७ वैशाख २०८१ शुक्रबार
अन्य

लाइसेन्सको आवेदन दिनै कठिन

इटहरी- मोरङ हसन्दह–५ का ललित विष्ट आइतबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन बिहान ३ बजे मीठो निद्रा त्यागेर विराटचोकबाट हिँडे। ४ बजे कोसी अञ्चल यातायात व्यवस्था लाइसेन्स विभागको कार्यालय इटहरीमा उनी आइपुग्दा अरू बग्रेल्ती युवा लाइनमा उभिएको देखेर अचम्भित भए। पालो नआउला भन्ने चिन्ताले उनलाई बिहानैदेखि सताइरह्यो। 
ललितले आवेदन फाराम लिन, शुल्क बुझाउन र निरोगिताको प्रमाणपत्र लाइन बसेरै कठिन ढंगले लिए। अन्ततः अपराह्न ४ बजेतिर आवेदन बुझाउन सफल भए। आवेदन दिएपछि ललितले भने, 'लाइसेन्सका लागि आवेदन दिँदा नै ठूलै युद्ध जितेजस्तो भो।' 
उनी यसअघि यातायात कार्यालयले फागुन २६ मा आवेदन खुलाउँदा बिहानदेखि लाइनमा बसेर फाराम नभेटेपछि निरास भएर फर्केका थिए। 'यो पटक आवेदन फाराम त भर्न सफल भएँ तर पछि लाइसेन्सको लिखित र ट्रायलमा के हुने हो टुंगो छैन।'
मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको आवेदन दिन संखुवासभाको मत्र्स्य पोखरीबाट आएका हर्कजित राईले भने फाराम नै भेट्टाएनन्। उनले शनिबार ढिलोमात्र खबर पाएर आइतबार बिहानै हिँडेर ढिलो गरी आइपुगेकाले आवेदन फाराम नभेटेका हुन्। 'बडो दुःख गरेर आएँ, कम्तीमा आवेदन दिन पाएपछि लिखित र ट्रायलमा असफल भएपनि चित्त बुझाउन सकिन्थ्यो,' उनले भने। 
आइतबार १ दिनका लागि कोसी अञ्चल यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका लागि आवेदन खुला हुँदा पूर्वाञ्चलका जिल्लाबाट आएर आवेदन दिनको भिड थामिनसक्ने गरी थियो। अनुमतिपत्र लिन निवेदन दर्ता गर्न आएका मोरङ सिजुवा ४ का मदनगोपाल बर्देवाले भने, 'यसरी लाइसेन्स लिनका लागि मानवसागर उर्लेको त पहिलोपटक देखेको हुँ।'
 सवारी चालक अनुमतिपत्रको आवेदन बुझाउने क्रममा भएको भिड व्यवस्थित गर्न प्रहरीलाई धौ–धौ थियो। आवेदन बुझाउन लाइनमा बसेकाहरूबीचमा पनि बेला–बेलामा पालो मिचेको निहुँमा हात हालाहालको स्थिति थियो। 
इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर राजन कार्कीले कुनै अप्रिय घटना भने हुन नपाएको बताए। आवेदन दिनको भिडसँगै सवारी साधनको चापले गर्दा कोसी राजमार्गअन्तर्गत इटहरीको आँपगाछीदेखि पीपलचोकसम्मको ४ सय मिटर क्षेत्रमा सवारी आवागमन बिहानैदेखि साँझसम्म असहज बन्यो। 
एकै दिनमा मोटरसाइकलको सवारी चालक अनुमतिपत्र लिन ४ हजारभन्दा बढी आवेदन परेका छन्। आवेदन दिन लाइनमा बसेकाले ५ सयभन्दा बढीको फाराम लिन नसकिएको यातायात कार्यालयको लाइसेन्स विभागले जनाएको छ। आवेदन फाराम बु‰न बाँकीको सोमबार पनि लिने निर्णय भएको छ। 
यातायात कार्यालय लाइसेन्स विभागका अधिकृत बासु ढकालले सवारीको संख्या बढेअनुसार लाइसेन्स वितरण नहुँदा भिड बढेको बताए। उनले साउनदेखि भने नियमित आवेदन लिएर व्यवस्थित ढंगले सावरी चालक अनुमतिपत्र वितरण गरिने बताए। 'लाइसेन्स लिनेको संख्या अझै १ वर्षसम्म थामिनसक्ने हुन्छ, त्यसपछि क्रमशः घटदै जान्छ,' ढकालले नागरिकसँग भने। 
कोसी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीले 'ट्रायल' सेन्टरको अभावमा १ वर्षसम्म लाइसेन्स दिन रोकेको थियो। पछिल्लो १ वर्षदेखि भने यातायातको लाइसेन्स शाखा अलग्गै भएपछि मोटरसाइकलको माघ–६ गते पहिलोपटक, दोस्रोपटक फागुन–२६ गते र आइबार (असार ५ गते) आवेदन खुलेको हो। 
आवेदन दिएकालाई असार १० देखि साउन २८ सम्म हप्तैपिच्छे लिखित परीक्षा सकेर ट्रायल लिइ सवारी चालक अनुमतिपत्र वितरण गरिनेछ। पछिल्लो समय माघ र फागुनमा आवेदन दिएका ३ हजार ५ सयलाई यातायात कार्यालयले लाइसेन्स वितरण गरिसकेको  छ। 
यातायात कार्यालयले पछिल्लो समय ट्र्याक्टरको ७ सय ५८ जना र डोजरको १९ जनालाई पनि लाइसेन्स वितरण गरेको  छ। ४ चक्के सवारी साधनको झन्डै २ हजार पाँच सयले जेठ अन्तिम साता आवेदन दिएका छन्। तिनीहरूको पनि साउनमै लिखित र ट्रायल हुनेछ। 
 

प्रकाशित: ६ असार २०७३ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App