coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मलेसिया र साउदीसँगको श्रम सम्झौता अलमलमा

काठमाडौं- नेपालले मलेसिया र साउदीसँग गर्ने खोजेको द्विपक्षीय श्रम सम्झौता अन्योलमा परेको छ । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँगको श्रम सम्झौता अन्योलमा परेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रयासमा अवरोध सिर्जना भइरहेको छ ।
विभिन्न अध्ययन र पीडितको भनाइका आधारमा वैदेशिक रोजगारीको क्रममा गन्तव्य मुलुकमा कामदारले सम्झौता अनुसार पारिश्रमिक र काम नपाउनु तथा रोजगारदाताले मनपरी गर्नुका पछाडि श्रम सम्झौता हुन नसक्नुलाई कारणको रुपमा लिने गरिएको छ । यसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदार र कामदारको हक, हितको पक्षमा काम गर्नेहरूले गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न दबाब दिँदै आइरहेका छन् ।
सरकारी अधिकारीहरूले समेत गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने बाध्यता रहेको स्वीकार गरे पनि पछिल्लो समयमा गन्तव्य मुलुक नै श्रम सम्झौता गर्न उदासीन हुने गरेको दाबी गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराज पोखरेल गन्तव्य मुलुकको बेवास्ताका कारण मलेसिया र साउदीसँग गर्ने भनिएको श्रम सम्झौता अलमलमा परेको बताउँछन् ।
नेपाली अधिकारीहरूले मलेसिया र साउदीसँग श्रम सम्झौता गर्न पटकपटक छलफल गरे पनि ती मुलुकले चासो नदिँदा अन्तिम रुप पाउन नसकेको बताएका छन् । पोखरेलका अनुसार श्रम सम्झौताका लागि मलेसियन अधिकारीहरूसँग गत असारमा र साउदी अधिकारीहरूसँग दुई वर्षअघि छलफल भएको थियो । ‘दुवै गन्तव्य मुलुकसँगको छलफलमा पुनः छलफल गरेर श्रम सम्झौता टुंग्याइने सहमति भएको थियो,’ पोखरेलले भने, ‘तर, पछिल्लो समयमा छलफल हुनु त कता हो कता ती मुलुकले श्रम सम्झौताबारे नेपालले राख्ने चासोमा जवाफै दिन छाडेका छन् ।’
विगतका छलफलमा नेपालले रोजगारीमा जाने कामदारलाई दोहोरो टिकट दिनुपर्ने, २४ घन्टे बिमा र  कामदारसँग लेवी लिन नपाइने प्रस्ताव राखेको थियो । छलफलमा नेपालले राखेका प्रस्तावमा साउदी र मलेसियाले बिमति जनाएका थिए । ‘पछिल्लो समयमा साउदी र मलेसियाले श्रम सम्झौताप्रति चासो नराख्नुको कारण नेपालको प्रस्तावलाई अस्वीकार गर्नु हो भन्ने बुझेका छौं,’ पोखरेलले भने, ‘गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न आवश्यक रहे पनि साउदी र मलेसियासँगको छलफल कसरी टुंग्याउने भन्नेबारे कुनै निष्कर्षमा पुग्न सकेका छैनौं ।’
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको आधारमा मलेसिया र साउदी ठूला गन्तव्य मुलुक हुन् । २०६५ यता मलेसिया जान करिब १० लाखले र साउदी जान आठ लाखजतिले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएकामध्ये हाल मलेसियामा करिब ६ लाख र साउदीमा करिब पाँच लाख नेपाली विभिन्न काममा रहेको अनुमान गरिन्छ । विभागले वैदेशिक रोजगारीमा जानेको विवरण राख्ने तर फर्कनेको विवरण नराख्ने गरेकाले गन्तव्य मुलुकमा रहने कामदारको यकिन संख्या फेला पार्न कठिन छ ।
गन्तव्य मुलुकसँग श्रम सम्झौता नहुँदा रोजगारदाताले कामदारसँग मनपरी व्यवहार गर्ने र त्यस्तो व्यवहार गर्ने रोजगारदातालाई कारबाहीको दायरामा ल्याउन गाह्रो भइरहेको पीडित बताउँछन् । रोजगारीमा जानुअघि जुन काम र पारिश्रमिक दिने भनेर कामदार लिइन्छ । त्यहाँ पुगेपछि रोजगारदाताले फरक काममा लगाउँदा र सम्झौता अनुसार पारिश्रमिक उपलब्ध नगराउँदासमेत पीडितले न्याय पाउन सकेका छैनन् ।
सम्झौता अनुसार काम र पारिश्रमिक नपाएका कामदारले गन्तव्य मुलुकमा उजुरी गर्न नपाएपछि स्वदेशमा कामदार पठाउने मेनपावरविरुद्ध उजुरी गर्छन् । तर, सबै उजुरीकर्तालाई वैदेशिक रोजगार विभागले क्षतिपूर्ति र न्याय दिलाउन नसकेको पीडितको भनाइ छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने क्रम बढ्दै जाँदा विभागमा उजुरी गर्नेको संख्या निरन्तर वृद्धि भइरहेको पाइन्छ ।
विभागमा आर्थिक वर्ष ०७२÷७३ मा दुुई हजार एक सय ७२ उजुरी दर्ता भएकोमा आर्थिक वर्ष ०७३÷७४ मा उजुरीकर्ताको संख्या बढेर दुई हजार तीन सय ८३ पुग्यो । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिकसम्म) वैदेशिक रोजगारीमा समस्यामा परेको भन्दै विभागमा मेनपावर, एजेन्टविरुद्ध सात सय ९४ उजुरी दर्ता भएका छन् ।
नेपालबाट संस्थागत (मेनपावरद्वारा) रूपमा विश्वका एक सय सात देशमा र व्यक्तिगत तवरले एक सय ६७ देशमा श्रम स्वीकृति लिएर काम गर्न जाने गरे पनि हालसम्म सात देशसँग मात्र श्रम सम्झौता भएको छ । जोर्डनसँग दुई महिनाअघि श्रम सम्झौता भएको थियो भने श्रम सम्झौता गरिएका इजरायल र कोरियामा सरकारी निकायले मात्र कामदार पठाउन पाउँछ । मन्त्रालयका उपसचिव पोखरेलले मलेसिया र साउदी श्रम सम्झौताप्रति उदासिन भए पनि संयुक्त अरब इमिरेट्सले भने नेपालसँग श्रम सम्झौता गर्न चासो राखेको बताए ।

बक्स
मनपरी गर्न नपाएपछि एजेन्टद्वारा धम्की
कानुनसम्मत तरिकाले वैदेशिक रोजगारीमा जान खोजेका दुई युवालाई भिजिट भिसामा दुबई पठाउन नपाएपछि काठमाडौंको गौरीघाटमा सञ्चालित यात्रा एचआर सोलुसनकी एजेन्ट सरिता भुजेलले घरपरिवारलाई समेत धम्की दिन भ्याएकी छिन् ।
दोलखाको कालिञ्चोक, सिंगटीका सुन्दर खत्री र कालीबहादुर खड्काले भुजेलले भने अनुसार भिजिट भिसामा दुबई जान नमानेपछि गालीगलौज गर्दै कहिलै पनि विदेश जान नपाउने भन्दै परिवारलाई धम्की दिएको पीडितले बताए । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान भन्दै भुजेललाई गएको असार पहिलो साता दुई राहदानी बुझाएका थियौं,’ खत्रीले भने, ‘अहिले आएर उनले भिजिट भिसामा जान कर गरिन् । तर, हामीले कानुनसम्मत तरिकाले मात्र वैदेशिक रोजगारीमा जाने बतायौं ।’
भिजिट भिसामा जान नमानेपछि भुजेलले काँडाघारी बस्दै आएकी पत्नीलाई भेटेर प्रहरीलाई पक्राउ गराउने र विदेश जान वञ्चित गराउने धम्की दिएको खत्रीले बताए । गत असारमा दुबईको चकलेट उत्पादन गर्ने कम्पनीमा पठाउने भन्दै भुजेलले खत्री र खड्कासँग २०–२० हजार रुपैयाँ असुलेकी थिइन् । खत्रीका अनुसार भिजिट भिसामा जाँदा काम छिटो पाइने भन्दै भुजेलले दुई लाख रुपैयाँ मागेकी थिइन् ।
भिजिट भिसामा दुबई जान अस्वीकार गरेपछि दुई युवाले झुक्याएर वैदेशिक रोजगारीमा पठाउन खोजेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्  । वैदेशिक रोजगार ऐन २०६४ का अनुसार भिजिट भिसामा जाने व्यक्तिले गन्तव्य मुलुकमा रोजगारी गर्न पाउँदैन । विभागका निर्देशक मोहन अधिकारीले उजुरी परेपछि मेनपावर सञ्चालक र एजेन्टलाई बोलाएर बयान लिन थालेको बताए । दुवैजनाको राहदानी सोही मेनपावरमा रहेको खत्रीले बताए ।
यात्रा एचआर सोलुसनका सञ्चालक दिनेश केसीले भने भुजेलले जानकारीबिना नै दुई युवासँग रकम र राहदानी संकलन गरेकोबारे जानकारी नभएको दाबी गरे । ‘मैले एजेन्टलाई गलत काम गर्न भनेको छैन,’ उनले भने, ‘ती युवालाई दुबई पठाउन भिजिट भिसा बनाएको जानकारी पनि छैन ।’
‘विदेशमा मृत्यु भएका कामदारको शव घर पुग्न महिनौं’
यसैबीच अन्तर्राष्ट्रिय आप्रवासन दिवसको उपलक्ष्यमा प्रवासी नेपाली समन्वय समितिले कामदारको वैदेशिक रोजगारीमा हुने मृत्युबारेको अध्ययन आइतबार सार्वजनिक गरेको छ । रोजगारीका लागि खाडी मुलुक र मलेसिया पुगेको अवस्थामा निधन भएका तीन सय पाँच घटनामा केन्द्रित हुँदै गरिएको अध्ययनमा गन्तव्य मुलुकमा निधन भएका कामदारको शव नेपाल ल्याउन महिनौं लाग्ने तथ्य सार्वजनिक गरिएको  हो ।
दिनप्रतिदिन वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा पर्ने क्रम वृद्धि हुँदै गए पनि त्यस्ता समस्याप्रति सरकारी निकाय रमिते भइरहेको समेत औल्याइएको छ । उक्त अध्ययन प्रतिवेदनमा नमुना संकलन गरिएका तीन सय पाँच घटनामध्ये ४० शव नेपाल पुग्न दुईदेखि तीन साता लागेको थियो भने तीन सातादेखि साढे दुई महिनाको अवधि गुजारेर घर पु¥याइएका शवको संख्या ७२ थियो । त्यस्तै ५२ शवलाई नेपाल ल्याइपु¥याउन साढे दुई महिना भन्दा बढी लागेको थियो । रोजगारीको क्रममा साउदीमा ज्यान गुमाएको व्यक्तिको शव घर ल्याउन सबभन्दा गाह्रो रहेको सोही अध्ययनमा उल्लेख छ ।

प्रकाशित: ३ पुस २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App