coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रकम फिर्ता नपाउँदा पीडित तनाबमा

काठमाडौं- नेपालमा ठगी गरी जापान बस्दै आएका गोविन्द तिवारीलाई स्वदेश फर्काउन जापानस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल नगर्दा पीडित झन् पीडित बनेका छन् । परराष्ट्र मन्त्रालय मौन बस्दा र तीवारीलाई लुकाउन गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारी नै लाग्दा पीडितमध्ये केही मानसिक रोगीसम्म बनेका छन् त केहीले आत्महत्याको  प्रयाससमेत गरेका छन् ।

ठग (गोविन्द तीवारी) ले त हामीलाई ठग्यो नै, राज्यले पनि हामीलाई ठग्यो । सम्पूर्ण प्रमाण जुटाएर दिँदा पनि ठगी गर्नेमाथि राज्य पक्षबाट कारबाही हुनसकेको छैन । -अमृता ढकाल, पीडित


‘हामीले जापानको इन्टरपोलसँग आरोपित तिवारीलाई नेपाल ल्याउने कुरा गर्दा कूटनीतिक पहल गर्नोस् हामी सघाउँछौं भन्छन्,’ नेपाल प्रहरी, अपराध अनुसन्धान विभाग इन्टरपोल प्रमुख किरण बज्राचार्यले नागरिकसँग भनिन्, ‘हामीले डिफ्युजन नोटिससमेत जारी गरिसकेका छौं । यो नोटिसका कारण अहिले आरोपित गोविन्द तीवारी जापानको प्रहरी निगरानीमा छन् । तीवारीलाई नेपाल ल्याउन हाम्रो दूतावासले जुन चासो देखाउनुपथ्र्यो त्यस्तो देखिँदैन ।’

जापानमा आकर्षक काममा लगाइदिने भन्दै तीवारीले नेपालमा कयौंलाई ठगिसकेका छन् । उनले ठगेका मध्ये ३० भन्दा बढीले वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी दिइसकेका छन् । उजुरीअनुसार २ करोड रुपैयाँभन्दा बढी तीवारीले बुझेको देखिन्छ । विभाग र प्रहरीले तीवारीको खोजी गरे पनि उनी जापानमा बसेका कारण पक्राउ गर्न समस्या भएको छ । पीडितले बारम्बार ताकेता गरेपछि तीवारीलाई नेपाल झिकाई कारबाही अघि बढाउन नेपाल प्रहरीको इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको भए पनि अन्य सरोकारवाला निकायबाट भने खासै चासो दिइएको छैन ।
‘ठगले त हामीलाई ठग्यो नै, राज्यले पनि हामीलाई ठग्यो । ठगी गरेको सम्पूर्ण प्रमाण जुटाएर दिँदा पनि ठगी गर्नेमाथि कारबाही हुनसकेको छैन,’ तीवारीबाट ठगिएकी गोरखाको सौरपानी–४ कि अमृता ढकालले भनिन्, ‘ठगिएका मध्ये केही मानसिक रुपमा विक्षिप्त भएका छन् । कोही घरबाट निकालिएका छन् । कसैले पीडा सहन नसकी आत्महत्याको प्रयाससमेत गरेका छन् ।’ विदेश पठाइदिने भन्दै तिवारीले ३९ लाख रुपैयाँ लगेको उनले बताइन् । तीवारीबाट ठगिएकी झापाकी एक महिलालाई परिवारले घर निकाका गरेका छन् । जापान लगिदिने भन्दै तीवारीले ती महिलाबाट २४ लाख रुपैयाँ लगेका थिए । यस्तै तीवारीलाई २० लाख रुपैयाँभन्दा बढी बुझाएकी पोखरातिरकी एक महिलाले पैसा फिर्ता नपाएपछि भोग्नुपरेको मानसिक यातना सहन नसकी आत्महत्या प्रयास गरेकी छन् ।
‘हामीकहाँ जाने । घर गयो, पैसा फिर्ता ल्याइस् भन्छन् । बैंकले पैसा बुझाउन ताकेता गरेको ग¥यै छ । हामी घरबाट पनि तिरस्कृत हुनथालेका छौं,’ पीडित ढकालले भनिन् ।
ढकाल परराष्ट्र मन्त्रालय र जापानस्थित नेपाली दूतावासले आवश्यक पहल नगर्दा झन् पीडित हुनुपरेको बताउँछिन् । जापानस्थित नेपाली दूतावासले पठाएको पत्रसमेत परराष्ट्रले तीन महिनासम्म लुकाई जानकारी नदिएको उनले बताइन् । ‘जापानस्थित दूतावासमा गोविन्द तीवारीलाई पक्राउ गरी नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएका थियौं । दूतावासले त्यहाँको अवस्था बुझी परराष्ट्रलाई पत्र पठाएको रहेछ । पत्र प्राप्त भएको तीन महिनासम्म हामीलाई पत्र आएको छैन भनियो । पत्र नदेखाए परराष्ट्रमै धर्ना दिन्छु भने पनि तीन महिनापछि मात्र दूतावासले पठाएको पत्र हामीलाई देखाइयो,’ ढकालले भनिन् ।
दूतावासले गत साउन १६ गते परराष्ट्रलाई पत्र पठाई तीवारीका सम्बन्धमा जानकारी गराएको थियो । दूतावासको उक्त पत्रको आधारमा परराष्ट्रले गृह मन्त्रालयलाई कात्तिक २६  गते पत्र पठाएको छ ।  जापानका लागि नेपाली राजदूत प्रतिभा राणाद्वारा हस्ताक्षरित पत्रमा जापानमा अपराध गरेको व्यक्तिलाई मात्र जापान प्रहरीले पक्राउ गर्नसक्ने तर नेपालमा अपराध गरेकालाई पक्राउ तथा नेपाल फिर्ता पठाउन जापानको कानुनसम्मत नहुने तर्क गरिएको छ । यस्तो जानकारी जापानको विदेश मन्त्रालयका अधिकारीबाट मौखिक रुपमा प्राप्त भएको राणाले पत्रमा उल्लेख गरेकी छिन् ।
‘जापान सरकारको नियम, कानुनको मर्यादा यस दूतावासले समेत गर्नुपर्ने बेहोरा सर्वविदितै छ । तसर्थ, आरोपित तिवारीलाई वैदेशिक रोजगार कसुरमा पक्राउ गरी नेपाल पठाउन पहल गर्न यस दूतावासलाई अनुरोध गर्नुको सट्टा नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरी उनलाई नेपाल फिर्ता लैजान इन्टरपोल नेपालले सिधै इन्टरपोल जापानमार्फत प्रक्रिया अघि बढाउन उपयुक्त हुने व्यहोरा अनुरोध गरेकी छु,’ राजदूत राणाले भनेकी छन् ।
राजदूतको यही बेहोरालाई आधार बनाएर परराष्ट्रले आवश्यक कार्य अघि बढाउन भन्दै गृह मन्त्रालयलाई पत्र पठाएको थियो । गृहले पनि मंसिर ८ गते वैदेशिक रोजगार कसुरका फरार प्रतिवादी तिवारीलाई नेपाल फिर्ता ल्याउन प्रक्रिया अघि बढाउन आवश्यक व्यवस्था गर्न भन्दै नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखालाई पत्र लेखेको थियो ।
नेपाल–इन्टरपोलले तीवारीको नाममा डिफ्युजन नोटिस जारी गरिसकेको छ । यो नोटिस जारी गरेपछि जापान प्रहरीले तीवारलाई निगरानीमा राखेको छ । जापान प्रहरीले यही नोटिसकै आधारमा तीवारीलाई तेस्रो देशमा जान दिने छैन । तर नेपाल फिर्ता पठाउन भने जापान–इन्टरपोलले पनि कूटनीतिक तहबाट आउन भनेको छ । अदालतले दोषी ठहर नगरेसम्म तीवारीको नाममा रेड कर्नर नोटिस जारी गर्न नमिल्लने नेपाल प्रहरीको इन्टरपोल प्रमुख बज्राचार्य बताउँछिन् । ‘ठगीको यति ठूलो मुद्दामा राज्यको तह निकै माथि उठेर काम गर्नुपर्छ । कूटनीतिक तहबाट समस्या हल गर्ने कार्य नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको हो । अपराध न्यूनीकरण गर्ने विषयमा दूतावासको चासो कम देखिन्छ । दूतावासले यसलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्छ,’ बज्राचार्यले भनिन्, ‘कम्तीमा पनि गृहको अनुरोधमा परराष्ट्रले तिवारीले प्रयोग गरेको नेपाली पासपोर्ट रद्द गर्नसक्छ । पासपोर्ट रद्द गर्ने हो भने पनि उनी जापानमा अवैध हुन्छन् र नेपाल ल्याउन सहज हुन्छ ।’
मल्लले फेरि भुक्याए

जापानमा आकर्षक कममा लगाइदिने भन्दै सोझासाझा नेपालीलाई ठगी गर्न गोविन्द तिवारीलाई साथ दिएका तिलक मल्लले फेरि पीडितलाई झुक्याएका छन् । उनले गत साउन महिना केही रकम पीडितलाई फिर्ता गरी बाँकी रकम ६ महिनाभित्र उपलब्ध गराउने वाचा गरेका भए पनि पीडितले बाँकी रकम हालसम्म पाउन सकेका छैनन् ।
मल्लले साउनमा चारजना पीडितलाई पुस ९ गतेको मिति राखी बाँकी रकम उल्लेख गरी चेक उपलब्ध गराएका थिए । उनले नेपालमा यो सब कार्य गर्न सुवास विकलाई खटाएका थिए । मल्लले चेक सुवासमार्फत नै पीडितलाई उपलब्ध गराएका थिए । मल्लको निर्देशनमा सुवासले आफ्नो नाममा रहेको ग्लोबल आइएमी बैंकको चेक काटी पीडितलाई उपलब्ध गराएका थिए ।
‘चेक साट्न जाँदा बैंकले खातामा पैसा छैन भन्यो,’ पीडित कल्पना पाठकका श्रीमान् नारायण कणेलले भने, ‘हामी फेरि ठगियौं ।’
तिवारीले जापान  लगिदिने भनेपछि पाठकले ५ लाख ११ हजार, अनिता राना श्रेष्ठले ४ लाख ८७ हजार ५ सय र विनिता आचार्य ओलीले ४ लाख ५९ हजार ८ सय ७६ रुपैयाँ बुझाएका थिए । उनीहरूले उक्त रकम मल्लका छोरा सुदर्शनको बैंक खातामा राखिदिएका थिए । पछि आफू ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । त्यसपछि विभागले मल्लको नाममा रहेको घरजग्गा रोक्का राखेको थियो ।
जापान लैजाने भन्दै ठगी गर्ने गिरोहमा मल्लको नाम पनि जोडिएपछि साउनमा उनले सुवास विकलाई पीडितसँग कुरा मिलाउन खटाएका थिए । मल्ल र उनका छोरा दुवै जापानमा छन् । सुवासले साउनमा जरिवानासहित पाठकलाई ७ लाख ६६ हजार ५ सय, श्रेष्ठलाई ७ लाख ३० हजार ७ सय ५० र ओलीलाई ६ लाख ९९ हजार ८ सय १४ रुपैयाँ दिने सहमति गरेका थिए । मल्लको निर्देशनमा सुवासले पीडितलाई पूरै रकम बुझेको किर्ते कागजमा हस्ताक्षर गर्न लगाई वैदेशिक रोजगार विभागबाट मुद्दा फिर्ता झिक्न लगाए पनि उनीहरूले हालसम्म पूरै रकम पाउन सकेका छैनन् ।
सुवासले पीडितलाई केही रकम नगद उपलब्ध गराएका थिए भने बाँकी रकम पुस ९ गतेको मिति राखी चेक काटी दिएका थिए । जुन खाताको चेक काटिएको थियो त्यो खातामा अहिले पैसा छैन । सुवासले आचार्यको नाममा २ लाख ८५ हजार, ओलीको नाममा २ लाख ८५ हजार र श्रेष्ठको नाममा ३ लाख १२ हजार ५ रुपैयाँको चेक काटिदिएका छन् । ‘उता (जापान) बाट पैसा आएको छैन, सोमबारसम्म कुर्नुहोस् भनेका छन् सुवासले,’ कणेलले भने ।

प्रकाशित: १७ पुस २०७४ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App