८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘फोरममा पैसा र जातीयता हाबी भएपछि कांग्रेसमा आएँ’

कपिलवस्तु-३ बाट निर्वाचित सांसद एवं नेपाली कांग्रेसका नवनेता अभिषेकप्रताप शाहसँग कृष्णनगर नगरपालिकास्थित उनकै निवासमा गरिएको कुराकानी:

लगातार तेस्रोपटक विजयी हुनुभयो, जितको श्रेय कसलाई दिनुहुन्छ ?
मेरो क्षेत्रका जनतालाई । उनीहरूको आशीर्वाद, आस्थाले चुनाव जितेको छु । तिन पटक जिते पनि खासै काम गर्न भने सकिनँ । सत्ता र पदमा पनि बस्ने मौका मिलेन ।

दुईपटक जितेको फोरम पार्टी छाड्नुभयो, किन ?
आफू कुन पार्टीमा रहने त्यो व्यक्तिको लोकतान्त्रिक अधिकार हो । फोरम पार्टी पूर्वका ठूला नेताको कब्जामा रहेको र पश्चिमका नेताहरूलाई कुनै जिम्मेवारी पनि नदिने भएकाले, हेला गरेको महसुस गरेकाले छोडेको । उपेन्द्रजीले मेरो वास्ता गर्नु भएन । आफ्नो कुरा राख्दा पनि कुनै रुचि देखाउनु भएन । फोरममा विकासभन्दा पैसा र जातीयता हाबी भयो । विभिन्न पदमा मनोनित गर्दा पैसा हाबी हुने गरेको देखियो । अहिले म २०१५ सालमा हजुरबाले जित्नुभएको पार्टीमा रहन पाउँदा गौरवान्वित भएको छु ।
विगतमा मधेसीहरूको एजेन्डा लिएर हिँड्नुभएको थियो । अब मधेसीहरूको हक–अधिकार स्थापित भइसक्यो त  ?
मधेसीहरूको हक अधिकार स्थापना गर्नु कुनै एक पार्टीको मात्र एजेन्डा होइन । यो त राष्ट्रिय समस्या हो । सिंहदरबारमा मधेसीहरूको एजेन्डा देउवा सरकारले टेबल गरी निर्णयका लागि संसद्मा लगेको हो । कांग्रेस मधेस विरोधी पार्टी होइन । कांग्रेस उदार पार्टी हो । ४÷५ वटा सिट ल्याएको पार्टीले समस्या समाधान गर्न सक्दैन । राष्ट्रिय पार्टीले नै त्यसको स्वामित्व लिनुपर्छ अनि मात्र त्यसले मूर्तरूप लिन्छ ।
 

मधेसको एजेन्डा के हुन्छ अब ?  
शाहः मधेसको एजेन्डालाई मैले अझै बिर्सेको छैन । मधेसको समस्या पहाडले र पहाडको समस्या मधेसले उठाउनुपर्छ अनि मात्र सद्भाव कायम भई अधिकार स्थापना हुन्छ । विगतमा बुझाइको कमीले गर्दा कांग्रेसमा केही समस्या देखिएको हो त्यसलाई हामी पूरा गर्छौं ।  
 

पहिला जित्दा तपाईंले गरेका मुख्य काम के–के हुन् ?
आरटिओ रोडको ७ किमि पक्की, ५ सय भन्दा बढी दलित आवास, ठकुरापुर र जगदिशपुर  हल्लानगरमा पक्की पुल निर्माण गरेको छु । कृष्णनगर भएर तेस्रो मुलुकमा आयात–निर्यातका लागि भन्सारलाई क श्रेणीमा विस्तार, ड्राइपोर्ट निर्माणका लागि पहल । कृष्णनगर हुँदै नेपालमा रेलवे ल्याउन भारतीय सरकारसँग पलह गरेको छु र भारतीय सरकारले त्यसको सुरुवात गरिसकेको छ ।
 

अब तपाईंका प्राथमिकता के–के हुन् ?
कृष्णनगरमा सुविधासम्पन्न  अस्पताल, क्याम्पस निर्माण, उद्योग कलकारखानामा नेपाली मजदुरलाई नै राख्नुपर्ने नियम । ठूला लगानीकर्तालाई भित्र्याई उद्योगधन्दाको हब बनाउने, सिमेन्ट उत्पादनमा मुलुकलाई नै आत्मनिर्भर बनाउने र हाइड्रोपावरलाई उपयुक्त तरिकाले उपयोग गर्ने मेरा प्राथमिकताहरू हुन् ।
 

युवा सांसद हुनुहुन्छ ? युवाहरूका लागि के गर्नुहुन्छ ?
युवाहरू नै विकासको संवाहक हुन् । युवाहरूविना विकास सम्भव छैन । युवाहरूलाई नै प्राथमिकता दिनुपर्छ । युवाहरूका लागि नीति निर्माण गरेर अघि बढ्नुपर्छ । युवाहरूका लागि विशेष नीति ल्याउनुपर्छ । पार्टी र संसद्मा युवाहरूका लागि विशेष कार्यक्रम नीति ल्याउन भरपुर प्रयास गर्छु ।
 

प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु बनाउनेतिर पनि लाग्नुभएको छ त ?  
कपिलवस्तु साधारण ठाउँ होइन । बुद्ध चिनिने ठाउँ तिलौराकोट राजधानी हो । ईसापूर्व छैटौँ शताब्दीमा नै कपिलवस्तुमा राजाहरूको चुनाव हुने गथ्र्यो । लोकतान्त्रिक अभ्यासको थलो भएकाले कपिलवस्तुलाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ

प्रकाशित: ९ पुस २०७४ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App