coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

तीन नम्बर प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य : अरुण नेपाल

एमाले नेता अरुण नेपाल। तस्विरः ध्रुव

एमाले पोटिलब्यूरो सदस्य अरुण नेपालले पार्टीभित्र प्रभावशाली युवा नेताको छबि बनाएका छन्। भद्र र सरल स्वभावका नेता उनी स्पष्टवक्ता मानिन्छन्। २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर २०५३ मा उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए। कम्युनिस्ट राजनीति गर्दा पञ्चायतकालमा २०४० देखि २०४४ सम्म चार वर्ष जेल जीवन व्यतित गरेका उनी नेपाल पार्टीको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य र बैकल्पिक पोलिट्व्यूरो सदस्य निर्वाचित भए। हाल पोलिट्व्यूरो सदस्यको रुपमा दोस्रो कार्यकाल व्यतित गरिरहेका उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। प्रदेश नम्बर ३ को मुख्यमन्त्री, प्रदेश सरकार लगायत विषयमा नेता नेपालसँग ध्रुव दंगालले गरेको कुराकानी :

निर्वाचित भएपछि कस्तो अनुभव भएको छ ?
चुनाव जिताएर मतदाताले मप्रति न्याय गरेका छन्। यसर्थमा खुशी छ। त्यो न्यायप्रति मतदातालाई धन्यवाद दिन चाहन्छु। अबको दिशा आर्थिक समृद्धि नै हो। दुई बामशक्ति मिल्दा राजनीतिलाई स्थिरता दिँदै आर्थिक समृद्धि ल्याउन सकिन्छ। 

बाम गठबन्धनलाई प्राप्त बहुमतलाई कसरी लिनु भएको छ ?
वाम गठबन्धनको यो जितले नेपाली जनता समनता, न्याय, आर्थिक समृद्धि र राजनीतिक स्थिरता चाहन्छन् भन्ने पुष्टि गरेको छ। त्यो पूरा गर्ने दायित्व अब बामको काँधमा आएको छ। जनताले विश्वास गरेर बामलाई गह्रुँगो भारी बोकाएका छन्। अब मुलुकमा राजनीतिक र आर्थिक रुपमा दुई धार मात्र रहन्छन्। राजनीतिक रुपमा बाम र लोकतान्त्रिक धार । आर्थिक रुपमा पूँजीवादी÷नवउदारवादी धार र अर्को समाजबादी धार । 

नवउदारवादी धारको नेतृत्व कांग्रेस र समाजवादी धारको नेतृत्व बाम शक्तिले गर्नेछन् । अब एक–एक धारमा उभिनुको विकल्प छैन । यसकै लागि जनताले बहुमत दिएका हुन्। 

मैले हस्ताक्षर गरेको छु । अरु साथीहरुले पनि हस्ताक्षर गर्नु भएको छ । त्यसैले यो पटक इमानदारीपूर्वक म मुख्यमन्त्रीमा शाक्यलाई समर्थन गर्छु । साथीहरुले पनि इमान देखाउनु हुन्छ भन्ने विश्वास छ । यो प्रदेशमा अरुको विकल्प छैन, शाक्य नै हो मुख्यमन्त्री।

पाइँ तीन नम्बर प्रदेशको मुख्यमन्त्री रहने चर्चा सुनिन्छ नि ?
मुख्यमन्त्रीमा मेरो मात्र होइन, धेरै साथीहरुको चर्चा छ । यो चर्चातिर म जान चाहन्न । तर खास कुरा के हो भने, चुनावको एक महिनाअघि प्रदेश कमिटिको बैठक बसेको थियो । चुनावी विषय र भावी कार्यदिशाबारे छलफल गरी निर्णय गर्न नै त्यो बैठक बसेको थियो । छलफलका क्रममा अन्य प्रदेशमा महिला मुख्यमन्त्री बन्ने अवस्था देखिएन । त्यसपछि बैठकले प्रदेश नं. ३ को भावी मुख्यमन्त्रीको रुपमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सार्दै लिखित निर्णय नै गर्‍यौं। 

त्यहाँ मैले हस्ताक्षर गरेको छु । अरु साथीहरुले पनि हस्ताक्षर गर्नु भएको छ । त्यसैले यो पटक इमानदारीपूर्वक म मुख्यमन्त्रीमा शाक्यलाई समर्थन गर्छु । साथीहरुले पनि इमान देखाउनु हुन्छ भन्ने विश्वास छ । यो प्रदेशमा अरुको विकल्प छैन, शाक्य नै हो मुख्यमन्त्री।

लिखित निर्णय र हस्ताक्षरको कुरा गर्नु भयो, राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ लगायत नेताले पनि मुख्यमन्त्री दाबी गरिरहनु भएको छ।
निर्वाचन जितेर आएका नेताले दाबी गर्नु, उहाँहरुको चर्चा हुन स्वभाविक छ । चर्चा त मेरो पनि गरियो नि ! पार्टीले निर्णय नगर्दासम्म दाबी र चर्चा अस्वभाविक छैन । तर उहाँ (शाक्य) कै पक्षमा निर्णय हुन्छ ।

प्रदेश सरकारमा यहाँको स्थान अब के त ? 
प्रदेश सरकारको शक्तिशाली मन्त्रलायमा मेरो दाबी रहन्छ । सिनियर नेतासमेत भएकाले म पर्छु पनि । प्रदेशको आर्थिक समृद्धिको लागि म सरकारमा जान्छु । त्यसका लागि तयार भइसकेको छु । त्यो मन्त्रालय कुन हो भनेर पार्टीमा छलफलपछि टुंगो लाग्छ । र, उपयूक्त साथीहरुलाई उपयूक्त मन्त्रीमा लगिन्छ पनि ।

यहाँले भने जस्तै शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाउनु भयो भने प्रदेश विकासको लागि के–के गर्नु हुन्छ ?
हामीले राजनीतिक चक्र पूरा गरेका छौँ । अब को कार्यभार भनेको आर्थिक समृद्धि नै हो । यो प्रदेश स्रोत, साधनले सम्पन्न छ । राजधानी यही प्रदेशमा छ । यसैले विशाल अर्थतन्त्र बोकेको मुलुक चीन छुन्छ । भारत पनि नजिक पर्छ । त्यसैले यहाँको विकासले अरु प्रदेशमा पनि प्रभाव पार्छ। भएका स्रोत, साधनको सदुपयोग गर्दै थप सम्भाव्यता खोजी गरेर समृद्ध, विकसित र नमूना प्रदेश बनाउन भूमिका खेल्ने छु ।

अनि तपाईँले आफ्नो जिल्ला/क्षेत्रको विकासका लागि तत्काल गर्ने तीन काम के–के हुन् ?
मेरो प्रदेशमा पर्ने चीन जोड्ने तातोपानी नाका भूकम्पपछि बन्द छ । यो नाका सञ्चालनमा ल्याउन विशेष भूमिका खेल्ने छु । मेरो प्रदेशमा राणनीतिक महत्वका ५–६ वटा सडक छन् । त्यस्ता सडकको स्त्तरोन्नति गर्दै कालोपत्रे बनाउने छु । बेरोजगारी समस्य हल गर्न युवा सीपमूलक कार्यक्रम सञ्चालन गरे विदेश पलायन रोक्ने छु । पर्यटन, शिक्षा, पूर्वाधार क्षेत्रमा काम गरी बाह्रविसेलाई स्मार्ट सिटी बनाउने छु ।

मतदातालाई तपाईँ के भन्न चाहनुहुन्छ ?
बाम गठबन्धनलाई विश्वास गर्नु भएकोमा मतदातालाई धन्यवाद दिन्छु  । कम्युनिस्टको घोषणापत्र मन पराइ दिएकोमा शीर झुकाएर नमन गर्छु। घोषणापत्रमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नेछु। 

प्रकाशित: ५ पुस २०७४ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App