सकिन्छ । यही सत्य बुझेर ‘हाम्रो लागि हामी आफैं किन नगर्ने’ भनेर पूर्वेली युवा तातेका छन् यतिखेर ।  खोटाङका सगरमाथा आरोही युवराज नाछिरिङ राई, सोलुखुम्बुका पर्वतारोही इन्शु राई, भोजपुरका पर्यटन व्यवसायी रमेशकुमार राई, गायक श्याम साम्सुहाङ राई, पर्यटन गाइड दिपक राई, रेष्टुँरा व्यवसायी मोहन राई तातेका हुन् । उनीहरुको होस्टेमा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्जी शेर्पा र पूर्व अर्थमन्त्री शंकर कोइरालाले हैंसे गरेका छन् ।
युवाले मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रर्वधन केन्द्र खोलेका छन् । केन्द्रले पुसमा काठमाडौंका विज्ञहरु सहित ‘मुन्दुम टे«ल एक्सप्लोरेशन’ गर्दैछ । त्यसमा हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्य, पर्यटनविज्ञ शुरेन्द्र राना, साइक्लिष्ट देवेन्द्र बस्न्यात र पत्रकारहरु सहभागी हुँदैछन् । यो अभियानको उद्धेश्य पदमार्ग पहिचानका साथै नक्शा, बृत्तचित्र लगायत निर्माण गर्नु रहेको केन्द्रका अध्यक्ष रमेशकुमार राई बताउँछन् ।
पर्यटनको प्रचुर संभावना भएको क्षेत्रमा स्वदेशी र विदेशी दुबै खाले पर्यटक रमाउन सक्छन् । कुनै गाउँमा किरात सामुदायिक होमस्टे सुरु गरेर मार्केटिङ गर्न सके राम्रो हुन्छ । हिमाली सौन्दर्यका लागि कहलिएको डाँडाको काखमा होमस्टे खोलौं ।  
मुन्दुम टे«ललाई बिस्तारै अन्य पदमार्गसँग लिंक गर्ने केन्द्रको योजना छ । साल्पा भञ्ज्याङबाट एडमण्ड हिलारी तेन्जिङ टे«ल भएर सगरमाथा बेस क्याम्प पुग्न सकिन्छ । साल्पा भञ्ज्याङ हुँदै अरुण भ्याली पदमार्ग जोडिन्छ । अरुण भ्याली भएर मकालु बेस क्याम्प जान पनि सकिन्छ । त्यस्तै साल्पा भञ्ज्याङ हुँदै सोलुखुम्बुको गुदेल, बुङबाट खालीङ राई बस्ती वाकु काकु हुँदै सल्लेरी पुगिन्छ ।     
केन्द्रले पूर्वमा आशा जगाएको छ । उसले पर्यटन गुरु योजनासहित चरणबद्ध विकासको खाका तयार पारेको छ । सबैले हातेमालो गर्न सके मुन्दुम टे«लले पूर्वेलीलाई फाइदा पुग्नेछ । त्यतिमात्र होइन सबै नेपालीले गर्ब गर्न सक्ने आकर्षक प्रोडक्ट बन्न सक्छ ।
मित्र रमेशजी र श्यामजीले खिचेका तस्बिर र भिडियो हेर्दा मन लोभिएको छ । पुसमा त्यता जाने कुरा छ, मनले चाहिँ पूर्व डुल्न थालेको धेरै दिन भैसक्यो ।
कसरी पुग्ने ः काठमाडौं–दित्तेल २६५ किमि । बनेपा–बर्दिबास सडक खण्डको खुर्कोटबाट हलेसीधाम हुँदै १० घन्टामा दित्तेल बजार । दित्तेल बजार–चखेवा भञ्ज्याङ ४५ किमि । काठमाडौं–मनमाया खानीडाँडा विमानस्थल ३० मिनेट हवाई यात्रा । विमानस्थल–दित्तेल बजार १५ किमि । 

नयाँ पदमार्ग किन ?
रमेश कुमार राई
अध्यक्ष, मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रर्वधन केन्द्र

पर्यटनबाट पूर्वी नेपालको मुहार फेर्न हामीले मुन्दुम टे«लको अबधारणा ल्याएका हौं । प्रकृति, संस्कृति र किराती सभ्यताको संगम भएकाले पर्यटकले मिठो स्वाद चाख्न पाउँछन् । यहाँ सबै उमेर समूहकाले यात्रा गर्न सक्छन् । २४ सय देखि ४१ सय ५५ मिटरसम्म उचाइको पदमार्गमा हिँड्न सजिलो छ । डाँडाको थाप्लै थाप्लोमा न धेरै उकालो न धेरै ओरालो । घाँसे मैदानै मैदान हिँड्न पाइन्छ । पदमार्गका दुबैतर्फ दश थरी किरात भाषी राईहरुको भाषा, धर्म, संस्कार र संस्कृती लगायत जीवनशैली जीवन्त छ । यसको अध्ययन तथा अवलोकन गर्न पाइन्छ । पदमार्गबाट ८ हजार मिटर भन्दा अग्ला ५ हिमालहरु कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु र ल्होत्सेको दर्शन मिल्छ । साथमा दुधकुण्डदेखि सिक्किम पूर्वसम्मका हिमसृङखला पनि ।
सम्पर्क : ९८४००५४२०४    

प्रकाशित: १ पुस २०७४ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App