८ वैशाख २०८१ शनिबार
अर्थ

चिनियाँ जहाजको भर्याङ भाँच्चिदा...

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न तयार थियो । जहाजको ‘ककपिट’ मा दुई पाइलट तम्तयार भएर बसेका थिए । यात्रुहरू भर्याङ उक्लिँदै जहाजभित्र पसिरहेका थिए । 

जब करिब १० वर्षका एक यात्रु (बालक) ले जहाजभित्र छिर्न भर्याङ उक्लेका मात्र थिए, ठ्याक्कै त्यही बेला कसैले नसोचेको घटना हुन पुग्यो । ती बालकले दुई खुड्किलो उक्लिनासाथ जहाजको भर्याङ नै भाँच्चिएर भुइँमा बज्रिन पुग्यो र सँगसँगै ती बालक पनि पछारिए । 

त्यसपछि ‘जहाजको भर्याङ भाँच्चिएर बालक घाइते भए’ भन्दै त्रिभुवन विमानस्थलभरि खैलाबैला मच्चियो । वायुसेवा निगमलाई पनि बिना भर्याङ जहाज उडाउन नमिल्ने भएपछि अर्को समस्या आइप¥यो किनभने यस्ता साना जहाजमा त्यही भर्याङ बन्द गरेपछि ढोकाको काम गर्छ । उक्त १७ सिटे जहाजमा अधिकांश यात्रु बसिसकेका थिए ।
यो घटना गत शनिबार (पुस १५ गते) बिहान ८ बजे त्रिभुवन विमानस्थलमा घटेको हो । ‘निगमको चिनियाँ जहाजको भर्याङ भाँच्चिएर ठूलै समस्या आएको थियो,’ घटनाका बेला विमानस्थलमै रहेका निगमका अधिकारीले सोमबार नागरिकसँग भने, ‘भाँच्चिएको भर्याङ तत्काल जोड्न मिलेन र अर्को भर्याङ खोज्न दौडादौड भयो ।’

उनका अनुसार कलसाइन ‘९एन–एकेएस’ भएको १७ सिटे ‘वाई१२–ई’ सिरिजको उक्त चिनियाँ जहाजलाई प्रशिक्षक पाइलट आङनुरी शेर्पाको कमान्डमा पोखरा जाने तयारीमा थियो । उनलाई को–पाइलट रविन केसीले साथ दिएका थिए । निगमसँग यस्ता दुईथान जहाज छन् । तीमध्ये कलसाइन ‘९एन–एकेटी’ भएको अर्को जहाज दुई महिनादेखि त्रिभुवन विमानस्थलमा ‘ग्राउन्डेड’ छ ।

‘धन्य, निगमका इन्जिनियरले त्यही ग्राउन्डेड जहाजको भर्याङ निकालेर ल्याइयो र भर्याङ भाँच्चिएको जहाजमा जडान गरियो,’ ती अधिकारीले भने, ‘त्यसपछि जहाज र भर्याङ दुरुस्त छ भनेर इन्जिनियरले पुष्टि गरेपछि बल्ल जहाज पोखरा उडेको थियो । भर्याङसँगै लडेका ती बालकलाई खासै चोट भने लागेन ।’

दुईमध्ये एउटामात्र जहाज बाँकी भएका कारण पोखराबाट फर्केपछि त्यही जहाजले सिमरा, भैरहवा र मेघौली उडान गर्ने तालिका थियो । ‘तर, पोखराबाट फर्किंदा ब्रेकमा आवाज आएपछि जहाज प्राविधिक समस्या आएको भन्दै ग्राउन्डेड गरियो,’ सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि सिमरा र भैरहवा उडान रद्द गरियो भने मेघौली उडान अर्को ट्विनअटर जहाजले गरेको थियो ।’

उनका अनुसार त्यो जहाजलाई मर्मतपछि भोलिपल्ट आइतबार (पुस १६ गते) बिहानदेखि नियमित उडानमा फर्काइएको थियो । ‘मेड इन चाइना, आज छ भोलि छैन भन्थे हो रहेछ,’ उनले भने, ‘अब जहाजको भर्याङ भाँच्चिएको घटना पहिलो पटक थाहा पाइयो । चालीस वर्षदेखि क्यानाडामा निर्मित ट्विनअटर जहाजमा हालसम्म यस्तो समस्या आएको थाहा छैन, चिनियाँ जहाज उडाउन थालेको दुई करिब तीन वर्षमै यस्तो घटना भयो ।’

निगमसँग हाल चीनमा निर्मित १७ सिट क्षमतायुक्त दुईथान वाई १२–ई जहाज छन् । दुइटाबाटै ‘आच्छु–आच्छु’ भएको निगम अबको एक महिनाभित्रै यस्तै थप दुईथान जहाज चीनबाट ल्याउने तयारीमा जोडतोडका साथ लागेको छ । अब ल्याउने लागिएका जहाजको पैसा भने चिनियाँ जहाज निर्माता कम्पनीलाई सबै चुक्ता भइसकेको छ । 

‘दुइटा चिनियाँ जहाज पनि उडाउन गाह्रो छ, त्यसमाथि भर्याङ भाँच्चिने घटना भएपछि निगमको प्रतिष्ठा कहाँ पुग्यो, हिसाब गर्नुपर्दैन,’ निगमका एक वरिष्ठ पाइलटले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अब अझै दुई थपेर चारथान बनाएपछि हाम्रो हालत के होला ?’

उनका अनुसार चारथान वाई१२–ई जहाज उडाउन पाइलट पुग्दैनन् । हाल दुइटा जहाज उडाउन वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र क्याप्टेन उद्धव घिमिरे दुईजनामात्र छन् भने उनीहरूलाई को–पाइलटहरू लिबर्टी भण्डारी, सृजना रावत, विजय अवाले, राकेश काफ्ले, प्रचण्ड खड्का र रविन केसीले साथ दिइरहेका छन् । 

‘अर्को गम्भीर विषय के हो भने दुर्गम पहाडी भेगका विमानस्थलमा उडाउन ल्याइएका वाई१२–ई जहाजले हालसम्म पहाडी भेगमा परीक्षण उडान पनि गरेका छैनन्,’ ती क्याप्टेनले भने, ‘त्यही भएर सिमरा, भैरहवा, पोखरा, मेघौली जस्ता सहरी भेगका विमानस्थलमा मात्र उडिरहेका छन् ।’

 

प्रकाशित: १८ पुस २०७४ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App