१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कार्यविधिबिना चल्छ ललितकला

काठमाडौं– सरकारी वा गैर सरकारी निकाय संविधान, ऐन, नियम, कार्यविधि र निर्देशिका आधारमा चल्नुपर्ने प्रावधान छ । तर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यसम्पादन कार्यविधी र निर्देशिका भन्दा ठिक उल्टो छ । ऐन नियमसँग नबाझिने गरी हरेक निकायले कार्यविधि र निर्देशिका बनाएर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

केही समयअघि मात्र महालेखा परीक्षण कार्यालयले पनि कार्यविधिअनुसार जिम्मेवारी पूरा गर्न र कागजपत्र मिलाएर राख्न प्रतिष्ठानलाई सचेत गराइसकेको छ । महालेखाले सचेत गराए पनि प्रतिष्ठानले कार्यविधि र निर्देशिका बनाउने छाँटकाँट अझै देखाएको छैन ।

ललितकला प्रतिष्ठान स्थापना भएर दोस्रो कार्यकाल पनि सकिन लागिसकेको छ । प्रतिष्ठानको कार्यक्रम अन्यौलकै भरमा प्राज्ञ सभामा पेस हुन्छ । ‘अनि प्राज्ञ परिषद्ले त्यो पेस भएको कार्यक्रममा निर्णय गर्छ,’ प्राज्ञ परिष्द सदस्य नारदमणि हार्तमछालीले भने, ‘प्राज्ञ सभामा २४ जनाले मौखिक भनेका कुराकै आधारमै विभागले कार्यक्रम बनाएको हुन्छ ।’ उनका अनुसार बैठकले पास गरेपछि त्यही नै तत्कालका लागि कार्यविधि र निर्देशिका बन्छ । वास्तु तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुखसमेत रहेका नारदमणिले कार्यविधि नहुँदा भावनात्मक रूपमा सही गर्ने भनिए पनि त्यो मनोगत हुनेसक्ने स्विकारे ।

महालेखा परीक्षण कार्यालयले पनि कार्यविधिअनुसार जिम्मेवारी पूरा गर्न र कागजपत्र मिलाएर राख्न प्रतिष्ठानलाई सचेत गराइसकेको छ । महालेखाले सचेत गराए पनि प्रतिष्ठानले कार्यविधि र निर्देशिका बनाउने छाँटकाँट देखाएको छैन ।

चार वर्ष बित्न लाग्दा पनि ललितकलाको अझैं आफ्नो कार्यविधि छैन । उनले लिखित कार्यविधिबिना काम गर्दा प्रभावकारिता कम हुन्छ वा कार्यान्वयनमा असर पर्छ भन्ने त्रास सदैव रहने बताए । ‘अघिल्लो वर्ष आन्तरिक कलहले कार्यविधिको काम त्यसै अल्झियो,’ उनले खुलाए, ‘वार्षिक कार्यक्रम बने पनि आवधिक र दीर्घकालीन कार्ययोजना बनाउन कार्यविधिको अभावले समस्या छ ।’ उनकै विभागको पनि हालसम्म एउटामात्र कार्यक्रम सकिएको छ।

दोस्रो चौमासिकको दोस्रो महिना बित्दै गर्दा कम्तिमा पनि दुईवटा कार्यक्रम सक्नुपर्ने भए पनि त्यो हुन सकेन । उनको विभागमा पाँचवटा कार्यक्रम छन् । कार्यविधिकै अभावमा गत वर्ष मूर्तिकला तर्फको अरनिको मूर्तिकला कार्यक्रम रोकिएको थियो।
अर्का प्राज्ञपरिषद् सदस्य तथा मूर्तिकला विभागका प्रमुख धनबहादुर याक्खाको पनि एउटा मूर्तिकला प्रदर्शनी सकिएको छ । ‘अब चारवटा जति काम बाँकी छ । सबै काम गर्न त भ्याइन्छ । तर कार्यविधिको अभावमा प्राविधिक कुरा आउँछन् । सबै आफैं मिलाएर गरिराखेका छौं,’ उनले भने, ‘कतिपय अवस्थामा अरु संघ संस्थासँग मिलेर काम गर्दा कसरी जाने भन्ने समस्या आउँदा अन्यौल हुने गरेको छ ।’ उनका अनुसार परिषद् बैठकमा कार्यविधि बनाएर गर्नुपर्छ भन्ने छलफल बारम्बार भए पनि कसले बनाउने भन्ने अन्यौल रहिरहेको छ।

परम्परागत कला विभागका प्रमुख तथा प्राज्ञ परिषद् सदस्य निमा घ्याम्छो लामाको पनि केही दिन अघि थांका पौभाको प्रशिक्षण कार्यक्रम सकियो । उनी चुनावका कारण अरु कार्यक्रम गर्न ढिला भएको बताउँछन् । कार्यविधि तयारी अवस्थामा रहेको उनको दाबी छ । ‘कार्यविधि तयारी अवस्थामै छ । हामी छिट्टै बाहिर ल्याउँछौ,’ उनले भने ।
सुवोधचन्द्र दासको लोककला विभागको एउटा पनि कार्यक्रम सकिएको छैन । कार्यविधि र कार्यनिर्देश गर्ने निर्देशिकाको अभावमा उनको कार्यक्रम नसकिएको हो । ‘चुनावले गर्दा काम गर्न सकिएन,’ उनी भन्छन्, ‘मेरो भागमा चारवटा पर्छ होला ।’ उनलाई आफ्नो भागमा कति कार्यक्रम छन् भन्ने पनि जानकारी छैन।

प्रतिष्ठानका सदस्य सचिव नवराज भट्ट कार्यविधि र निर्देशिका आवश्यक भए पनि यो नभएको अवस्थामा ऐन नियमावलीबाटै पनि काम गर्न सकिने औंल्याउँछन् । उनले तत्काल कार्यविधि बनाउन पनि समस्या रहेको बताए । ‘ऐन संशोधन गर्नुपर्ने अवस्थामा रहँदै संसद भंग भयो,’ भट्ट भन्छन्, ‘सबै परिवर्तन भएर जानुपर्ने अवस्था छ । विभागीय कार्यविधि बनाउने भनेर समिति बनाइएको छ ।’ भट्टले कार्यविधि लिखित रूपमा तयार गर्न नपाउँदै भूकम्प र आन्तरिक समस्यामा परेकाले गर्न नसकिएको दाबी गरे । पहिलेको कार्यकालमा जसरी गरिएको हो, त्यसरी नै कार्यक्रम र संस्था चलाइरहेको उनले बताए । ‘कार्यविधि बनाउने भनेर समिति खडा भएपनि सदस्य कसलाई तोक्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने।

उपकुलपति शारदा चित्रकारको अन्तर्राष्ट्रिय अनुसन्धान विभाग पनि कार्यविधिबिना नै चलेको छ ।  ‘हामीले आफंै पनि विषय दिन सक्छौ । कसैले प्रस्ताव दिनसक्छ,’ उनले भनिन् ,‘तर त्यतिकै दिँदैनौ । चार पाँचवटा माग्छौ । कुनलाई प्राथमिकता दिने भन्ने कुरा टुंग्याउन भने कार्यविधिको आवश्यकता पर्दैन । परिषद् बैठक कुरिन्छ।’

चित्रकारकै नेतृत्वमा सात प्रदेशको अनुसन्धान अभिलेख राख्ने कार्यक्रम पनि कार्यविधिकै कारण हुन सकेको छैन । जसका लागि छुट्याइएको ४२ लाख बजेट त्यसै खेर जाने देखिएको छ । प्रदेशमा सम्पर्क कार्यालय खोल्नु र विषयगत मानिस खोज्नु नै चुनौतीको कुरा रहेको उनको बुझाइ छ ।

कुलपति रागिनी उपाध्यायले राहत कोषलगायतका आन्तरिक विभागमा कार्यविधि तोकिए पनि समग्र संस्थाको आफ्नो कार्यविधि भने बनिनसकेको स्वीकारिन् । ‘राष्ट्रिय कला प्रदर्शनीमा पुरस्कारकै विषयमा विवाद उठेपछि कार्यविधिको कुरा पनि उठेको हो,’ उनले भनिन्, ‘यसलाई जसरी पनि बनाउनै पर्ने भएको छ ।’ उनले कार्यविधि अभावमा जथाभावी कार्यक्रम जाने गरेको आंकलन गरेकी छिन् । अन्तिम समयमा कार्यक्रम ल्याउँदा अप्ठेरो हुने गरेको अनुभव कार्यविधि र निर्देशिकाकै अभावका कारण भएको पनि उनले महसुस गरेकी छिन् ।

 

प्रकाशित: १२ पुस २०७४ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App