१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शिरमा ढलक्कै नेपाली टाेपी

शुष्मा बराली
मच्छेन्द्रबहालस्थित दौरा सुरुवाल घरकी सञ्चालिका ईश्वरी घिमिरेले ढाका टोपी लगाउन थालेको तीन वर्ष भइसकेको छ । अहिले उनको अनिवार्य पोशाक जस्तै बनेको छ, ढाका टोपी। 

पसलमा बस्दा कहिलेकाहीँ टोपी लगाउन थालेपछि बानी परेको उनी बताउँछिन्। ‘अहिले त टोपी नलगाउँदा असहज महसुस हुन्छ । के छुट्यो, के बिर्से जस्तो फिल हुन्छ,’ उनी भन्छिन्।  

पसलमा पुग्दा उनी पाल्पाली सिल्क टोपीमा सजिएकी थिइन् । ग्राहकसँग व्यस्त देखिएकी उनी टोपीमा निकै सुन्दर देखिएकी थिइन्। 

‘अहिले त टोपी नलगाउँदा असहज महसुस हुन्छ । के छुट्यो, के बिर्से जस्तो फिल हुन्छ,’ उनी भन्छिन् ।  

ग्राहकले पनि ढाका टोपी ‘सुहाएको’ प्रतिक्रिया दिने गरेकाले लगाउन नछाडेको उनले बताइन् । ‘महिलाले लगाउनुपर्छ भनेर होइन, पसलको विज्ञापन गर्न टोपी लगाएकी हुँ,’ उनले भन्छिन्। 

पछिल्लो समय युवापुस्ताको टोपीमा आकर्षण देखिएको उनको भनाइ छ । ‘विशेष अवसरमा टोपी लगाउनु त अनिवार्य जस्तै भएको छ,’ उनी भन्छिन् । युवापुस्ताको आकर्षण बढेसँगै टोपीको माग बढेको उनी बताउँछिन् । उनका अनुसार अहिले पाल्पाली र पूर्वेली ढाका टोपीको माग बढी छ । पसलमा एक सयदेखि माथिका नेपाली टोपी रहेको उनी बताउँछिन्। 

मच्छेन्द्रबहालस्थित ढाका स्टोरका सञ्चालक गोपाल बख्रेल पनि ढाका टोपी लगाउन छुटाउँदैनन् । मोर्डन गेटअप गर्न मनपराउने उनी आफूलाई फरक र आकर्षण देखाउन ढाका टोपी लगाउने गरेको बताउँछन् । ‘मैले टोपी लगाउँदा कसैले पनि लगाउदैनथे,’ उनले भने। 

टोपी लगाउँदा सकारात्मक प्रतिक्रिया पाएपछि खुसी लाग्ने गरेको उनी बताउँछन् । ‘मैले लगाएको देखेर ग्राहक पनि किन्न आउँछन्,’ उनी भन्छन्।  

उनका अनुसार केही समयअघिसम्म बूढापाका मात्रै ढाका टोपी लगाउँथे, तर अहिले भने युवापुस्ताको पनि आकर्षण बढेको छ । पूजापाठ, विवाह, पार्टीमा ढाका टोपी अनिवार्य पोशाक जस्तै भइसकेको उनी बताउँछन् । ‘दौरा सुरुवाल मात्र होइन, कोट पाइन्ट लगाउँदा पनि ढाका टोपी लगाउने प्रचलन छ,’ उनी भन्छन्। 

उनी १६ वर्षदेखि ढाका टोपी पसल सञ्चालन गर्दै आएका छन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पसलमा आउने युवतीहरूलाई ढाका टोपी निःशुल्क उनले बताए । बजारमा शुद्ध ढाका टोपीभन्दा उस्तै देखिने टोपीको माग बढ्दो रहेको उनको भनाइ छ। 

उनका अनुसार सामान्यतया ढाका टोपीको मूल्य ५० रूपैयाँदेखि सुरु हुन्छ । तर, हातले बनाएका टोपी भने महँगो भएको उनले बताए । यी टोपीको मूल्य ६ सय रूपैयाँभन्दा बढी पर्ने गरेको उनी बताउँछन् । पसलमा आउने ग्राहकमध्ये दान तथा उपहारका लागि टोपी किन्ने बढी रहेको उनले बताए। 

सुकेधाराका ८० वर्षीय नारायण गौतम पनि शिरमा ढाका टोपी कहिल्यै छुटाउँदैनन् । ‘१४ वर्षको उमेरदेखि अहिलेसम्म लगाएकै छु,’ उनले हाँस्दै भने। 

शिरमा टोपी लगाउनु नेपालीको सान हुने उनी बताउँछन् । ‘न्वारन गरेदेखि टोपी लगाउनु पर्ने हाम्रो परम्परा हो,’ उनले भने, ‘तर, आधुनिक फेसनका नाममा नेपाली ढाका टोपी लगाउने चलन हराउँदै गएको छ ।’ टोपी लगाउने प्रचलन हराउन थालेपछि उनी चिन्तित छन् । तर, टोपी दिवस मनाउन थालेपछि यसको जगेर्ना हुने उनको विश्वास छ । 
आफूले धेरैजसो पाल्पाली टोपी लगाउने गरेको उनी बताउँछन्। ‘अरु लुगा जेजस्तो भए पनि शिरको ढाका टोपी राम्रै लगाउँ जस्तो लाग्छ,’ उनले भने । पछिल्लो समय टोपीको मूल्य बढेको उनी बताउँछन्। 

समिर बैजु स्नातक तह अध्ययन गर्दैछन् । उनको शिर सधै भादगाउँले टोपीले सजिएको हुन्छ । आफूलाई टोपी लगाएको देख्दा अरु अचम्म मानेर हेर्ने उनी बताउँछन् । ‘सानै उमेरमा यस्तो टोपी किन लगाएको भन्छन्, तर मलाई बानी परिसकेको छ,’ उनले भने। 

टोपीले टाउकोको सोभा बढाउने मात्र होइन, सुरक्षा पनि गर्ने उनी बताउँछन् । टोपी लगाउँदा तालुलाई हावाबाट जोगाउने उनको भनाइ छ। 

प्रकाशित: १७ पुस २०७४ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App