१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

हिउँ खेल्ने ?

पुस–माघमा पहाडी थुम्काहरु हिउँको बर्को ओढेर सुत्छन् । हिउँ खेल्दा रमाइलो हुन्छ । तर, खेल्दा होस पु¥याऔं नत्र दुर्घटनामा परिन्छ । नेपालमा धेरै छन् हिउँ खेल्ने ठाउँहरु । तीन ठाउँको यहाँ चर्चा गरिएको छ ।

हिउँमा लडिबुडि खेल्नु रमाइलो हुन्छ तर होस पु¥याएन भने दुर्घटनामा परिन्छ ।

पाथिभरा
अन्न भरिएको पाथीजस्तो देखिने ताप्लेजुङको डाँडालाई पाथिभरा (३,७९४ मिटर) भनिन्छ । पाथिभरामा देवीका मूर्ति छन् । जनविश्वास अनुसार पाथिभरा दर्शन गरे जन्मै हातखुट्टा नचल्नेका पनि हातखुट्टा सल्बलाउँछन्, दृष्टिविहीनका आँखामा ज्योति भरिन्छ । निःसन्तानलाई सन्तानलाभ हुन्छ । गरिब धनी हुन्छन् । शत्रु निर्बल हुन्छन् । मित्र पुनःमिलन हुन्छ ।  
डाँडाबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखला देखिन्छ । कुम्भकर्णलाई लिम्बूहरू फक्ताङलुङ भन्छन् । किराँत देवदेवी युःमा र थेःवाको क्रीडास्थल फक्ताङलुङ भएको मानिन्छ ।  
फागुनदेखि कात्तिकसम्म पाथिभरा दर्शन राम्रो मानिन्छ । असोज–कात्तिकमा हिमाल झलमल्ल टल्किन्छन् । डाँडामा ८ वटा धर्मशाला छन् । पानीको दुःख भएकाले अचेल त्यहाँ तीर्थालु बस्दैनन् ।
फुङलिङदेखि १९ किलोमिटर दुरीमा छ पाथिभरा । ठाउँ–ठाउँमा खाने÷बस्ने लज छन् । १६ किमि पर भालुगौंडेसम्म रिर्जभ जीप जान्छ । फेदीबाट करिब तीन घन्टामा डाँडामा पुगिन्छ ।
फेदीभन्दा माथि होटल छैनन् । फुङलिङ र सुकेटारमा राम्रा होटल छन् ।
छुर्पी, चौंरीको घ्यु, गलैंचा, राडीपाखी, मह, ढाका कपडा, सुकुटी, अकबरे खुर्सानी, सिमी, गुन्द्रुक, सिन्की ताप्लेजुङका कोसेली ।
कसरी पुग्ने ः काठमाडौं–बिर्तामोड बसमा १२ घन्टा । बिर्तामोडबाट बिहान साढे चार बजेदेखि १० बजेसम्म बस पाइन्छ । फुङलिङ पुग्न १० घन्टा । फुङलिङबाट भालुगौंडेसम्म जीपमा । त्यहाँबाट तीन घन्टा पदयात्रा ।

कालिञ्चोक  
दोलखाको कालिञ्चोक (३,७००मिटर) हिन्दु र बौद्धमार्गीको साझा तिर्थ । डाँडामा भगवतीको बास भएको जनविश्वास छ । हिन्दु पूजा गर्छन । बौद्धमार्गी लुङदार र धज्र्यू चढाउँछन् । नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा कालिञ्चोक मेला लाग्छ ।
डाँडाबाट सूर्योदय र सूर्यास्तका साथै लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथा हिमालसम्मको लामो लर्कन देखिन्छ । कालिञ्चोक बेस क्याम्प कुरीबाट ४५ मिनेट उकालो चढे मन्दिर पुगिन्छ । कुरीसम्म मोटर बाटो छ । कुरी बजारदेखि मन्दिरसम्म केबलकार बन्दैछ ।
कुरीमा तीन दर्जन होटल तथा लज छन् । कालिञ्चोक घुम्न निस्किँदा चरिकोट नजिकै दोलखा बजारको भीमेश्वर दर्शन योजना पनि बनाउनु पर्छ । चरिकोटबाट ४.५ किमिमा पर्छ बजार । दोलखा र चरिकोटमा होटल तथा लज छन् । चरिकोट–जिरी ५५ किमि । त्यहाँसम्म घुमेर फर्के पनि भो ।  
कालिञ्चोक जाँदा न्याना कपडा बोक्नु पर्छ । फर्कंदा चरिकोट र मुडेबाट छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगाबाट बनेका सामाग्री कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्ने ः काठमाडौं–चरिकोट १३३ किमि । चरिकोट–कालिञ्चोक १७ किमि । पुरानो बसपार्क काठमाडौंबाट ५ घन्टा बसमा चरिकोट । चरिकोट–कुरी दुई घन्टा जीपमा । चरिकोटबाट बिहान ७ः३० बजे कुरीका लागि बस छुट्छ । त्यो बस कुरीबाट दिउसो १ बजे फर्केर काठमाडौं आउँछ । चरिकोटबाट कुरीसम्म पदयात्रा गर्न ५ घन्टा ।   

मर्दि हिमाल
काठमाडौंबाट मर्दि हिमाल पदयात्रा गर्न ६ दिन छुट्टयाउनु पर्छ । हिँडेको तेर्सो दिनमै आधारशिविर पुगिन्छ । दिनको १५ सय रुपैयाँले खर्च पुग्छ । माछापुच्छे«सँगै टाँसिएको छ मर्दि (५,५८७ मिटर ) ।
मर्दि आधारशिविर (४,२५०मिटर)बाट अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, सिंगचुली, टेन्ट पिक, गंगापूर्ण, गन्धर्व चुली, माछापुच्छे« र मर्दि हिमाल देखिन्छ । हिउँ खेल्दै हिमाल हेर्नुको मज्जा बेग्लै हुन्छ ।
मर्दि जाने दुई बाटा छन्, पोखरा बागलुङ राजमार्गको काँडे हुँदै पोथाना भएर र हेम्जा हुँदै घलेलबाट । जताबाट हिँडे पनि फरेष्ट क्याम्प पुगिन्छ । अर्को दिन हाई क्याम्प ।
काठमाडौंबाट हिँडेकै दिन घलेल बास बस्न पुग्ने । भोलिपल्ट कालीमाटी, फरेष्ट क्याम्प हुँदै बास बस्न लो क्याम्प (२,९८५ मिटर) । लो क्याम्पबाट खाना खान हाई क्याम्प पुगिन्छ । त्यहाँबाट तीन घन्टामा मर्दि बेस क्याम्प ।
फर्कंदा घलेलको कुदी खोला क्यानोनिङमा क्यानोनिङ गर्न सके राम्रो हुन्छ । त्यहाँ पोखरा क्यानोनिङका राम गुरुङले ४५ मिटर लामो झरनामा क्यानोनिङ गराउँछन् । उनका अधिकांश ग्राहक नेपाली हुन् । घलेलमा होमस्टे सुविधा छ ।   
कसरी पुग्ने ः काठमाडौं–पोखरा २१० किमि । पोखरा–घलेल २२ किमि । काठमाडौं–पोखरा टुरिस्ट बसमा । पोखराबाट ट्याक्सीमा हेम्जा । हेम्जाबाट जीपमा घलेल । हेम्जा–घलेल १४ किमि । घलेलबाट दोस्रो दिनमा हाई क्याम्प ।

प्रकाशित: १५ पुस २०७४ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App