४ वैशाख २०८१ मंगलबार
राजनीति

काभ्रेमा ४६ जनाको जमानत जफत

बनेपा – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ। 

प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो। 

देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा माले, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा सात जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं २ (क) मा सात जना र प्रतिनिधिसभा क्षेत्र नं २ ९ख० मा आठ जनाको उम्मेदवारी परेको थियो। दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि रु १० हजार र प्रदेशसभाका लागि रु पाँच हजार जमानत बुझाएका थिए। 

निर्वाचित सांसद सबै नयाँ 

प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन्। प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित भएका थिए। उनी माओवादी केन्द्रको जिल्ला राजनीतिमा सक्रिय थिए। तामाङ यस पटक पहिलो पटक संसद् छिर्दैछन्। 

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित पत्रकार गोकुल बाँस्कोटा संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका कञ्चनचन्द्र वादेसँग पराजित भएका थिए। उनी नेकपा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष पनि रहिसकेका छन्। 

प्रतिनिधिसभा क्षेत्र नं १ (क) बाट निर्वाचित रत्नप्रसाद ढकाल, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) बाट निर्वाचित चन्द्र लामा, प्रतिनिधिसभा क्षेत्र नं २ (क) बाट निर्वाचित लक्ष्मण लम्साल, प्रतिनिधिसभा क्षेत्र नं २ (ख) बाट निर्वाचित वसुन्धरा हुमागार्इं सबै नयाँ छन्। काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र छन्। 

प्रकाशित: २ पुस २०७४ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App