८ वैशाख २०८१ शनिबार
अन्य

कोलोम्बो अनुभव

सार्क च्याम्बर अफ वमन इन्ट्रप्रेनर्स काउन्सिलको दुई दिने भेलाका क्रममा गएको नोभेम्बर ३० मा हाम्रो टोली कोलम्बो प्रस्थान गर्यो । नेपालबाट कोलम्बो पुग्ने सिधा उडान हिजोआज रहेनछ । जसका कारण कोलम्बो पुग्न नौ घण्टाभन्दा बढी लाग्यो । नयाँ दिल्लीमा भिजिबिलिटी कम भएकाले हामी आधा घण्टा ढिला पुग्यौँ । दिल्लीमा ट्रान्जिट बनाई हामी कोलम्बो प्रस्थान गर्दा साढे तीन बजिसकेको थियो ।
कोलम्बोमा त्यस दिन हावाहुरी चलेर सबैजसो प्लेन डाइभर्ट भइरहेका थिए । हुण्डरीका कारण कोलम्बोका सडकमा रहेका बूढा रुखहरु ढलिरहेका थिए । भाग्यवश हाम्रो प्लेन कतै डाइभर्ट गर्नु परेन । होटल पुग्दा साढे पाँच बजिसकेको थियो । हुण्डरी रोकिएकाले केहीबेर सहर घुम्ने अवसर पनि छोप्यौँ ।

हुन त सम्मेलनमा भाग लिन कोलम्बो गएकी थिएँ तर घुम्न भनेपछि मलाई रमाइलो लाग्ने भएकाले संक्षिप्त यात्रामा पनि केही राम्रा चिजबिज हेर्ने रहरका कारण जे जति देखेँ र अनुभव गरेँ, त्यसले मलाई आश्चर्यमा नपारिरहन सकेन । कोलम्बो सहर व्यवस्थित पाएँ, गाडीहरु अनुशासित थिए, वर्षाैं पुराना बूढा रुखहरु संरक्षित गरिएका थिए, सहरमा हरियाली पर्याप्त थियो । ९० प्रतिशतभन्दा बढी साक्षरता भएको श्रीलंकामा ७० प्रतिशत बौद्ध र बाँकी ३० प्रतिशतमा क्याथोलिक, मुस्लिम र केही मात्रामा हिन्दु धर्मावलम्बी बसोबास गरेका रहेछन् । बौद्ध धर्मावलम्बी बहुल देश भएकाले कोलम्बोभरि जताततै बुद्धका मूर्ति, गुम्बा र स्तुप देखिन्थ्यो । ती सबैमा आधुनिक र प्राचीन कारिगढी महसुस गरेँ । श्रीलंकाको सबैभन्दा राम्रो पक्ष भनेको त्यहाँको विकास पाएँ । केही वर्षअघिसम्म हिंसाले ग्रस्त मुलुक भए पनि विकासलाई सँगसँगै अघि बढाइएको रहेछ । एकातिर गृहयुद्ध र अर्कोतर्फ सुनामीका कारण श्रीलंकालाई नराम्रो क्षति पुगेको थियो । यति हुँदा पनि दूरदृष्टि र नेतृत्व क्षमताका कारण संरक्षण र विकासमा उत्तिकै काम भएको पाएँ ।

कोलोम्बोमा बेलायती राजका बेला बनेका ठूला भवनहरुलाई संरक्षण गरी राखेको पाएँ । कोलम्बोलाई १५ वडामा विभाजन गरिएको रहेछ । ७ नं. वडा भने अति विशिष्ट बस्तीका रुपमा चिनिदोरहेछ । त्यहाँ एकदमै नाम चलेको कलेज सेन्ट ब्रिगेट्स कन्भेन्ट अझै जीवन्त रहेछ । त्यहाँ भूतपूर्व प्रधानमन्त्रीहरु, विशिष्ट व्यक्तिहरुले शिक्षा प्राप्त गरेका रहेछन् । मुख्य आयआर्जन वैदेशिक रोजगारी, कृषि र पर्यटन रहेको यस देशको खाना मसालेदार, पिरो, चिल्लो र जिब्रो नै ट्वाक्क पार्ने किसिमको पाएँ । पछिल्लो समय प्रधानमन्त्री रनिल विक्रमसिंघेको लोकप्रियता निकै बढेको पाएँ । पछिल्लो समय श्रीलंकाले गरेको प्रगतिको श्रेय प्रधानमन्त्री रनिलले पाएका रहेछन् । त्यहाँ उनले विकासलाई समन्वयात्मक रुपमा अघि बढाएका रहेछन् । उनकी पत्नी मैत्री एउटी पढेलेखेकी पिएचडी महिला रहिछन् र महिलाका विषयमा उनको ज्ञान उत्तिकै गहन पाएँ । उनले हाम्रो सम्मानमा एक साँझ दिएको डिनर पार्टीमा उनको बानी–व्यवहार, बोलीचालीबाट प्रभावित नहुने कमै थिए । हामी कोलम्बो पुग्दा हुण्डरीले पुराना रुख ढलेको पनि देखिएको थियो तर त्यसलाई चाँडै नै व्यवस्थापन गरेको पनि पाइयो ।

मलाई रमाइलो लागेको भनेको यहाँको खाना पस्किने तरिका पनि एउटा थियो । पारम्परिक रुपमा खाना पस्किन केही युवतीले टाउकोमाथि ढकी राखेर ल्याएका थिए । मलाई यो शैली देख्दा हाम्रो थारु समुदायको झल्को आयो । खान्कीमा मिठाई, रोटी, भातको मिश्रण स्वादिष्ट मात्र होइन, जिब्रोमै अल्झिने किसिमको थियो । खान्कीको स्वाद देख्दा मलाई हाम्रै थकाली भोजनको सम्झना दिलायो । मोर्निङ वाक जाँदा समुद्र किनारमा एउटा रेल आइरहेको देखेँ । एकातिर समुद्र, समुद्रलगत्तै रेलको लिक र त्यसपछि चौडा सडकको संयोजन देख्दा कति मजाले डिजाइन गरिएको रहेछ भन्ने मनमा लाग्यो । कुनै पनि सहर राम्रो र सभ्य देखिनका लागि प्राचीन मौलिक वस्तुहरुको संरक्षण मात्र होइन, नयाँ बन्दै गरेका संरचनामा पनि कला प्रस्तुत भएको हुनुपर्छ । त्यस कुराको झल्को नयाँ बनिरहेका कतिपय भवनबाट पनि झल्कन्थ्यो । एउटा ढल्केर अडेस लागेको ठूलो भवन देख्दा मलाई विश्वका कतिपय चिनारी दिने भवनहरुजत्तिकै सशक्त लाग्यो । श्रीलंका घुमेपछि गृहयुद्ध र सुनामीजस्ता संकटबाट जुझ्न सशक्त तथा दूरदृष्टियुक्त नेतृत्व आवश्यक रहेछ भन्ने पाठ मैले यस संक्षिप्त भ्रमणमा सिकेँ ।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App