८ वैशाख २०८१ शनिबार
अन्य

‘सहरवासीको मन कठोर लाग्छ’

एलिशा राई, मोडल
तपाईंलाई मनपर्ने सहर कुन हो ?

मलाई सिंगापुर धेरै विकसित र व्यवस्थित देश लाग्यो । त्यहाँका हरेक सहर सुन्दर छन् । बुकिट बाटोक, जुरोङ इस्ट, नोभेना, टम्पिनेस सहर सिंगापुरका मुख्य सहर हुन् । यी सहर अति नै मनमोहक र आकर्षक छन् । 

नेपालभित्र मनपर्ने सहर ?
मलाई नेपालका सहर त्यति राम्रो लाग्दैन, किनभने यहाँका सहरमा भीडभाड अति नै छ । सहर प्रदूषित छन् । जता गए पनि धुवाँधुलो मात्रै देखिन्छ । अलि मन परेको ठाउँ पोखरा र कालिञ्चोक हो । अहिलेसम्मलाई हेर्दा पोखरा ठिकै छ । सरकारले बेलैमा नसोच्ने हो भने पोखरा पनि काठमाडौं जस्तै अस्तव्यस्त कंक्रिट सहर बन्न बेर छैन। 

पोखराको कुन पक्ष राम्रो लाग्यो ? 
पोखरा प्रकृतिले नै सजिएको सहर हो । यहाँ पर्यटकीय मार्ग प्रशस्त छन्। हरियाली, फेवाताल, गुफा र शान्त वातावरणले धेरैलाई लोभ्याउँछ। नेपालको अलि रमणीय सहर पनि पोखरा नै हो। 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौंलाई सम्झँदै दिक्क लाग्छ । यहाँको हरेक चोक अस्तव्यस्त लाग्छन् । जता गयो, मानिसको भीड मात्रै देखिन्छ। आराम गर्ने ठाउँ भेटिन्न । विकास निर्माणका काममा लापरवाही भएको छ ।

तपाईंको विचारमा काठमाडौं यति धेरै अस्तव्यस्त हुनुको कारण के होला ?
हामी सबैका कारण सहर बिग्रिएको हो। थालेका विकास निर्माणले समयमै पूर्णता नपाउँदा पनि सहर बिग्रिएको हो। अर्को कुरा, यहाँका स्थानीय तह पनि जिम्मेवार छैनन्। धुवाँधुलो रोकथाम, ट्राफिक जाम, सडक विस्तार लगायत कामलाई केन्द्रमा राख्ने हो भने सहर सफा हुन सक्छ। सहरको विकास गर्ने जिम्मा पाएका निकायको सोचमा परिवर्तन आउन जरुरी देखिन्छ।

सहर कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सहर सुविधायुक्त र सफा हुनुपर्छ। एकले अर्कालाई अवरोध गर्नुहुन्न । ठाउँ–ठाउँमा सुन्दर पार्क, आरामस्थल हुनुपर्छ। तर, हाम्रा सहरमा यी सुविधा छैनन् । सहरवासीले सास्ती मात्रै खेप्नुपरेको छ।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
प्राकृतिक र सांस्कृतिक रूपमा काठमाडौं अग्रणी स्थानमा छ । यहाँको मौसम पनि सदावहार छ। काठमाडौंले धेरैलाई अवसर दिएको छ। यहाँ हरेक सेवा–सुविधा छन् । तर, काठमाडौंलाई बनाउनतर्फ कसैको नजर गएन। 

यहाँको मननपर्ने पक्ष ?
यहाँका धेरै पक्ष राम्रो लाग्दैन। ट्राफिक जाम, अस्तव्यस्ता, धुवाँधुलो सम्झँदा दिक्दार लाग्छ।

तपाईं आफू बस्ने सहर कस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ ?

म बस्ने सहर मैले विदेशमा घुमेका सहरजस्तै सुन्दर होऊन् भन्ने लाग्छ । विदेशका हरेक सहर व्यवस्थित र सफा छन् । त्यहाँ कुनै पनि सेवा लिनलाई अत्तालिनुपर्दैन। हरेक नागरिकले आफ्ना नैसर्गिक अधिकार सहजै पाएका हुन्छन् । म बसेको सहर पनि यस्तै होस् भन्ने चाहन्छु। 

पछिल्लो समय घुमेको सहर कुन हो ?
पोखरा पुगेकी थिएँ । पोखरा काठमाडौंभन्दा धेरै व्यवस्थित छ। 

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ नि ?
सहरवासीमा मानवता हराएको छ। सहरका मानिस गाउँले मानिसजस्तै दयालु र मायालु हुने भए सहर कति सुन्दर लाग्थ्यो होला । मलाई सहरवासीको मन कठोर लाग्छ। 

घुमघाम गर्न कत्तिको मनपर्छ ? 
मन त पर्छ तर सहरमा घुम्ने ठाउँ नै भेट्दिनँ । फुर्सद हुँदा साथीभाइ मिलेर धुलिखेल जान्छौँ । काठमाडौंभित्र अरु घुम्नलायक ठाउँ छैनन्। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई ग्रिस र नर्वेका सहर घुम्ने मन छ। भर्खर करिअर सुरु गरेकी छु। करिअरकै दौरानमा त्यहाँ पुग्ने मौका पनि मिल्छ होला। 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १७ पुस २०७४ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App