coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

टाटु माेह

शुष्मा बराली 

काठमाडौं वसन्तपुरका नुजल मानन्धरको नाडीमा गणेशको टाटु खोपिएको छ । भर्खरै उनले त्यही टाटुलाई नयाँ रूप दिएका छन्, त्यसको वरिपरि अरु आकृति खोपेर । टाटुका सोखिन उनी स्मार्ट र न्यु लुक्सका लागि टाटु खोपाएको बताउँछन् । उनी भर्खरै विदेशबाट आएका हुन् । घर आएको मौकामा टाटु बनाउन लागेको उनले सुनाए।
‘टाटु मलाई साह्रै मनपर्छ । पहिला गणेशको टाटु बनाएको थिएँ, अहिले त्यसैलाई आकर्षक बनाउँदै छु,’ उनले भने, ‘हातमा टाटु बनाएर आफू युनिक भएको महसुस हुन्छ।’ 

समय फेसनको छ । अचेल सहरमा हरेक कुरामा फेसन चल्छ । खाँदा, लगाउँदा, हिँड्दा मात्रै नभएर हरेक क्रियाकलाप गर्दा फेसन जोडिएको हुन्छ । सहरी नयाँ पिँढीको फेसनको हिस्सा बनेको छ, टाटु । उनीहरू टाटुलाई चलनकै रूपमा स्वीकार गरिरहेका छन्। 

नेपाल घुम्न आउँदा नेपाली कलालाई नै शरीरमा खोपेर जाने विदेशी पनि धेरै छन् । उनीहरूको रोजाइमा विशेषगरी काल भैरव, भैरवी, गणेश, हनुमान, महाकाली, बुद्ध, लट्टे शिव लगायत आर्ट पर्छ । 

शरीरका विभिन्न भागको छालामा स्थायी रूपमा विभिन्न आकृति खोप्नु नै टाटु हो । आफूलाई अलिक युनिक र स्मार्ट देखाउन पनि टाटु बनाउने चलन बढेको टाटु आर्टिस्ट बताउँछन्। 

शरीरमा टाटु खोप्ने विश्वव्यापी चलन नै हो । नेपालमा पनि टाटु खोप्ने चलन बढेसँगै टाटु आर्टको व्यावसायिकता पनि पछिल्लो समय बढेको छ । शरीरमा विभिन्न आकृतिलाई कलात्मक ढंगले उतार्नु नै टाटु आर्ट हो । सहरका युवा पुस्ताको रोजाइ तथा सोखका रूपमा टाटुलाई लिन सकिन्छ।

तराईका थारु जातिमा शरीरका हात, खुट्टा, निधार (टीका लगाउने ठाउँ), चिउँडोमा खोप्ने चलन थियो । विशेष गरेर फूल, चरा, माछा, मयुर लगायत आकृति खोप्ने चलन थियो । जसलाई स्थानीय भाषामा ‘हातखुट्टा खोपाउने’, ‘बोता ढरणा’, ‘टीका छेडाइना’ पनि भनिन्छ । यसको अर्थ शरीरलाई सियोले खोपेर विभिन्न चित्र बनाउनु हो। यो चलन अहिले भने परिमार्जित र आधुनिक भएर सहरी संस्कृतिका रूपमा युवाले अँगालेको टाटु आर्टिसट प्रजिना श्रेष्ठ बताउँछिन्। 
प्रजिनाले वसन्तपुरस्थित फ्रिक स्ट्रिट टाटु सेन्टरमा टाटु आर्टिसका रूपमा काम गरेको चार वर्ष भयो । उनले ठमेलको इन्कलिंकबाट टाटु बनाउन सिकेकी हुन् । एमएससी गरेकी उनी अहिले म्युजिक पनि पढ्दै छन् । आफूलाई पहिलादेखि नै टाटु बनाउने रुचि रहेको उनी बताउँछिन् । ‘परिवारले अहिलेसम्म राम्रो सहयोग गरेको भएर नै म टाटु आर्टिस भएँ,’ उनले भनिन्। 

पहिलाको तुलनामा टाटुको फेसन बढिरहेको उनी बताउँछिन् । ‘मेहेन्दी लगाएजस्तै हो तर त्यो केही समयका लागि भयो, टाटु पछिसम्मका लागि हो,’ उनले भनिन् । टाटुमा विशेषगरी किशोरकिशोरीको आकर्षण रहेको प्रजिना बताउँछिन् । उनीहरूले बनाउने टाटु पनि अर्थपूर्ण हुने गरेको छ । ‘आफ्नो जीवनमा अर्थ राख्ने खालका आकृति बनाउने प्रवत्ति धेरै छ । टाटु त्यस्तै अर्थपूर्ण बनाउनु नै राम्रो हुन्छ,’ उनले भनिन्। 

सोचविचार गरी आफूलाई पछि असर नपर्ने खालको आकृृति खोपाउनुपर्ने प्रजिना सुझाउँछिन् । खोपाउन आउने धेरैले टाटुको डिजाइन आफैँ लिएर आउने उनी बताउँछिन् । ‘इन्टरनेटको प्रयोगले मनपर्ने डिजाइनको आर्ट सजिलै पाइन्छ, आफैँ डिजाइन लिएर आउँछन्,’ उनले भनिन् । अहिले क्लासिक अमेरिकाना आर्टको चल्ती राम्रो रहेको उनी बताउँछिन् । क्लासिक अमेरिकाना आर्टमा आर्टिस्टले रातो रङको आउट लाइन प्रयोग गर्ने उनी बताउँछिन् । ‘जसमा सिकारी जनावर, फूल र काँडालाई एकै ठाउँमा नयाँ आकृति दिइन्छ,’ उनले भनिन् । त्यस्तै, जापनिज आर्ट पनि धेरैले मनपराउने आर्टमा पर्छ । जापनिज आर्टमा पौराणिक कला, कौशललाई समेटेर डिजाइन गर्ने उनी बताउँछिन् । ‘स्टाइलिस्ट र कलात्मक देखिन चाहनेले यो आर्ट बनाउँछन्,’ उनले भनिन्।

दिनेश महर्जन फ्रिक स्टिक टाटुका सञ्चालक हुन्, उनी विगत दश वर्षदेखि टाटु आर्टिस्टका रूपमा काम गर्दै आएका छन् । टाटु बनाउँदा कालो, हरियो, रातो, नीलो रङको धेरै प्रयोग गरिने उनी बताउँछन् । पहिला टाटुलाई नकारात्क रूपमा हेरिए पनि हिजोआज बिस्तारै सोच परिवर्तन भएको उनको भनाइ छ। 

‘अहिले आमासँगै छोराछोरी टाटु बनाउन आउँछन्,’ उनले भने, ‘कुनै समय टाटु पुरुषले मात्र बनाउने भन्ने चलन थियो, तर अहिले त्यो अवस्था छैन।’ 

मान्छेका भावना, विचार अनि सम्बन्ध जनाउने खालका वस्तु अनि व्यक्तिका आकृतिका टाटु बनाए राम्रो हुने उनको सुझाव छ । टाटुका विभिन्न प्रकारमध्ये ब्ल्याक वर्क टाटु आर्ट पुरुषले धेरै मन पराएको उनी बताउँछन् । ‘ज्यामितीय आकारको आकृतिलाई कलात्मक ढंगले छालामा खोप्नु नै ब्ल्याक वर्क टाटु हो,’ उनले भने । यसमा विशेष रेखाको प्रयोग गरेर ज्यामितीय आकृतिलाई कल्पना गरेर बनाइने उनी बताउँछन् । उनका अनुसार ब्ल्याक वर्क टाटु बनाउँदा कालो रङको प्रयोग गरिन्छ । ‘यो टाटुको आकार मोटो, मसिनो र चहकिलो रेखाको प्रयोग गरिएकोे हुन्छ,’ उनले भने ।
टाटु जीवन्त रहने, आफ्नो जीवनको अन्तिम समयसम्म सम्झनका लागि बनाइने उनको भनाइ छ । नेपालमा टाटु खोप्ने नेपाली मात्र नभई विदेशी पनि हुन्छन् । नेपाल घुम्न आउँदा नेपाली कलालाई नै शरीरमा खोपेर जाने विदेशी पनि धेरै रहेको दिनेश बताउँछन्। 

उनीहरूको रोजाइमा विशेषगरी काल भैरव, भैरवी, गणेश, हनुमान, महाकाली, बुद्ध, लट्टे शिव लगायत आर्ट रहेको उनले सुनाए । सामान्य टाटु बनाउँदा १५ सय रुपैयाँदेखि माथि खर्च लाग्ने उनी बताउँछन्। 

ठमेलस्थित टाटु यन्त्रका टाटु आर्टिस हुन्, अनिल पुन । उनी फाइट आर्टस्का विद्यार्थी पनि हुन्। फाइन आर्टस्मा पढेको कुरालाई टाटुमा प्रयोग गर्न पाउने भएकाले आफूले टाटु आर्टिस्टकै पेसा रोजेको उनी बताउँछन्। 

उनका अनुसार टाटु हानेपछि पानी, घाम, धुलोबाट बचाउनुपर्छ । एक सातासम्म राम्रो हेरचाह गरेपछि खासै समस्या नआउने उनी बताउँछन् । उनको स्टुडियोमा बायोमेकानिकल आर्ट धेरै युवाको आकर्षण बनेको उनी बताउँछन्। 
‘यो एक लोकप्रिय टाटु आर्ट हो, शरीर हड्डी भएको भागहरू, हात, घुँडामा बनाइन्छ,’ उनी भन्छन् । यो आर्टमा चित्रको आवरण मोटो देखिन्छ । बीचको चित्र थोरै ब्लर वा छायाजस्तो देखिन्छ । चित्रमार्फत दुःख, पीडा देखाउन यो आर्ट बनाउने उनी बताउँछन् । विशेष खप्पर, हड्डीबाट निर्मित आकृति बनाइने उनको भनाइ छ। 

हिजो आज स्टिक एन्ड पोक डिजाइन पनि निकै प्रचलित रहेको अनिल बताउँछन् । औँला, कानको पछाडि, घाँटीमा लगायत संवेदनशील अंगमा यस प्रकारको आकृति खोपिन्छ । ‘सामान्य एउटा सुई (निडल)को प्रयोग गरेर सिम्पल आर्ट गर्नु स्टिक एन्ड पोक टाटु हो,’ उनले भने। 

प्रकाशित: १० पुस २०७४ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App