७ वैशाख २०८१ शुक्रबार
कला

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

बेलायतबाट नेपाल घुम्न आएका माइक र उनकी प्रेमिका एलीको क्रिसमस यसपालि भिन्न हुने भएको छ।
करिब एक महिनाअघि काठमाडौं आएका उनीहरू अन्नपूर्ण बेस क्याम्पसम्म पनि पुग्न भ्याए । ‘हामीहरू क्रिसमसको बेला नेपालमै हुन्छौँ,’ माइकले भने, ‘पहिलोपटक हामी नेपालमा हुँदा हाम्रो क्रिसमसलाई अझ विशेष बनाउने कोसिस गर्छौं ।’ क्रिसमसपछि चितवन राष्ट्रिय निकुञ्ज जाने योजना रहेको एलीले बताइन्। 

क्रिसमसका बेला घर–परिवारबाट टाढा रहँदा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनीहरूले हाँस्दै भने, ‘हामी यो क्रिसमसमा एकअर्काको साथमा भएकाले एकअर्काको परिवारजस्तै हुनेछौँ।’

इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्। 

क्रिसमस डेको दुई दिनअगाडि शुक्रबार दिउँसो ठमेलको सडक अरुबेला भन्दा सुनसान देखिन्थ्यो । पर्यटकको घुइँचो देखिने ठमेलका गल्लीमा अरु बेलाभन्दा पर्यटकको संख्या कम देखिन्थ्यो । इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्। 

नेदरल्यान्ड्सबाट मारगिट र उनकी प्रेमिका हिडेन पनि शुक्रबार दिउँसो मात्रै काठमाडौं आइपुगेका छन् । क्रिसमसमा लुक्ला जाने उनीहरूको योजना रहेको हिडेनले बताइन् । १३ जनवरीसम्म नेपालमै बसेर पोखरा, चितवन र काठमाडौंका अन्य ठाउँ घुम्ने उनीहरूको योजना छ । ‘पहिले वर्षमा आफ्नै देशमा परिवारसँग बसेर क्रिसमस मनाउँथ्यौँ, यो वर्ष फरक गर्नका लागि नेपाल आएका छौँ,’ उनीहरूले हाँस्दै भने, ‘यो वर्ष परिवारको साथ नभए पनि हामी एकअर्कासँग रमाइलो समय बिताउनेछौँ।’

जर्मनीबाट नेपाल आएकी टेरिसा क्रिसमसका बेला सिन्धुपाल्चोकमा आफ्ना साथीसँग मनाउने तर्खरमा छिन् । उनी सिन्धुपाल्चोकमा भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा स्वयंसेवा गर्दै आएकी छन्। 

उनीसँगै उनकी साथी क्याथरिन थिइन् । उनी भने क्रिसमस र नयाँ वर्ष आफ्नो परिवारसँग मनाउन जर्मनी फर्कने तयारीमा थिइन् । ‘म पनि पुनर्निर्माणमा स्वयंसेवक भएर काम गरेँ, अहिले सकियो त्यसैले भोलि जाँदै छु,’ क्याथरिनले भनिन् । विगत तीन वर्षदेखि सिन्धुपाल्चोक र काठमाडौंमा बस्दै आएकी टेरिसाले भने आफूले परिवारलाई धेरै मिस गर्ने बताइन्। 

धेरैजसो पश्चिमा मुलुकमा क्रिसमसदेखि अंग्रेजी नयाँ वर्षसम्म लामो बिदा हुन्छ । यो बिदामा उनीहरू घुम्न जान मन पराउँछन् । नेपाल सस्तो गन्तव्य भएकाले पनि धेरै विदेशी नेपाल आउन मन पराउँछन्। 

इटालीबाट डेढ महिनाअघि नेपाल आएकी सूर्या र उनका श्रीमान् जोनलाई नेपाल एकदमै मनपरेको छ । अहिले दधिकोटमा बस्दै आएका उनीहरू अझ एक महिना नेपालमा बिताउने बताउँछन् । ठमेलमा भेटिएको यो जोडी पनि पहिलोपटक घर र परिवारबाट टाढा क्रिसमस मनाउँदै छ । क्रिसमसको दिन नेपालमा रहेका साथीभाइसँग बसेर केक, इटालियन र अन्य परिकार खाएर रमाइलो गरी मनाउने योजना बनाएको सूर्याले बताइन् । ‘एक दिनको बाइक टुरमा नगरकोट पनि गयौँ, नेपालको अरु ठाउँहरु पनि घुम्ने योजना छ,’ जोनले भने, ‘बौद्धनाथ, पशुपति मन्दिर घुम्दा एकदम रमाइलो भइरहेको छ ।’ इटालीमा जम्मा गरेको केही रकम नगरकोटको एक गाउँमा डोनेसन दिएको उनले बताए। क्रिसमस र नयाँ वर्षको समयमा घरपरिवारसँग भिडियो कल गरेर खुसी र शुभकामना साट्ने पनि जोनले बताए । 
नेपाललाई हिमालको देश भनेर पनि विश्वमा चिनिन्छ । हिमालको सौन्दर्यमा रमाउनै पनि कतिपय पर्यटक नेपाल आइपुग्छन् । जर्मनीबाट आएका थोमस र उनकी प्रेमिका मिलेनाम पनि हिमाल नै हेर्न भनेर शुक्रबार काठमाडौं आइपुगेका छन् । क्रिसमसका बेला आफ्नो परिवार र देशबाट टाढा भएको यो उनीहरूको पहिलो वर्ष हो । ‘हामी अन्नपूर्ण सर्किट, पोखरा र चितवन जाने तयारीमा छौँ,’ थोमसले हाँस्दै भने, ‘मिलेनामसँग नेपाल आउन पहिलादेखि मन थियो, अहिले बल्ल जु¥यो ।’ पहिलोपटक घरबाट टाढा मनाए पनि केही फरक हुने र एड्भेन्चरस हुने मिलेनाम बताउँछिन् । ‘मलाई पछिसम्म पनि याद हुने केही फरक र एड्भेन्चरस गर्न मन थियो, त्यसैले हामीले यो योजना बनायौँ,’ मिलेनामले हाँस्दै सुनाइन् । नयाँ वर्ष पनि हिमालको आसपासमा गएर एकअर्कासँग मनाउने उनीहरूको योजना रहेको थोमसले सुनाए। 

अस्ट्रेलियाबाट आएकी क्रिस्टो पनि क्रिसमस नेपालमै मनाउने योजनामा छिन् । विभिन्न परिकारहरू बनाएर क्रिसमस मनाउने उनले बताइन् । ‘क्रिसमसका बेला घरपरिवारसँग टाढा हुँदा नरमाइलो त हुन्छ तर नेपालीहरु यति रमाइला छन् कि मलाई दुःखी हुन दिँदैनन्,’ उनले हाँस्दै सुनाइन् । एक महिनाअघि नेपाल आएकी उनी नेपालमा तीन महिना बिताउँदै छन् । अहिलेको नेपालको बसाइँमा उनले पोखरा, चितवन घुम्ने र भोटेकोसी गएर बन्जी जम्प गर्ने योजना बनाएकी छन् । 
अहिले नेपाल आएर क्रिसमस र नयाँ वर्ष मनाउने मात्र भेटिएनन् । नेपालमा भ्रमण पूरा गरेर घर फर्कनेको संख्या पनि उत्तिकै छ । पाँच साताअगाडि नेपाल आएकी लिट्विन पनि आइतबार आफ्नो देश नेदरल्यान्ड्स फर्कंदै छन् । आफ्नी आमा र साथीसँग आएकी उनको भने यो चौथो भ्रमण हो । घरजाने तयारी गरिरहेकी उनी क्रिसमसमा आफ्नो नातेदार, परिवार, साथीभाइसँग क्रिसमस ट्री वरिपरि आगो ताप्दै विभिन्न परिकारको मजा लिँदै बिताउने योजनामा छन् । त्यस्तै, अर्की पर्यटक एन्ना पनि एक महिनाअघि एक्लै नेपाल आएकी थिइन् । अस्ट्रेलियाबाट आएकी उनी नेपाल भ्रमण सकाएर शनिबार घर फर्कंदै छन् । ‘म पोखरा गएँ, अन्नपूर्ण बेस क्याम्प गएँ, एकदमै मनपर्‍यो,’ उनले भनिन्।

पहिलो वर्षभन्दा पर्यटकको संख्या बढे पनि क्रिसमस र नयाँ वर्षको बेला आ–आफ्नो घर फर्कने भएकाले अब अफ सिजन सुरु हुन लागेको ठमेलका व्यवसायी बालचन्द्र अधिकारी बताउँछन् । ‘केही पर्यटकको आगमन भएको छ भने कोही आफ्नै देश फर्कने थालेका छन्,’ उनले भने ‘त्यसैले अहिले चहलपहल पनि कम भएको छ ।’

भिडियाे ः प्रबिन काेइराला

 

प्रकाशित: ८ पुस २०७४ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App