६ वैशाख २०८१ बिहीबार
विचार

राजनीतिभन्दा माथि समृद्धि

संयुक्त राज्य अमेरिका र नेपालबीच सम्बन्ध स्थापित भएको ७०औँ वर्षको अवसरमा हामीले मनाइरहेको विशेष उत्सव अब अन्तिम चरणमा आइपुगेको छ । म यस बेला हाम्रो सम्बन्धका आगामी ७० वर्ष कस्ता होलान् भन्ने कल्पना गरिरहेकी छु । बलियो साझेदारी त हामीसँग छँदैछ । अबको प्रश्न हामी त्यसलाई अर्को तहमा कसरी पु¥याउन सक्छौँ भन्ने हो । सन् २०१७ को अन्तिम महिनामा म केही चिन्तनमनन गर्न चाहन्छु– नेपालको पूर्ण सम्भावनालाई वृद्धि गर्न सम्भव बनाउने परिवर्तनहरू के हुन् ? हामी कसरी अझ प्रभावकारी तरिकाले सहकार्य गर्न सक्छौँ ? आर्थिक तथा सामाजिक विकासको वृद्धिलाई कसरी प्राथमिकतामा राख्ने ? तसर्थ, पहिलेभन्दा बढी आपसी समृद्धि सुनिश्चित गर्न र हामीबीचको दौत्य सम्बन्धमा सुधार ल्याउनका लागि अमेरिकाले आफ्ना प्रयत्नहरू कहाँ केन्द्रित गर्नेछ भन्ने कुरा प्रदर्शन गर्नका लागि मैले आउँदै गरेको नयाँ वर्ष २०१८ का लागि केही सङ्कल्प तयार पारेकी छु ।

हामीबीचको सम्बन्धको अर्को ७० वर्षको युगसमेत सुरु हुन लागेको यस समयमा नेपालको सफलतालाई समर्थन गर्नका लागि संयुक्त राज्य अमेरिका आफ्नो विकास सहायता लगानीलाई विश्वव्यापी उत्कृष्ट अभ्याससँग मिलाएर लैजाने प्रयत्न बढाउने सङ्कल्प गर्छ ।

नेपालमा समृद्धि वृद्धिमा मद्दत गर्नु मेरो पहिलो सङ्कल्प हो । व्यापार तथा लगानीमा वृद्धि गरी नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई बलियो बनाउँदै यसलाई हासिल गर्न सकिन्छ । नेपाली निर्यातका लागि अमेरिका भारतपछिको दोस्रो ठूलो गन्तव्य बनिसकेको छ । नेपालमा बनेका निश्चित वस्तुलाई अमेरिकामा भन्सार छुट प्रवेश दिलाउने नयाँ व्यापार ग्राह्यता कार्यक्रममार्फत सन् २०१७ मा हामी अमेरिकामा नेपाली निर्यात वृद्धि गराउन कार्यरत रह्यौँ । प्रारम्भिक प्रतिफल मामुली नै छ । वर्षको पहिलो १० महिनामा झन्डै २० लाख अमेरिकी डलर बराबरका वस्तु निर्यात भएका छन् भने बढीभन्दा बढी उत्पादक, निर्यातकर्ता र अमेरिकी क्रेताहरू यस कार्यक्रमको विषयमा जानकार बन्दै गएपछि निर्यात बढ्ने मेरो अपेक्षा छ ।
समृद्धिमा वृद्धि हुनका लागि लगानी पनि आवश्यक पर्छ । नेपालमा सम्भावना देखेका अमेरिकी उद्यमी तथा कम्पनीहरूसँग मेरो प्रायः भेट भइरहन्छ । तर अस्पष्ट नियमन, अनमेल नीति, राजनीतीकरण भएको श्रम र अति सुस्त गतिमा चल्ने कर्मचारीतन्त्रका विषयमा तिनीहरू चिन्तित छन् । सन् २०३० भित्र मध्यम आय मुलुक बन्ने लक्ष्य हासिल गर्नका लागि नेपाललाई निजी क्षेत्रको अझै बढी लगानी आवश्यक छ । त्यस कारण लगानीकर्तालाई टाढै राख्ने बाधकहरूलाई सम्बोधन गर्ने र रोजगारी वृद्धिलाई प्रोत्साहन दिनेखालको विदेशी लगानीसम्बन्धी विधेयक नेपालको नयाँ संसद्ले सन् २०१८ मा पारित गर्नेछ भन्ने मलाई आशा छ । त्यसपूर्व अन्य मुलुकले लगानी कसरी आकर्षित गरिरहेका छन् भन्ने कुरा बुझ्न नेपालका नेतृत्वकर्ताहरूले यस क्षेत्रवरपर हेर्नुपर्छ । उदाहरणका लागि, भारतको ९० प्रतिशतभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडिआइ) स्वतः स्वीकृतिको मार्गबाट अघि बढ्छ । भारतको तेलंगाना राज्यमा सरकारी अधिकृतहरूले लगानीका लक्षित वर्गहरूमा १५ दिनभित्र कार्यवाही थालेनन् भने तिनलाई स्वतः स्वीकृत गरिन्छ । नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि विदेशी लगानीसम्बन्धी मस्यौदा विधेयकले विदेशी तथा स्वदेशी दुवैखाले लगानीकर्ताका लागि नेपालमा व्यवसाय गर्न सहज बनाउनुपर्छ ।
समृद्धि बढाउने गर्ने अर्को कदम हो– सबै नेपालीले रोजगारीमा प्रवेश गर्न सक्ने र श्रेष्ठता प्रदर्शन गर्ने सुनिश्चितता दिलाउनु । नेपाल मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्न चाहन्छ भने महिला र समाजका सबै अङ्गलाई शक्ति र प्रभावका पदमा संलग्न गराउनैपर्छ, खासगरी व्यवसाय र राजनीतिमा । नेपालले आफ्नो पूर्ण सम्भावना हासिल गर्न सकोस् भनी महिला तथा सीमान्तकृत समूहलाई म प्रवर्धन गरिरहने सङ्कल्प गर्छु ।
गत सेप्टेम्बरमा हस्ताक्षर गरिएको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को कम्प्याक्ट सहमति अमेरिका–नेपाल सम्बन्धको महत्वपूर्ण कार्यक्रम हो । ५० करोड अमेरिकी डलरको उक्त अनुदान कार्यक्रम विद्युत्को उपलब्धतामा सुधार, पूर्वाधार सवलीकरण र क्षेत्रीय सम्पर्क विस्तारमा केन्द्रित रहनेछ । हरेक वर्ष एमसिसीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी महत्वपूर्ण सूचकसहितको स्कोरकार्ड जारी गर्छ । भ्रष्टाचार नियन्त्रणको मामिलामा अन्य मुलुकको तुलनामा यस वर्ष नेपालको स्कोरकार्डमा दुर्भाग्यवश कम प्रगति देखिएको छ । भ्रष्ट अधिकारीहरूमाथि कानुनी कारबाही गर्ने र ओपन गभर्मेन्ट पार्टनरसिपमा सम्मिलित भएर सरकारको पारदर्शिता बढाउने जस्ता भ्रष्टाचार विरोधी बलिया उपायहरू नेपालको लोकतन्त्रमा नागरिक विश्वासको वृद्धि र जवाफदेहिता तथा पारदर्शिता वृद्धि गर्न सघाउनका लागि महत्वपूर्ण छन् । अमेरिकी सहायताका सबै कार्यक्रममा पारदर्शिता तथा जवाफदेहितासम्बन्धी आवश्यकतालाई निरन्तरता दिन र जवाफदेहितासम्बन्धी नेपाली कार्यक्रमहरूलाई थप बल पु¥याउनका लागि हाम्रो सहायता कार्यक्रमलाई प्रयोग गर्ने मेरो सङ्कल्प छ ।
हाम्रो साझेदारीको पूर्ण सम्भावना हासिल गर्नका लागि नेपालमा विकास सहायतामा प्रगति हुन जरुरी छ । नेपालको वृद्धिको मार्ग सुसूचित तुल्याउन अमेरिकी सहायताले विश्वभरका उत्कृष्ट अभ्यासलाई यहाँ ल्याउने लक्ष्य लिएको छ । नेपाल सरकारसँगको पूर्ण परामर्शमा तर्जुमा गरिएका हाम्रा कार्यक्रमहरूले गहिरो जरा गाडेका चुनौतीलाई सम्बोधन गर्न नवीनतम उपायहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँछन् । बाल मृत्यु दर घटाउनेदेखि कृषि उत्पादन र किसानको आयमा उल्लेखनीय वृद्धि गर्नेसम्मका उपलब्धिका आधारमा भन्न सकिन्छ– हामीले मिलेर गरेको कामले प्रतिफल दिएको छ । अमेरिकाबाट आर्थिक सहयोग पाएका परियोजनाले नयाँ विधिहरूको सफलता प्रदर्शन गर्दै गर्दा हामी नेपाल सरकारले ती नवीनतम कार्यलाई स्वागत गर्दै नेपालभर फैलाउनेछ भन्ने आशा गर्छाैँ । बलिया सार्वजनिक–निजी साझेदारी निर्माण गर्नु नेपालका लागि आर्थिक वृद्धिलाई बढावा दिने अर्को प्रभावकारी तरिका हो । नेपालका लागि सकारात्मक विकास विधिहरूको पहिचान गर्न र नमुना स्थापित गर्न म अमेरिकी सहायतालाई सदुपयोग गर्ने सङ्कल्प गर्छु ।
राष्ट्रिय निर्वाचन समापनसँगै अब मुलुकले आफ्नो ध्यान लोकतान्त्रिक रूपान्तरणबाट सुशासनतर्फ पुनः केन्द्रित गर्ने पनि समय भएको छ । यो ठूलो चुनौती हो । तर सरकारको नेतृत्वकर्ताहरूले आफ्नो भूमिकालाई गम्भीरपूर्वक लिएमा र जनसाधारणले यसप्रकारको सकारात्मक परिवर्तनमाथि जोड गरेमा नेपालका लागि आर्थिक र जीवनको गुणस्तर दुवैको रूपान्तरण सम्भव हुन सक्छ ।
सन् १८०० को अन्त्यताका अमेरिकामा पनि आन्तरिक राजनीतिक समस्या देखापरेको थियो । त्यसबेला जब कुनै राजनीतिक दल सत्तामा पुग्थ्यो, तब त्यसले आफ्ना समर्थकलाई जागिर लगाइदिने र महत्वपूर्ण पदहरूमा नियुक्त गर्ने गथ्र्याे जबकि उनीहरूसँग त्यस्तो कामका लागि योग्यता र सिप भने हुँदैनथ्यो र उनीहरूको कार्यसम्पादनप्रतिको जवाफदेहिता पनि न्यून रहन्थ्यो । जब फरक दलको सरकार गठन हुन्थ्यो, तब व्यवस्थागत र बारम्बाररूपमा पदाधिकारी फेरिन्थे ।
सन् १८८३ मा राजनीतिज्ञहरूलाई यस दलीय, राजनीतिक व्यवस्थाका कारण चुकाउनुपर्ने उच्च मूल्यको विषयमा चेत भयो र उनीहरूले त्यसलाई निजामती सेवा सुधार ऐनमार्फत परिवर्तन गरी सरकारी पदमा सक्षमता र योग्यताका आधारमा नियुक्ति गर्ने थिति बसाले । सर्वश्रेष्ठ व्यक्तिहरूलाई पदमा नियुक्त गर्दै र समग्र मुलुकको हित गर्ने नीतिहरू तर्जुमा र कार्यान्वयनका लागि तिनलाई जवाफदेही बनाउँदै सरकारलाई जनताको सेवामा समर्पित गराउन आज नेपालमा पनि त्यस्तै किसिमको आमूल परिवर्तन आवश्यक छ । म नेपालभरका सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन चाहन्छु र शासनको खास काम सुरु हुँदै गर्दा उहाँहरूको सफलताको कामनासमेत गर्न चाहन्छु । नेपालको नेतृत्व र जनताले समृद्धिलाई राजनीतिभन्दा माथि राखेर जवाफदेही तथा पारदर्शी शासनको मजबुत जग बसाल्दै गर्दा म उहाँहरूलाई समर्थन गर्ने सङ्कल्प पनि गर्छु ।
नयाँ सरकार गठन भएपछि व्यवसायको वातावरण सुधार गर्न र पारदर्शी तथा जवाफदेही सरकारलाई बढावा दिनका लागि चालिने निडर र शीघ्र कदमले जनसाधारण तथा अन्तर्राष्ट्रिय समुदायको विश्वासलाई ठोस रूप दिनेछ । सन् २०१८ को प्रारम्भिक चरणमा नेपालमा अर्को सरकारले मुलुकलाई राजनीतिक स्थायित्व तथा समृद्धिको नयाँ युगतर्फ नेतृत्व गर्ने तयारी गरिरहेको छ । हामीबीचको सम्बन्धको अर्को ७० वर्षको युगसमेत सुरु हुन लागेको यस समयमा नेपालको सफलतालाई समर्थन गर्नका लागि संयुक्त राज्य अमेरिका आफ्नो विकास सहायता लगानीलाई विश्वव्यापी उत्कृष्ट अभ्याससँग मिलाएर लैजाने प्रयत्न बढाउने सङ्कल्प गर्छ । आगामी वर्षहरूमा हाम्रो साझेदारीलाई अझै गहिरो बनाउने र हाम्रा दुई देशबीचको बलियो सम्बन्धको जगमा त्यस साझेदारीको बललाई नवीकरण गर्ने कार्यमा हामी प्रतिबद्धता जाहेर गर्छौँ ।
नेपालका लागि अमेरिकी राजदूत

प्रकाशित: १३ पुस २०७४ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App