coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जुत्ता उद्योगमा कालीगढ अभाव

काठमाडौं – रन सुजमा दुई सय ५० कालीगढ (कामदार)ले काम गर्छन् । तीमध्ये ७६ जना भारतीय छन् । यहाँ कालीगढ नपाएपछि भारतबाट कामदार ल्याएको उद्योगी बताउँछन्।

उद्योग सञ्चालनका लागि कामदार अभाव सधैं खड्किरहने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए। ‘यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ न्यौपानेले भने, ‘जुत्ता उद्योगको मुख्य समस्या नै कामदार हो।’ 
नेपाली कालीगढ सबैलाई तालिम दिएर उद्योगले नै तयार गर्छन् । यहाँका युवा विदेश गइरहेको बेला जुत्ता उद्योगमा भने कालीगढको अभाव छ । सीपयुक्त कालीगढ नपाएपछि भारतबाट ल्याएर काम गराइरहेको उद्योगी बताउँछन्।

नेपालमा वर्किङ कल्चर नहुँदा पनि यस्तो समस्या भएको न्यौपानेले बताए । ‘कालीगढले अधिकतम ३९ हजार रुपैयाँसम्म मासिक कमाउँछन्,’ न्यौपानेले भने, ‘तर नेपाली युवा २५–३० हजार रुपैयाँ कमाउन बिदेसिइरहेका छन्।’

नेपाली जुत्ता उद्योग आत्मनिर्भरताको बाटोमा जान कालीगढ पनि एउटा समस्या भएको उद्योगी बताउँछन् । उद्योगमा कामदार आउने जाने क्रम चलिरहँदा उद्योगीहरु बजार, गुणस्तर कायममा व्यस्त हुनुपर्नेमा जनशक्ति व्यवस्थापनमा समय खर्चिनुपरेको छ।

अधिकांश उद्योगले कामदारलाई आफैं तालिम दिने गरेका छन् । यहाँ व्यक्तिगत रुपमा सञ्चालन गरेका, मझौला र कर्पोरट रुपमा सञ्चालन रहेका छन् । व्यक्तिगत उद्योगले पारिवारिक जनशक्तिले काम चलाए पनि मझौला र कर्पोरेट उद्योगले सधैं कामदार अभाव झेलिरहेका छन्। 

यहाँ ठूला उद्योग करिब एक सय ५० रहेका छन् । जुत्ता उद्योगमा ५५ हजारले रोजगारी पाएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले बताए । ‘जुत्ता उद्योगमा काम गर्ने २३ प्रतिशत भारतीय कालीगढ छन्,’ श्रेष्ठले भने, ‘हामीले सधैं कालीगढ अभाव झेलिरहेका छौं।’ 

नेपाली जुत्ताले बजारको हिस्सा ओगट्दै गएकाले यस क्षेत्रमा रोजगारीको अवसर पनि बढ्दै जाने श्रेष्ठले बताए । ‘अहिले बजारको ६२ प्रतिशत नेपाली जुत्ताले ओगटेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘उत्पादन बढाउँदै जाँदा कामदारको अभाव अझ थपिने छ।’

नेपालीको तुलनामा भारतीय कालीगढ सीपयुक्त रहेको उनले बताए । ‘सरकारी निकायबाट तालिम दिने व्यवस्था छैन,’ श्रेष्ठले भने, ‘उद्योगले आफैं जनशक्ति तयार गर्नुपर्ने बाध्यता छ ।’ युवालाई विदेश पठाउनभन्दा सीप सिकाएर यस क्षेत्रमा आउन उनले आग्रह गरे । ‘मेरै उद्योगमा काम गर्ने महिलाले ३४–३५ हजार रुपैयाँ कमाउँछन्,’ कोसेली सुजका सञ्चालकसमेत रहेका श्रेष्ठले भने, ‘यहाँका युवा स्वदेशमा काम नगरेर बिदेसिएका छन्।’

सरकारले यो उद्योगको लागि तालिम केन्द्र सञ्चालन नगर्दा पनि यस्तो समस्या भएको हो । काम गर्ने कालीगढलाई रोजगारी ग्यारेन्टीको अनुभूति नभएकाले पनि सकेसम्म अन्य क्षेत्रमा जाने गरेका हुन् । दक्ष जनशक्ति तयार गरेर स्थायी रुपमा काम गरे उद्योगीलाई धेरै सजिलो हुने फुटवेयर एसोसियसनका महासचिव मनोजकुमार श्रेष्ठले बताए । ‘विदेश जान भिसा नलाग्दसम्म काम गर्ने प्रचलन छ,’ श्रेष्ठले भने, ‘तालिम लिएको जनशक्ति पाउनै कठिन छ।’

ठूला लगानी मात्र नभएर साना लगानीका जुत्ता, चप्पल उद्योगमा पनि कालीगढको अवस्था उस्तै छ । साना उद्योगको समस्या पनि कालीगढ नै भएको नेपाल जुत्ता, चप्पल उद्योग व्यवसायी संघले जनाएको छ । नेपाली युवामा स्वदेशमै काम गर्नुपर्छ भन्ने मान्यता मर्दै गएको उद्योगी बताउँछन् । देख्दा सामान्य लाग्ने तर पर्याप्त कमाइ हुने क्षेत्रमा युवाको आकर्षण नहुँदा समस्या भएको हो । आकर्षक आम्दानी भएपनि साथीभाई, छरछिमेकीले के भन्ला भनेर पनि बिदेसिने गरेको व्यवसायीको अनुभव छ।

फुटवेयर जोनको माग
जुत्ता उद्योगलाई व्यवस्थित गर्न फुटवेयर जोन स्थापना गर्न उद्योगीले माग गरेका छन् । फुटवेयर जोन सञ्चालनमा ल्याए जुत्ता, चप्पल उद्योग अझै फस्टाउने व्यवसायी बताउँछन् । सरकारी लगानीमै जुत्ता, चप्पल उद्योगमा काम गर्ने कामदारका लागि प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। 

यहाँको बजारमा विदेशी जुत्ता आयात भइरहेकाले त्यसलाई व्यवस्थित गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । विदेशबाट आउने जुत्ता न्यून भन्सार तिरेर ल्याउँदा प्रतिस्पर्धा गर्न कठिन छ । कामदार समस्या सुल्झिए विदेशीसँग सजिलै प्रतिस्पर्धा गर्न सकिने उद्योगीको दाबी छ । यो उद्योगलाई व्यवस्थित गर्न सरकारी निकाय जिम्मेवार नभएको अध्यक्ष श्रेष्ठले बताए । ‘पटक–पटक फुटवेयर जोन स्थापना गर्न माग गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘झन्डै २० अर्ब रुपैयाँ लगानी भएको क्षेत्रलाई बेवास्ता भयो ।’ फुटवेयर जोन स्थापना भए सबै उद्योग एकै ठाउँमा हुने र जनशक्ति तयार गर्न पनि सजिलो हुने उद्योगी बताउँछन् ।

प्रकाशित: १७ पुस २०७४ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App