coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

थापाका पाँच प्रतिबद्धता

मंसिर २१ को मनदान सकिएसँगै पहिलोचरणको मतदानको गणना सुरु भयो । जब मतगणनाका परिणाम सार्वजिन हुनथाले देशभर वाम लहर थियो । काठमाडौंको धेरैले चासोको रूपमा हेरेको क्षेत्र नं ४ मा पनि वामगठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रता लिइरहँदा कांग्रेस कार्यकर्ता मात्रै होइन देशभरका शुभेच्छुकको मुटुको ढुकढुकी बढिरहेको थियो । तर जति शुभेच्छुक र कार्यकर्तामा बेचैनी थियो, तर गगनमा त्यसको खासै डर थिएन । मंसिर २२ गते साँझसम्मै क्षेत्र नं ४ मा अग्रता चलिरहँदा पनि थापा भने चुनाव जित्नेमा ढुक्क थिए । ‘मैले घरदैलोको क्रममा पाएको मेरा मतदाताको प्रतिक्रियाले नै मलाई जित्छु भन्ने थियो,’ थापाले भने, ‘निर्वाचनकै दिनमा पनि बुथमा आफैँ घुम्दा र प्रतिनिधिहरूका प्रतिक्रियाबाट म ढुक्कै थिएँ ।’

समग्रमा जित्छु भन्ने भरोसा बढाउन भोटरका प्रतिक्रिया मात्रै काफी थिएन । ‘मैले २०७० को निर्वाचनमा गरेको ‘संविधान बनाएर मात्रै फर्किन्छु’ भन्ने वाचा त पूरा गरेकै थिएँ,’ उनले भने, ‘स्वास्थ्य मन्त्री, कृषिसमिति अध्यक्षजस्ता विभिन्न जिम्मेवारीमा रहेर समेत मैले केही काम गरेको थिएँ ।’ त्यही कामले जनताकोे आफूप्रति बढी भरोसा जागेका उनी बताउँछन् । ‘मलाई स्वास्थ्य मन्त्रीको रूपमा मन्त्रालय छोड्दै गर्दा अझै केही महिना बस्न पाएको भए थुपै थालेका काम पूरा गर्न पाउँथेँ भन्ने खड्किएको थियो,’ उनले भने, ‘अहिले मतदातामाझ जाँदा मैले गरेको कामलाई राम्ररी मूल्यांकन गरेको पाएँ ।’

थापाको क्षेत्रमा सुरु भएका तथा पूरा नभइसकेका थुपै विकास निर्माणका कारण उडेको धुलोलाई प्रतिस्पर्धीले राम्रो चुनावी एजेन्डा बनाउन खोजेका थिए । उनले घरदैलो अभियान सुरु गरेकै दिनदेखि मतदातालाई बुझाए । ‘देशभरका २४० वटा निर्वाचन क्षेत्रमध्ये मेरो क्षेत्रमा कम बजेट र कम काम भएको रहेछ भने म जवाफ दिन तयार छु,’ उनले भने, ‘हाम्रा ठेक्का प्रणालीजस्ता कारणले मैले एकैपटक उपलब्धि देखाउन सकिन भन्ने कुरा जनतालाई राम्ररी बुझाएँ ।’ स्थानीय बुद्धिजीवीहरूसमेत थापाले आफूले विगतमा गरेका र आगामी दिनका कार्यसूची स्पष्टरूपमा बुझाउन सक्नु पनि थापाको जितको कारण भएको बताउँछन् । उनले पार्टीले बहुमत ल्याए सरकारमा गए यो गर्छु ऊ गर्छु भनेनन् । जनताले जिताए हुने सांसद भए के गर्छु भनेर स्पष्ट कार्यसूची दिएका थिए ।

थापाले मतदातासमक्ष संविधानको कार्यान्वयन नै पहिलो प्रतिबद्धता भएको बताए । ‘अबको पुस्ताले कुनै पनि नाममा फेरि स्वतन्त्रताको लडाइँ लड्न नपरोस् उनले भने, ‘सात दशक लामो कठोर संघर्षबाट प्राप्त हाम्रो लोकतान्त्रिक संविधानमा लिपिबद्ध उपलब्धिलाई कार्यान्वयन गर्न संविधान अनुरूपका कानून र संरचना निर्माण गर्नु मेरो पहिलो जिम्मेवारी हो,’ उनले भने । थापाकै शब्दमा दोस्रो जिम्मेवारी उनले शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र पारेर उकास्ने काम थाल्नुपर्छ ।

‘शिक्षा र स्वास्थ्यमा भएको विभेदले कालान्तरमा व्यक्तिका अवसर प्राप्तिमा ठूलो असर पार्दै झन् विभेदपूर्ण समाजको निर्माण हुन्छ,’ उनी भन्छन्, ‘केही सीमित मानिस वा वर्गको मात्र सेवा पाइरहने छन् सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्रभावकारी र गुणस्तरीय बनाउनु पर्छ भन्नेमा म संकल्पित छु ।’

उनले कार्यसूचीमै राखेर भर्खरै पारित भएको राष्ट्रिय स्वास्थ्य बीमा ऐन कार्यान्वयन, चिकित्सा शिक्षा ऐन, सार्वजनिक शिक्षा लगायतका सार्वजनिक शिक्षा र स्वास्थ्यका विषयमा आफ्नो प्राथमिकता रहने बताए ।
हरेक दिन १५ हजारभन्दा बढी युवा अवसरको खोजिमा विदेश पलायन भइरहेका छन् । ‘देशमा अवसर र सम्मान पाउने गरी युवामा योग्यता र परिकल्पनाको प्रतिस्पर्धालाई उत्प्रेरित गुर्नपर्छ, अबको ५ वर्षमा समृद्धिको आधार तयार गर्दै नीतिगत सुधारहरूको व्यापक पहल, स्वदेशी तथा विदेशी पूँजीको परिचालन, अभूतपूर्व गतिमा पूर्वाधार निर्माण, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति सुनिश्चित गर्नैपर्छ ।’ उनले अबको दशक राष्ट्रिय पुनर्जागरणको दशक हुनुपर्छ भन्दै सम्पूर्ण प्रयत्न नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा रोजगारीको सिर्जना गर्नका निम्ति हुने बताए ।

अघिल्लो संसदमा उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको समूह बनाएर बस्नयोग्य काठमाडौ अभियान चलाएका थापाले यो कार्यकाल पनि आफ्नो प्राथमिकतामा राखेका छन् । ‘सडक, यातायात, खानेपानी, फोहोर, वायुप्रदूषण आदि समस्याबाट आक्रान्त काठमाडौंलाई बस्नयोग्य र पुरानो वैभवयुक्त सुन्दर राजधानीमा परिणत गर्ने मेरो अभियान रहनेछ,’ उनले भने । उनले पोखरी, खोला, पार्क आदि खुला स्थानको संरक्षण र विकास लगायतका सहरी पूर्वाधारको बारेमा आफूले विगतमा तय गरिरहेको अवधारणा र गुरुयोजनासहित अगाडि बढाउने बताए । ‘त्यति मात्रै होइन काठमाडौंको वातावरण संरक्षण र वायुप्रदूषण नियन्त्रणका लागि सन् २०२७ भित्र काठमाडौंमा पेट्रोलियम पदार्थबाट संचालित सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधन संचालन गर्ने गरी संसदमा राखिएको प्रस्तावलाई निष्कर्षमा पु¥याउन मेरो अग्रसरता रहने छ,’ उनी थप्छन् ।

अहिले पूर्वाधार निर्माण गर्दा ढिलासुस्ती हुने, प्रदूषण र धुलो हुने, गुणस्तरियता र जवाफदेहिताको कमी हुने लगायतका जुन समस्या छन् यिनको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ । संविधान, राष्ट्रिय मुद्दासहित आफूले प्रतिनिधित्व गर्ने क्षेत्रको विकासबारे पनि उनको स्पष्ट खाका छन् । उनले विगतमा सुरुवात गरेका झण्डै चार अर्बभन्दा बढी रकमका सडक पूर्वाधारका साथै खानेपानी, ढल, शिक्षा, स्वास्थ्य, पार्क, मठ मन्दिरलगायतका थुप्रै योजना निर्माणको अन्तिम चरणमा रहेको र त्यसलाई टुंगोमा पु¥याउने जिम्मेवारी पनि आफ्नै भएको बताए । ‘हाल सुरु भएका कमलपोखरी, नक्साल, चावहिलको कल्चरल रिभाइटलाइजेसन, चुनिखेको सुवर्ण शमशेर क्रिकेट मैदान, कपनमा १५ बेडको अस्पताल, बुढानीलकण्ठमा ५० बेडको विशेषज्ञ अस्पताल, साझेदारी विद्यालय अभियान, पार्कहरू तथा मैतिदेवी, नक्साल, मैजुवहाल, कपन र बुढानीलकण्ठमा जनता स्वास्थ्य केन्द्र संचालन, हामी उद्यमी, समर्थ गृहिणी लगायतका कामलाई द्रुत गतिमा अगाडि बढाउने वचन थापाले मतदातालाई दिएका छन् ।

आगामी दिनमा क्षेत्र नं. ४ अन्तर्गत पर्ने सम्पूर्ण स्थानीय निकाय प्रमुख, प्रदेशसभा सदस्य तथा अन्य निर्वाचित जनप्रतिनिधिहरू सम्मिलित एउटा समन्वयनकारी संयन्त्र बनाएर काम गर्ने योजना उनको छ ।
स्पष्ट दृष्टिकोण र कार्यक्रमसहित काम गर्दै गर्दा पनि उनका लागि निर्वाचनसँग केही नमीठा घटनासमेत जोडिन आइपुगे । त्यति मात्रै होइन निर्वाचन प्रचारको क्रममा उनीमाथि बम आक्रमण नै भयो । त्यस्तो घटनाबाट बाँच्दासमेत उनीविरुद्ध गलत प्रचारको डरलाग्दो शृंखला चलेको उनको बुझाइ छ । ‘मविरुद्ध योजनाबद्ध प्रोपोगान्डाका शृंखला नै चल्यो, म त बल्लबल्ल बाँचेर चुनाव जितेर आएको हुँ,’ थापा भन्छन् ।
थापा आफूले राजनीतिलाई सेवाबाहेक कुनै अर्को रूपमा नबुझेको र नअपनाएको बताए । उनकै क्षेत्रमा स्थानीय निर्वाचन र यही निर्वाचनमा पनि प्रदेशतर्फ एमालेका उम्मेदवारले पाएको मत हेर्दा पनि पार्टी संगठनभन्दा व्यक्तिगत क्रेज र मेहनतले नै उनले चुनाव जितेको देखिन्छ । किनकि उनको क्षेत्रमा प्रदेशतर्फ क र ख मा एमाले उम्मेदवारले पाएको मत जोड्दा थापाले पाएको मतभन्दा बढी हुन्छ ।

उनले तत्कालका लागि तीन योजना बनाएका छन् । राष्ट्रिय राजनीतिमा कांग्रेसले कुनै पनि बहानामा सरकारमा जान खोज्न नहुने बताउँछन् । ‘अब कांग्रेसको सिंगो पार्टीपङ्क्तिले आमूल परिवर्तन हुन जरुरी छ,’ थापा भन्छन् । त्यो परिवर्तन पार्टी नेतृत्व फेरिएर मात्रै सम्भव नहुने उनी बताउँछन् । ‘माथिदेखि तलसम्म प्रत्येक कार्यकर्ताको पार्टीमा ठूलो परिवर्तन चाहिएको छ, त्यो आफैंबाट थाल्नुपर्छ,’ उनले भने । त्यो जागरण र उर्जालाई नेतृत्व दिन पहिलो पुस्ताका नेताले विश्राम लिनुपर्ने थापा बताउँछन् । ‘पार्टीमा टालटुले सुधारले अब हुँदैन । विशेष महाधिवेशनमा केवल पदाधिकारी छान्ने कुरा होइन, संरचनागत रूपमै पुनर्संरचना गर्नुपर्छ,’ उनले भने, ‘वामपन्थी कमजोर बन्लान् र कांग्रेसका लागि ठाउँ बन्ला भनेर कुरेर बस्नु नै गलत हो ।’

अहिलेको अवस्थामा कांग्रेसीले कमजोर भएको पीडा पालेर लघुताभासमा बस्नुको विकल्प कांग्रेसलाई पुनर्जागृत गर्ने अवसर मात्रै भएको थापा बताउँछन् । ‘हिजोकै शैलीमा र हिजो जसरी नै काम गरेर मात्रै कांग्रेस फेरिनुपर्छ भनेर बसेर हुन्न,’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका सारा गुट भत्काएर पार्टीप्रति चिन्तन भएका साथीलाई एक ठाउँमा गोलबद्ध हुन आह्वान गर्छु ।’ थापाको भनाइमा राष्ट्रिय राजनीतिमा समेत कांग्रेसले आफूलाई मात्रै लोकतन्त्रको पहरेदार भन्ने प्रचार र सोचले अब काम गर्दैन । कम्युनिष्ट पार्टीहरूको सरकारमार्फत दिगो भन्दा पनि लोक रिझ्याइँका लागि राज्यले थेग्नै नसक्ने पपुलिष्ट कार्यक्रम ल्याउने र पुँजी निर्माण गर्नतिर लागेन भने मुलुक आर्थिक रूपमा धराशयी बन्छ । त्यसलाई बुझाउन कांग्रेसले दिगो पुँजी निर्माणको बाटोबारे जनतालाई बुझाउनुपर्ने थापा बताउँछन् ।

उनी आफू स्पष्ट प्रतिबद्धताका साथ राजनीतिमा आएको बताउँछन् । ‘मेरो बुबाले प्रवेशिका परीक्षामा नेपालको बारेमा निबन्ध लेख्दै गर्दा अभाव र गरिबीको यथार्थ वर्णन गरेर जे लेख्नु भयो, लगभग बीस वर्षपछि मैले पनि त्यही परीक्षामा नेपालको ठ्याक्कै त्यसरी नै चित्रण गरेर लेखेँ । बुबा र म दुवैले उस्तै उत्तर लेखेर उत्कृष्ट अंक प्राप्त गर्यौं,’ घोषणापत्रमा समेत उल्लेख गरेको प्रतिबद्धताको अंश दोहो¥याउँदै उनी थप्छन्, ‘म चाहन्छु, दश वर्षपछि मेरी छोरी र उनको शिक्षित पुस्ताले सम्पन्न र सुखी नेपालको वर्णन गर्न पाऊन् । मेरो राजनीतिक लक्ष्य यही हो ।’ यो लक्ष्यलाई १५ वर्षभित्र उन्नतिको पथमा तीव्र फड्को मारिरहेको देश आउँदा पुस्तालाई सुम्पने र १५ वर्षपछि संक्रिय राजनीतिबाट विश्राम लिने उनको संकल्प छ ।

प्रकाशित: १८ पुस २०७४ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App