६ वैशाख २०८१ बिहीबार
अर्थ

ठूलो अवसर गुमाउँदै नेपाल

झापा- बंगलादेशसँगको द्विपक्षीय व्यापारलाई आफ्नो पक्षमा पार्न सकिने सम्भावना नेपालले बर्सेनि गुमाइरहेको छ। निर्यात बढाउन अधिकतम प्रयास गर्ने सरकारी तथा निजी क्षेत्रको प्रतिबद्धता व्यवहारमा अनुवाद हुन नसक्दा नेपालले द्विदेशीय कारोबारबाट हात पार्न सकिने फाइदा लिन सकेको छैन। 

केही वर्षयता नेपालबाट बंगलादेश निर्यात हुने सामानको संख्या लगातार घटिरहेको छ। बंगलादेशबाट नेपाल भित्रने सामानको सूची चाहिँ थपिँदो छ। यसले नेपालको निर्यात क्षमता बढाउनुको साटो घटाइरहेको छ। लामो समयदेखि थोरै र सीमित सामान निर्यात गर्दै र त्यसबाट आर्जित थोरै नाफामै चित्त बुझाएर बसेको नेपाली पक्षले निर्यातजन्य वस्तुको संख्या बढाउने बलियो पहल नै गरेको छैन।

'नेपालले सधैं सीमित कमोडिटिज (वस्तु) पठाएरै चित्त बुझाइरहेको छ,' पूर्वी नाकामार्फत भइरहेको बंगलादेशसँगको व्यापार हेरिरहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख यादवराज शिवाकोटी भन्छन्, 'यसो गर्दा हामी पूरै घाटामा छौं।' उनका अनुसार अहिले निर्यात भइरहेका वस्तुले दिने मौद्रिक नाफामा खुसी हुने अवस्था छैन। 'मुख्य कुरा हामीले निर्यातजन्य सामान बढाउनुपर्छ,' उनले थपे 'निर्यातजन्य सामान बढ्नुको साटो घटिरहेको छ। अन्तर्राष्ट्रिय व्यापारका लागि यसलाई घाटा मान्नुपर्छ।'

भूपरिवेष्ठित मुलुकले निर्वाध उपभोग गर्न पाउने तेस्रो देशसँगको पारवहन अधिकार ०५४ सालमा प्राप्त गरेपछि काँकडभिट्टा–पानीट्यांकी–फूलबारी–बंगलाबन्ध मार्गमार्फत नेपाल–बंगलादेश प्रत्यक्ष व्यापार सुरु भएको थियो। त्यसबेलासम्म भारतमै मात्रै आश्रित पूर्वी नाकाको अन्तर्राष्ट्रिय व्यापार बंगलादेशसम्म विस्तार भएको थियो।  बंगलादेशसँगको प्रत्यक्ष व्यापारलाई नेपाली पक्षले पूरापुर आफ्नो हितमा प्रयोग गर्न नसकेको सरकारी तथ्यांकले नै देखाउँछ।

भर्खरै बितेको आर्थिक वर्ष ०७२/७३ मा नेपालले १ अर्ब २६ करोड २७ लाख ४६ हजार ५८ रुपैयाँ बराबरको सामान बंगलादेश निर्यात गरेको छ। जबकि, आयात ३ अर्ब ५० करोड ६३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बराबरको छ। वर्षदिनमा नेपालले मुस्किलले ६ थरी सामानमात्रै बंगलादेश पठाएको छ। जसमा मुसुरो दाल, चोकर, जडीबुटी, डाबर नेपालका उत्पादन, कच र औद्योगिक प्रदर्शनीका सामान छन्। त्यही अवधिमा बंगलादेशबाट २३ थरी सामान नेपाल आयात भएको छ।

बंगलादेशबाट आयात हुने सामानमा जुस, कुखुराको दाना, प्लास्टिकको फर्निचरदेखि कृषि उत्पादन जुट र तिलसम्म छन्। त्यसबाहेक आलु, चिनी, सौर्य ऊर्जाका सामान, विद्युतीय सामग्री पनि ठूलो मात्रामा आयात भएका छन्। पारवहन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा कम्तीमा ५–७ वस्तुको आयात बढेको छ। कुनै वर्ष ३५ भन्दा धेरै थरी सामान आयात भएको छ। १९ वर्ष लामो कारोबारमा नेपालले एक दर्जन वस्तु पनि पठाउन सकेको छैन। उल्टै  निर्यातजन्य वस्तुको संख्या बर्सेनि घट्ने क्रममा छ।

निर्यात व्यापारमा संलग्न व्यवसायी तथा अन्तर्राष्ट्रिय व्यापारलाई नजिकबाट नियालेका सरकारी अधिकारीहरु नेपालले बंगलादेशको बजारमा आफ्नो कृषि उत्पादन पुर्‍याउन सक्ने सम्भावना ठूलो देख्छन्। तर, उच्च भन्सार महसुल दरका कारण पहिले जाँदै गरेका सामानसमेत निर्यात हुन छाडेका छन्। 'हरियो तरकारी, अदुवा, सुन्तला अरु धेरैथरी फलफूल बंगलादेश पठाउन सकिन्छ। केही खेप यी सामान गएका पनि हुन्,' मेची उद्योग वाणिज्य संघका कार्यकारी प्रमुख गोपाल बस्नेत भन्छन्, 'तर, भन्सार महसुल उच्च भएपछि लागत अधिक भयो, यसले नेपाली उत्पादन बजारमा सहजै खपत हुन गाह्रो भयो। यसले समस्या ल्याएको छ। '

कुनै बेला फलफूल, मुसुरो, गहुँ, अदुवा तथा औद्योगिक उत्पादन ल्याक्टोजिन, बिस्कुट, चाउचाउ, विद्युतीय ट्रान्सफर्मर लगायत नेपालबाट बंगलादेश निर्यात हुने मुख्य वस्तु मानिन्थे। अहिले तीमध्ये अधिकांश सामान निर्यात हुँदैनन्। हरियो तरकारी र मौसमी फलफूल पनि जाने गर्थे। तर, उच्च बंगलादेशी भन्सार दरका कारण नेपाली उत्पादनले बंगलादेशमा प्रतिष्पर्धा गर्न सकेन। भन्सार छुटसहित बंगलादेश पुग्ने भुटानी उत्पादनले भने बजार कब्जा नै गरेको छ। 'हाम्रो सरकारले पनि बंगलादेशसँग भन्सार छुटको पहल गर्ने भनेको लामो समय भइसक्यो,' पारवहन कार्यालय काँकडभिट्टाका प्रमुख यादवराज शिवाकोटी भन्छन् 'अहिलेसम्म त्यसको उपलब्धि हात परेको छैन। जसले हाम्रो उच्च निर्यात क्षमता खुम्च्याइरहेको छ।' उनका अनुसार बंगलादेशी व्यापारीले नेपाली कृषि उत्पादन गुणस्तरीय हुने तर महँगो भएका कारण खरिद गर्न गाह्रो हुने बताएको सुनाउँछन्।

यो १९ वर्षको अवधिमा नेपालबाट विभिन्न समयमा कहिले अदुवा, कहिले तारपिन तेल, भैंसीको छाला र बीउबिजन पनि बंगलादेश निर्यात भएका छन्। तर, थेग्नै नसकिने भन्सार महसुल र पारवहन मार्गमा भारतीय पक्षले दिने सास्तीका कारण नेपाली व्यापारीले ती सामान दोस्रोपटक पठाउने आँट गरेनन्।

व्यापारीका अनुसार भारत–बंगलादेश सीमामा नेपाली पक्षले भोग्दै आएको सास्ती झन् ठूलो छ। नेपालबाट गएका कन्टेनर खुला चौरमा अनलोड गर्नुपर्ने अवस्था पूर्ण रुपमा हटेको छैन। असुरक्षाको भय, बंगलादेशको व्यवस्थित गोदाम घरदेखि १ किलोमिटर वरै सामान झार्नुपर्दा खेपेको सकस हटाउन पनि नेपाली पक्षले कहिल्यै उल्लेख्य पहल गर्नै सकेन। यो झन्झट हटाउन भारतीय पक्षको अनिच्छा मुख्य कारण रहेको नेपाली पक्षको आरोप छ। यसरी निर्यात व्यापार बढाउन नेपाली पक्षले देखाएको उदासीनतामा बाटोमा भारतले देखाउने अनुदार कार्यशैली 'भारीमाथि सुपारी' जस्तो भएको छ। लगातार निर्यात बढाउने 'प्रतिबद्धता' जनाइरहने तर काम चाहिँ सो अनुरुप गर्दै नगर्ने सरकारी शैलीकै कारण यस्तो अवस्था आएको हो। 'बंगलादेश र भारत सरकारसँग कुरा गरेर व्यापार सहज बनाइदिने दायित्व राज्यको हो,' व्यवसायी मोहन निरौला भन्छन्, 'तर, त्यतातिर काम केही नगर्ने कुरै मात्रै गर्ने हो भने अहिले भइरहेको व्यापार पनि साँघुरिने निश्चित छ।'

प्रकाशित: २४ श्रावण २०७३ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App