७ वैशाख २०८१ शुक्रबार
समाज

बादलभित्र छिर्दा हेलिकोप्टर दुर्घटना

सुशील भट्टराई/निराजन पौडेल

काठमाडौं/नुवाकोट- निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक कम्पनी फिसटेल एयरको एउटा हेलिकोप्टर सोमबार दुर्घटनाग्रस्त हुँदा चालकसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। काठमाडौंबाट बिरामी लिन गोरखा गएर फर्कने क्रममा हेलिकोप्टर नुवाकोट पुगेपछि दुर्घटनामा परेको हो। 'कलसाइन ९एन–एकेए' भएको यो हेलिकोप्टर क्याप्टेन रञ्जन लिम्बूले उडाएका थिए। त्यसमा सुत्केरी र चारदिने नवजात शिशुसहित अन्य चार यात्रु थिए।

दुर्घटनामा झापा, चारआलीका क्याप्टेन लिम्बू, गोरखाकी १९ वर्षीया सुत्केरी प्रीति गुरुङ, उनका नवजात छोरा, ससुरा ६५ वर्षीय कितमान गुरुङ र सासू ५६ वर्षीया अज्ञानी गुरुङ तथा स्वास्थ्यकर्मी निशा तामाङ र स्थानीय लक्ष्मी गुरुङले ज्यान गुमाएका छन्। 

'हामीलाई प्राप्त जानकारीअनुसार जुन रुटबाट हेलिकोप्टर फर्केको थियो त्यहाँको मौसम खराब थियो,' फिसटेलका अध्यक्ष विकास राणाले सोमबार नागरिकसँग भने, 'हेलिकोप्टर ६ हजार ७ सय फिटमाथि उडिरहेका बेला बादलभित्र प्रवेश गरेर सम्पर्कविहीन हुन पुग्यो। करिब पौने घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो।'

लामो अवधिदेखि हेलिकोप्टर उडाइरहेका एक वरिष्ठ पाइलटका अनुसार मौसम खराब हुँदाहुँदै पाइलटले बादल (कुहिरो) भित्र लैजान हुँदैनथ्यो। 'त्यही रुटमा धेरै पटक उडान गरिसकेका क्याप्टेन लिम्बूले बादल देख्दादेख्दै त्यसभित्र हेलिकोप्टर प्रवेश गराउनु नै आश्चर्यजनक छ,' ती क्याप्टेनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, 'प्रतिकूल मौसम र तीव्र गतिमा उडिरहेको जहाज वा हेलिकोप्टर चालकले तुरुन्त निर्णय गर्न नसके दुर्घटनाको सम्भावना प्रबल रहन्छ। यो दुर्घटना पनि यस्तै कारणले हुन पुगेको हो।'

फिसटेलका प्रमुख कार्यकारी अधिकृत सुमन पाँडेका अनुसार उक्त हेलिकोप्टर चार्टर उडान गरी सोमबार बिहान ११ः३० बजे बिरामी लिन गोरखाको उत्तरी गाविस फिलिम गएको थियो। बिरामी लिएर उडेको हेलिकोप्टरले मध्याह्न १२ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल टावरसँग अन्तिमपटक सम्पर्क गरेको थियो।

'घटनास्थलमा कसैको पनि शव चिन्न सकिने अवस्थामा थिएन, सबैको टाउकोबिनाको शरीर क्षतविक्षत अवस्थामा थियो,' उद्धार टोलीसहित सबैभन्दा पहिला घटनास्थल पुगेका नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले नागरिकसँग भने, 'हेलिकोप्टरको पुच्छरबाहेक सबै भाग जलेको थियो। सुत्केरी र बच्चाको शव घटनास्थलमै भेटिए पनि बाँकी शव डेढ सय मिटर पर उछिट्टिएको अवस्थामा थिए।'

उनका अनुसार उद्धार टोली पुग्दा हेलिकोप्टर बलिरहेकै थियो। स्थानीयको सहयोगमा आगो निभाएपछि शव संकलन गरिएको थियो। घटनास्थल मूलसडकबाट ९ सय मिटर उचाइमा पर्छ। घटनास्थलबाट डढेका केही नोट (रुपैयाँ), एकथान मोबाइल सेट पनि बरामद गरिएको छ।

'हेलिकोप्टर मध्याह्न १२ः३७ बजे दुर्घटनामा परेको भए पनि स्थानीयले हामीलाई खबर गर्दा दिउँसो १ बजेको थियो,' बोहराले भने, 'त्यही पनि हामी दोधारमा पर्‍यौं, त्यही ठाउँ हो कि होइन भनेर। स्थानीयले आगलागी भइरहेको छ भनेपछि हामी घटनास्थल (मदानपुर–९ स्थित बेतिनी जंगल) पुगेका थियौं।'

उद्धारमा आएको फिसटेलकै अर्को हेलिकोप्टरले दिउँसो पौने ४ बजेतिर सबै शव राजधानी लगेको थियो। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ। मंगलबार पोस्टमार्टम सकेर आफन्तलाई जिम्मा लगाइने फिसटेलले जनाएको छ।

'कुहिरो लागिरहेको थियो, एउटा हेलिकोप्टर सिधै कुहिरोभित्र छिर्‍यो,' दुर्घटनाका प्रत्यक्षदर्शी स्थानीय प्रेमबहादुर तामाङले भने, 'लगत्तै ड्याङ्ङ ठूलो आवाज आयो र आगलागी भएको देखियो। त्यसपछि प्रहरीलाई खबर गर्‍यौं।'

फिसटेलका सिइओ पाँडेका अनुसार फ्रान्सको युरोकप्टर कम्पनी (हाल एयरबस हेलिकोप्टर्स कम्पनी) मा निर्मित 'एएस ३५० बि२' मोडेलको उक्त हेलिकोप्टर कम्पनीको छैटौं थियो। यसलाई २०६८ चैत पहिलो साता खरिद गरी काठमाडौं ल्याइएको थियो। २२ हजार फिट उचाइसम्म उड्न सक्ने उक्त हेलिकोप्टरमा अत्याधुनिक उपकरणजडित थिए।

को हुन् चालक लिम्बू?

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन रञ्जन लिम्बू झापा चारआलीका बासिन्दा थिए। २६ वर्षीय अविवाहित उनले हालसम्म ३ हजार घन्टा हेलिकोप्टर उडाएको अनुभव सँगालेका थिए।

फिसटेलका सिइओ सुमन पाँडेका अनुसार सन् २०१० बाट फिसटेल प्रवेश गरेका लिम्बूले क्याप्टेन भएयता १ हजार घन्टा उडान गरिसकेका थिए। उनी फिसटेलकै उत्पादन हुन्।

'६ वर्षअघि फिसटेलकै हेलिकोप्टर उडाउने सम्झौता गरी लिम्बू तालिम लिन विदेश गएका थिए र तालिम सकेर आएपछि को–पाइलटमा नियुक्त भएका थिए,' सिइओ पाँडेले भने, 'नियुक्त भएयता उनले २ हजार घन्टा हेलिकोप्टर उडाए र त्यसपछि क्याप्टेनमा बढुवा भएका थिए।'

प्रकाशित: २५ श्रावण २०७३ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App