१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरालाई 'अद्भूत गन्तव्य' बनाउन सुझाव

पोखरा- भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्र अझै उकासिएको छैन। पाहुना अभावमा यो बेला पर्यटन क्षेत्र सुनसान जस्तै छ। पर्यटक नआउँदा व्यवसायी चिन्तित छन्। विदेशी पर्यटनमाझ पोखरालाई चिनाउने गतिलो 'ब्रान्ड' नहुँदा प्राकृतिक रुपमा पोखरा र सेरोफेरो सुन्दर हुँदाहुँदै पनि पाहुनाको आगमन बढाउन नसकेको व्यवसायी बताउँछन्।

विश्व पर्यटनमाझ पोखरालाई चिनाउने गतिलो ब्रान्ड बनाउन नसकेकोमा विज्ञको चिन्ता छ। पोखरालाई ब्रान्ड बनाउन सके आगामी दिनमा धेरै पर्यटक भित्रिने उनीहरुको भनाइ छ। पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा बेच्न गतिलो ब्रान्ड आवश्यक रहेको विज्ञको सुझाव छ।

अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका पर्यटन विभागका प्राध्यापक बृजेश थापाले पोखरालाई 'अद्भूत गन्तव्य'को रुपमा विकास गर्नुपर्ने सुझाए। पोखरा पर्यटन परिषद् (पिटिसी)ले आइतबार आयोजना गरेको छलफलमा थापाले पोखराको 'ब्रान्ड' एक दिन वा एक रातमा नबन्ने बताए। 'पोखरा अद्भूत गन्तव्य हो भनेर प्रचार गर्ने कुनै ब्रान्ड छैन। अब, पहिचान दिलाउने ब्रान्ड चाहिएको छ,' उनले भने।

'कुनै पनि 'प्रडक्ट'को ब्रान्ड एक दिन वा महिनामा बन्ने होइन,' उनले भने, 'यो प्रक्रिया हो, महिनौं वा वर्ष लाग्न सक्छ। अनि बल्ल पर्यटकको मन–मुटुमा राख्न सकिन्छ।' पोखरालाई  विदेशी पर्यटकमाझ चिनाउने हो भने व्यवसायी, सरकारसँग प्रतिबद्धता चाहिने उनले बताए। 'पर्यटन बोर्डले सिंगै नेपाल वा पोखराको प्रवर्द्धन गर्न सक्छ। त्यसका लागि सरकार वा स्थानीय निकायको पनि भूमिका हुन सक्छ,' उनले भने।

पोखराको पर्यटन प्रवर्द्धन गर्न अनुसन्धान जरुरी रहेको उनले बताए। 'पर्यटकको रुचि, चाहनाबारे अहिलेसम्म कतै पनि अनुसन्धान भएको छैन। हामीले उनीहरुको चाहना बु‰न सक्नुपर्छ,' उनले भने, 'हामी उनीहरुको चाहना विपरीत पनि गएका हुन सक्छौं। पाहुनाको चाहना बु‰न नसक्नु हाम्रो कमजोरी हुन सक्छ।' पर्यटक आउन नचाहनुका कारण खोतलेर त्यसमा सुधार ल्याउने हो भने आगमन बढाउन सकिन्छ,' थापाले भने।

अहिले विश्वले चिनियाँ पर्यटनबाट ठूलो आशा राखेकोले त्यहाँका पर्यटकलाई लक्ष्य गरी प्रवर्द्धन गर्न सक्नुपर्ने उनले बताए। 'चिनियाँ भन्दैमा सबै आउने होइनन्। जुन सहरका पर्यटक आउन चाहन्छन्। उनीहरुलाई लक्ष्य गर्नुपर्छ,' उनले भने, 'त्यसका लागि ब्रान्ड चाहिएको हो। पर्यटकले पोखरा आउनुपर्ने कारण खोज्न सकून्।'

पोखरालाई विश्वमाझ चिनाउन प्रचारप्रसारमा जोड दिनुपर्ने थापाको सुझाव छ। 'पोखरा र आसपासका क्षेत्रबारे जानकारी दिने एप्स बनाउन सकिन्छ। त्यस्तै वेबसाइट बनाउन सकिन्छ,' उनले भने, 'पाहुनाले पोखरासँग के चाहेका छन्। हामी त्यही सुविधा दिनुपर्छ।'

सामाजिक सञ्जालमार्फत पनि पोखरालाई चिनाउन सकिने उनले बताए। 'अबको समय डिजिटल मार्केटिङ हो। हामी अहिलेसम्म त्यतातिर गएका छैनौं,' उनले भने, 'अब डिजिटल मार्केटिङ गर्न ढिला नगरौं। सरकारको मुख ताकेर बस्ने होइन। ग्राहकसँग अब सिधै सम्पर्क हुने जनशक्तिलाई होटल, ट्राभल क्षेत्रमा उपयोग गरौं। जहाँबाट प्रचारप्रसार होस।'

आफ्नै स्रोत–साधनले सम्पन्न गर्न सकिने, तर पर्यटन क्षेत्रका लागि नौलो आयाम थप्ने प्रडक्टलाई पर्यटन क्षेत्रमा ब्रान्ड बनाउन सकिने यी अनुभवी प्राध्यापकको भनाइ छ। 'अहिलेसम्म हामीले ट्रेकिङ बेचेका छौं। अब साहसिक माउन्टेन बाइक, बाइक, गाडीबाट पनि अनुभव लिन सकिने क्षेत्रको रुपमा उपयोग गर्न सकौं। अहिलेसम्म पर्यटकले पोखरालाई पदयात्रामा 'इन्ट्री' र 'एक्जिट' को केन्द्र बनाएका छन्। अब घुम्ने गन्तव्य बनाउनुपर्छ,' उनले भने, 'जसरी पनि पर्यटकको नेपाल बसाइ अवधि बढाउनेबारे हामीले सोच्ने हो। अहिलेसम्म विदेशीको पोखरा बसाइ अवधि न्यून छ। यसलाई अब बढाउन जरुरी छ।' विदेशीलाई नेपाल घुम्न आउनुको कारण स्पष्ट पार्नुपर्ने थापाको सुझाव छ। पोखरालाई ब्रान्ड बनाएर प्रवर्द्धन गर्न सके अहिलेको वार्षिक आगमन करिब ३ लाखलाई केही वर्षमै उकास्न सकिने उनले बताए।

परिषद्का सल्लाहकार गणेशबहादुर भट्टराई पोखरालाई पर्यटनको गतिलो ब्रान्ड बनाउन नसक्नुमा सरकारी कमजोरी रहेको बताउँछन्। 'मन्त्रालयमा किचलो, पर्यटन बोर्डमा झै–झगडाले पोखराको पर्यटनले गतिलो ब्रान्ड बनाउन सकेको छैन,' उनले भने, 'हामीले पोखरालाई विशेष पर्यटकीय क्षेत्र बनाउन लामो समयदेखि माग गर्दै आएका छौं। सुनुवाइ भएको छैन। पोखरालाई विदेशी पर्यटकमाझ ब्रान्ड बनाउन सरकारी असहयोगले सकेका छैनौं,' उनले भने।

परिषद् अध्यक्ष सोमबहादुर थापाले पोखराको पर्यटन क्षेत्रले गतिलो ब्रान्ड पाउन नसकेको बताए। 'ठूलो लगानीको उद्योग भए पनि पोखराको पर्यटन विदेशीमाझ अझै गतिलो ब्रान्ड बन्न सकेको छैन,' उनले भने, 'यसमा सरकारी निकायका प्रयास चाहिन्छ।' पोखरा घुम्न किन जाने भन्ने प्रश्नको जवाफ पर्यटक आफैंले दिन सक्ने गरी ब्रान्ड बनाउनुपर्ने थापाको सुझाव छ।

प्रकाशित: २४ श्रावण २०७३ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App