coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘म हुरीमा दियो’को ह्याट्रिक

काठमाडौं- गायक रामकृष्ण ढकालको गीत ‘म हुरीमा दियो बलेको देख्छु’ले राजधानीमा शनिवार सम्पन्न ‘आठौ विन्ध्यवासिनी म्युजिक अवार्ड’मा ह्याट्रिक गरेको छ । गीतका लागि सुगम संगीततर्फ गायक ढकालले ‘सर्वोत्कृष्ट गायन पुरुष’, संगीतकार राजेश थापाले ‘सर्वोत्कृष्ट संगीत’ र गीतकार रमेश बिजीले ‘सर्वोत्कृष्ट रचना’को अवार्ड जिते । ढकालले एल्बम ‘आवरण’का लागि सुगम संगीततर्फ ‘सर्वोत्कृष्ट एल्बम’को अवार्ड पनि पोल्टामा पारे ।
सुगम संगीततर्फ ‘सर्वोत्कृष्ट गायिका’को अवार्ड गायिका श्रेयशी चेम्जोङ लिम्बू जितिन् । उनको ‘फुल्नु भन्दा त’ बोलको गीत बाँकी प्रतिस्पर्धीभन्दा उत्कृष्ट ठहरिएको थियो । गीतकार वीरेन्द्र पाठकले ‘आज फेरि एकान्तमा’ बोलको गीतबाट ‘सर्वोत्कृष्ट गीत’को अवार्ड चुम्दा ‘सँगै बाँच्ने कसम’का लागि कमल सौगात ‘सर्वोत्कृष्ट एरेञ्जर’ र गायिका मेलिना राई र गायक एस राजकुमार ‘तिमीले सम्झेर हो कि’का लागि ‘सर्वोत्कृष्ट युगल गायन’को अवार्ड पाए ।
पपतर्फ गायक सुरजकुमार थापा ‘तस्बिर तिम्रो’का लागि ‘सर्वोत्कृष्ट पप गायन पुरुष’, गायिका आकांक्षा बस्याल ‘म पग्लन्छु’का लागि ‘सर्वोत्कृष्ट पप गायन महिला’, संगीतकार राजु सिंह ‘भुल्यौकि भुलेकी छैनौ’का लागि ‘सर्वोत्कृष्ट संगीत पप’ को हकदार भए ।
लोकदोहोरीतर्फ गायक राजन गुरुङ ‘उही खोलाको पानी’का लागि ‘सर्वोत्कृष्ट लोकदोहोरी गायक’, गायिका शर्मिला गुरुङ ‘हैन अरुको’का लागि ‘सर्वोत्कृष्ट लोकदोहोरी गायिका’, संगीतकार कस्तुप पन्त ‘जवानीमा धक्का’का लागि ‘सर्वोत्कृष्ट लोक दोहोरी भाका’, प्रल्हाद सुवेदी ‘मेरो झल्को आएमा’का लागि ‘सर्वोत्कृष्ट लोकदोहोरी रचना’, गीतकार तथा संगीतकार एकनारायण भण्डारीको ‘लाली जोवन’  ‘सर्वोत्कृष्ट लोकदोहोरी गीत’ तर्फ उत्कृष्ट ठहरियो ।
पाश्र्व संगीततर्फ गायक राजेशपायल राई फिल्म ‘दर्पणछाँया २’को शीर्षगीत ‘दर्पणछाँया’का लागि ‘सर्वोत्कृष्ट पाश्र्वगायन पुरुष’, गायिका मिना निरौला फिल्म ‘लुट २’को ‘ठमेल बजार’का लागि ‘सर्वोत्कृष्ट पाश्र्वगायन महिला’, संगीतकार राजनराज शिवाकोटी फिल्म ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’का लागि ‘सर्वोत्कृष्ट फिल्म संगीत’को विजेता बने ।
मोडलद्वय रोसिना एनसी र दुर्गेश थापा गीत ‘बाल मतलब’का लागि ‘सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियो’, गीतकार विष्णु पौडेल ‘बुद्ध खेल्ने आँगन’का लागि ‘सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत’, प्रकाश भट्ट ‘तामे करुवा’का लागि ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोकदोहोरी’, निर्देशक क्रान्ति केसी ‘रातो रातो खुर्सानी’का लागि ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम संगीत’, छाँयाकार राजेश घिमिरे ‘अपुरै भो’का लागि ‘सर्वोत्कृष्ट छाँयाकार म्युजिक भिडियो’, दीपक विष्ट ‘मनमा कुरा खेलाउँदै’का लागि ‘सर्वोत्कृष्ट सम्पादक म्युजिक भिडियो’, साजन शाह ‘दर्शन नमस्ते’का लागि ‘सर्वोत्कृष्ट ध्वनि मुद्रण’, युवराज मगर ‘जुल्फी कपाल काटेको’का लागि ‘सर्वोत्कृष्ट नवप्रतिभा लोक तथा दोहोरी’ विजेता भए ।
यसैगरी भावना म्युजिक सोलुसन ‘सर्वोत्कृष्ट म्युजिक कम्पनी’, मोडलद्वय रुपा कँडेल र देवेन्द्र क्षेत्री ‘नबोल्देऊ रिसाएर’का लागि ‘सर्वोत्कृष्ट मोडल लोकदोहोरी’, गुणराज श्रेष्ठ ‘निष्ठुरीले मान्दै मानिन’का लागि ‘सर्वोत्कृष्ट नवप्रतिभा पप तथा सुगम संगीत’, चन्द्रज्योति आले ‘तिम्रो माया पाउनलाई’का लागि ‘सर्वोत्कृष्ट महिला गीतकार सुगम संगीत’ भए ।
डीआर अटु ‘विन्ध्यवासिनी म्युजिक अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान’बाट सम्मानित हुँदा अजर जंगमले ‘आज फेरि एकान्तमा’का लागि ‘जुरी अवार्ड’ पाए । मोडल सारिका केसी र विमल अधिकारीले ‘मर्ने मिति’का लागि ‘पब्लिक च्वाइस अवार्ड’ जितेका थिए ।
कार्यक्रममा गीतकार रत्न शमशेर थापालाई ५१ हजार  १ सय ५१ रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । यसैगरि, गायिका रिमा गुरुङ होडालाई १५ हजार ५ सय ५५ रुपैंयाँ राशिको ‘विन्ध्यवासीनी संगीत रत्न सम्मान’, पत्रकार डब्बु क्षेत्रीलाई २५ हजार ५ सय २५ रुपैयाँ राशिको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान’ र निर्देशक सुदर्शन थापालाई १० हजार १ रुपैंयाँ राशिको ‘विन्ध्यवासिनी चलचित्र सम्मान’ सम्मान गरिएको थियो ।

प्रकाशित: १७ पुस २०७४ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App