७ वैशाख २०८१ शुक्रबार
अन्य

चाकरीको भाषा

मेरा अत्यन्त प्यारा र प्रेरणादायी पाठकहरूलाई म आजभन्दा ५७ वर्षअघि लेखिएको प्रकाशित भएको मेरो नमस्ते भन्ने निबन्धसंग्रहको स्मरण गराउँछु । यस संग्रहका निबन्धमा मैले व्यवहार गर्न नजानेर खेप्नुपरेका अप्ठेराको बयान गरेको थिएँ । म भर्खर कलेजमा बिए पढ्दै गरेको नवयुवक थिएँ र सामाजिक व्यवहारका झ्याउ र झमेला देख्ता तर्सेर, वाल्ल परेर र लाजले भुतुक्क भएर परपर भाग्ने गर्थें । पचास–पचास वर्षका हन्डर र ठक्कर खाएर यो जिउ छियाछिया भइसक्यो । मेरो शरीरका हरेक भागमा आज तपाईं मुड्की, लात्ती र लौराका दाग, खत र घाउहरू मात्र फेला पार्नुहुनेछ । शरीरलाई थिलथिल्याएर, दगल्च्याएर र धुस्ल्याएर यतिका वर्षभरि परिस्थितिले मलाई पेल्नसम्म पेले । र आज म एउटा खण्डहर भएर तपाईंहरूका सामुन्नेमा उभिएको छु ।

 तारानाथको मुख छ, त्यसैले ऊ बोल्छ, बोलिरहन्छ । तारानाथको शिर छ, अझै काटिएको छैन, त्यसैले ऊ सगरमाथा ताकेर चिच्याउँछ, चिच्याइरहन्छ । तारानाथको मुटु छ, अझै फुटेको छैन, त्यसैले ऊ रुन्छ, रोइरहन्छ । परिवारको र सामाजिक भद्रताको आवश्यकतालाई हेरेर ऊ शिर झुकाउँछ पनि ।

मानिस एक्लै बाँच्न सक्तो रहेनछ, एक्लो भएमा बृहस्पति नै पनि झुटो मानिँदो रहेछ । स्वाभिमान थियो मेरो । म एक्लै क्षितिजहरू फार्दै नक्षत्र समात्न दुगुरिरहेको थिएँ । शरीरले जतिसुकै पिटाइ पाए पनि मन चाहिँ दह्रो थियो मेरो । म मनकै भरमा, इच्छाशक्तिकै आडमा र बौद्धिकताकै बल र बुतामा धेरै उफ्रेँ, धेरै नाचेँ र धेरै कुदेँ । 

अनि स–सानो भए पनि परिवार सम्हाल्नुप¥यो मैले । र तपाईंहरूलाई थाहै छ, परिवारको प्रेममा परेपछि स्वच्छन्द उफ्रन, एक्लै नाच्न र बुर्कुसी मार्दै कुद्न कसैलाई पनि मिल्दैन । 
‘तैँले लत्तो छोडिस् !’ एकजना टिप्पणी गर्छ  । 
‘तेरो लेखाइमा अब आगो पाइन छाड्यो नि !’ अर्को मान्छे आलोचना गर्छ । 

‘तँ त अब चाकरीको भाषा पो बोल्न थालिछस्, तँ त अब तलै पो थालिछस् !’ तेस्रो व्यक्ति मेरो छातीमै बिझ्ने गरी वचनको वाण प्रहार गर्छ । जर्जर भएको शरीरभित्र यस्ता आक्रमणले मानसिक हुरीको प्रवेश गराएर मलाई आज छताछुल्ल बनाएको छ । भावनामा भुँवरी परेपछि, हृदय हुँडालिएपछि र आत्मा नै अध्मरिएपछि यो ढल्ला र यसका हाँगाबिँगा चिरेर, काण्ड र जराहरू चोइट्याएर, गिँडेर र धुज्याएर दाउरा बाल्ने कल्पनामा परिस्थितिका पिशाचहरू मुख मिठ्याइरहेका छन् । म तमासा हेर्दै छु र कसैले नदेख्ने गरी बरर्र खसेका आँसुका दानालाई सुटुक्कसुटुक्क पुछ्दै पनि छु । 

हो, म एकान्तमा रुँदै छु । मेरो भावनाको स्रोत अझै सुकेको छैन । जो रुँदैन, रुन जान्दैन वा रुन सक्तैन त्यो ढुंगो हो, फलाम हो र जरा माथिबाट काटेर ढालिएको मुढो हो । ढुंगा, फलाम र मुढाहरू भेला भएर सभा गर्छन् र प्रस्ताव पारित गर्छन् । ‘तारानाथ रुन्चे भयो, पिन्चे भयो र अब घुँडा टेकेर चाकरीको भाषामा बोल्ने भयो ! 

‘तारानाथले चाकरीको भाषा बोलेको सुन्ने र देख्ने रूखका ठुटाहरूलाई देख्ता मलाई मुर्कुट्टाहरूको सम्झना हुन्छ । जसको टाउको नै काटिएको छ, त्यसले विद्रोह, आलोचना र व्यंग्यका आवाजको त के कुरो चाकरीको भाषा पनि बोल्न पाउँदैन । स्वाभिमान, स्वतन्त्रता र सभ्यताको प्रतीक शिर कटाएर विश्वविद्यालय, मन्त्रालय र राजनीतिक कार्यालय धाउने मनुष्यगिँडहरूलाई यो तारानाथ असाध्यै स्नेहसाथ अवलोकन गर्छ र उसको मुटुदेखि नै भक्कानिएर, छातीदेखि नै निचोरिएर र समस्त शरीरबाटै भुलभुलिएर आएको वेदनाको नदी उसका आँखाबाट बाढी भएर बग्न थाल्छ ।

यस प्रेमको नदीलाई रोक्ने उसको ह्याउ छैन, यस व्यथाको कर्णालीलाई सुकाउन सक्ने उसको शरीर छैन र उसको शिर अझै ठाडै भएकाले आँखामा बाँध बाँधेर मानवताको रसलाई थुन्ने उसको कुनै साधन पनि छैन । तारानाथको मुख छ, त्यसैले ऊ बोल्छ, बोलिरहन्छ । तारानाथको शिर छ, अझै काटिएको छैन, त्यसैले ऊ सगरमाथा ताकेर चिच्याउँछ, चिच्याइरहन्छ । तारानाथको मुटु छ, अझै फुटेको छैन, त्यसैले ऊ रुन्छ, रोइरहन्छ ।

परिवारको र सामाजिक भद्रताको आवश्यकतालाई हेरेर ऊ शिर झुकाउँछ पनि । झुकाउनुपर्ने ठाउँमा शिर तल पार्न जान्नुपर्छ । तारानाथ ढुंगो भए ठडिइनै रहन्थ्यो होला, तर ऊ शिर हो, त्यसैले झुक्छ । तारानाथ फलाम भए कठोर भइरहन्थ्यो होला, तर उसको हृदय पनि छ र नौनी भएर उसले पग्लनु पनि पर्छ । तारानाथ मनुष्य हो । ऊ मानवताको संवद्र्धनका लागि नौनी भएर पग्लिन्छ, नम्र भएर बोलिदिन्छ र शिष्ट भएर झुकिदिन्छ । 

तर व्यावहारिक हुने क्रममा नौनी, नम्र र शिष्ट भइदिँदा मलाई अपमानको कर्दले भित्रभित्रै छ्याकछ्याक पारेको पनि छ । तपाईंहरूलाई ती राणाबन्धुको सम्झना होला, जो सात सालको भुइँचालोले भग्न हुन पुगेका थिए । ‘तँ’ र ‘तिमी’ले बोलाउँदैबाट ‘तपाईं’ भनेर सम्मान गर्नुपर्दा र ‘हजुर’ र ‘बक्स्योस्’बाट ‘तपाईं’ भनिएर तल झर्नुपर्दा र जुन मानसिक आघात तिनलाई परेको थियो, तारानाथलाई पनि अचेल त्यस्तै घाउ छातीमा बोकेर हिँड्नुपरिरहेको छ ।

विद्यार्थीकालका ती साथी, जो निरन्तर मसितको बौद्धिक सहयोगविना डेग चल्न सक्दैनथे, आज मलाई निगुरमुन्टी नतुल्याई नमस्ते गराउन पाएकामा भित्रभित्रै मुस्काइरहेका छन् । च¨कएकै भए पनि यो छाती, भत्किएकै भए पनि यो शरीर र चोइटिएकै भए पनि यो मुटु बुद्धि, विद्या, अनुभव, प्रतिमा र उमेरमा समेत मभन्दा कता हो कता कान्छाहरूका अगाडि झुक्नुपर्दा मेरो प्राणसित किल्किलेमा आएर निसासिन्छन् । अनि जब म एकमुठी प्राण धान्ने भिक्षा माग्न विवश हुँदै यी थकित हातहरूलाई उचालेर जोड्छु, मेरा आँखा पट्ट फुट्लान् भनेझैँ गर्छन्, मेरा कञ्चटहरू पड्केर छरिएलान् झैँ बल्कन्छन् र मेरो मस्तिष्कमा चट्याङ पर्छ । 

चाकरीको भाषा त्यति भएर पनि मैले बोल्न जानिनँ । स्वाभिमानको अस्तित्वलाई कति गर्दा पनि मैले मेटाउन जानिनँ । म खण्डहर भएर पनि, भत्किएरै भए पनि र भोकै रहेर पनि बाँचिरहेकै छु । लत्तो छाडेँ, आगो निभाएँ र तल खसेँ कि रगतका आँसु बगाएर पनि व्यक्तित्व उभ्याएँ, मैले विज्ञापन नै गर्न जानिनँ । 

प्रकाशित: १५ पुस २०७४ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App