coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मुख्यमन्त्रीको सहज बाटोमा शंकर

वाम गठन्धन बन्नुपूर्व एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस भए । पोख्रेलले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक उनको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने निर्णय सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका पोख्रेलका लागि यो गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनु पर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा माओवादीका नेता तगारो बन्न आउने संशय उनलाई थियो ।

नभन्दै गठबन्धन बनेपछि पोख्रेलको क्षेत्रमा माओवादीका कृष्णबहादुर महरा आइपुगे । त्यसो त महरालाई माओवादीले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि पहिलो नम्बरमै सिफारिस गरिसकेको थियो । प्रतिनिधि सभाका लागि एकै क्षेत्र रोजाइमा पारेका महरा र पोख्रेलबीच उम्मेदवारीका लागि ठूलै रस्साकस्सी चल्यो । दुबै नेताले आफूलाई उम्मेदवारी दाबी गरे । यो रस्साकस्सीलाई मिलाउन वाम गठबन्धनको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘एक्सन’ लिने अवस्था आइपुग्यो । दुवै अध्यक्षले महरालाई प्रतिनिधिसभा र पोख्रेललाई प्रदेश सभा उम्मेदवारको प्रस्ताव ल्याए । शंकरका लागि यो प्रस्ताव ‘निको’ लागेन तर अध्यक्ष ओली निकटस्थ पोख्रेलले आफ्ना अध्यक्षले बोलेको कुरा काट्न सकेनन् । तर सर्त राखे ‘प्रतिनिधि सभाबाट ब्याक भएर प्रदेशमा जानुपर्छ भने म पाँच नम्बर प्रदेशको मुख्यमन्त्री बन्नु पर्छ,’ अध्यक्ष ओली र दाहाल पोख्रेलको यो प्रस्तावमा मञ्जुर भए ।

बाध्यात्मक उनको यस निर्णयले शंकर निकै भावुकसमेत बने । काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले भावुकता पोखे । ‘अध्यक्षज्यूको वचन काट्न सकिनँ,’ गला अवरुद्ध पार्दै उनले भनेका थिए, ‘तर अब मेरो मिसनमा लाग्नेछु ।’ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार महरालाई स्वीकार गरेर यही क्षेत्रको प्रदेशसभा १ बाट उम्मेदवार बनेर जिल्ला फिरेका पोख्रेलले आफ्नो मिसन तीव्र पारे । उनको यो अभियानमा सहयोगी बनिन्, उनकै जीवन संगिनी एमाले नेतृ सुजिता शाक्य । घोराहीस्थित एक होटेलमा बसेर एक महिने चुनावी अभियानमा उनीहरु दुवै जना मैदानमा उत्रिए । यो चुनावी दौड उनीहरु दुवै जनाको पनि थियो । पोख्रेल श्रीमती सुजिता पनि समानुपातिक उम्मेदवार हुन् । एक महिने लामो चुनावी अभियानलाई पोख्रेलले सफल बनाई छाडे । प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले उछिनेर प्रदेशसभा प्रवेशको गतिलो साइत जुर्यो उनका लागि मंसिर २१ । चुनावी परिणामले उनलाई प्रदेशसभा सदस्यका रुपमा मात्रै उभ्याइदिएन, पाँच नम्बर प्रदेशको मुख्य मन्त्रीको बढी से बढी सम्भावनाको नजिक पुर्याइदिएको छ ।

त्यसो त, उनले अब मुख्य मन्त्रीमा आफ्नो विकल्पै नरहेको प्रतिक्रिया दिइरहेका छन् । ‘या प्रदेशको मुख्य मन्त्रीमा मेरो विकल्पै छैन,’ निर्वाचित भएपछि उनले सञ्चारकर्मीहरुलाई भने, ‘चुनावी परिणामको उत्साह मात्रै हैन, यो प्रदेशको नेतृत्वकर्ताको जिम्मेवारी पनि आजैबाट बोकेको छु ।’ पोख्रेलले यो प्रदेशको समृद्धिको रेखांकनसमेत कोर्न थालिसकेको समेत बताए । शंकरले चुनावी प्रचारका क्रममा पनि आफूलाई प्रस्तावित मुख्यमन्त्रीकै रुपमा मतदाताहरुलाई चिनाए । यसर्थ पनि उनले पाएको मतको एउटा आधार त्यसलाई पनि मान्न सकिन्छ । त्यस मतको सम्मान गर्न पनि पोख्रेलका सामु अर्को चुनौती आइपरेको छ ‘मुख्यमन्त्री बन्नै पर्ने ।’ पोख्रेलको मुख्यमन्त्रीको सम्भावना प्रवलै आँकलन गरिएको छ । गठवन्धनका दुवै अध्यक्षहरुको वचन र प्रदेशभर उनीजस्तो बौद्धिक नेता नहुनु । अनि विपक्षीहरुको अल्पमत । ‘मैले गरेको अध्ययनले पनि यो प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी मैलाई दिलाउने छ,’ पोख्रेलले भने ‘त्यसमाथि अध्यक्षद्वयको वचनले मलाई झनै पक्का बनाइदिएको छ ।’

पोख्रेल यसर्थ पनि यो चुनावमा भाग्यमानी नेताका रुपमा साबित भइदिए । २३ वर्षसम्म आम चुनावमा जितको अनुभूति बटुल्न नपाएका शंकरलाई यो चुनाव जितको माला पहिरिने गज्जबको अवसर बन्यो । यसअघि २०५१ र २०५६ मा निर्वाचित उनी त्यसपछि भने पराजित भएका थिए । उनी कांग्रेसका कृष्णकिशोर घिमिरबाट पराजित भएका थिए । पोख्रेल यो हारलाई २०६४ को पहिलो संविधान सभाको निर्वाचनबाट बिर्साउन चाहन्थे तर लगातार तेस्रो पटक एकै व्यक्तिलाई उम्मेदवार बन्न नहुने पार्टीभित्रैबाट असन्तुष्टि आयो र उनी उम्मेदवारीको दौडबाट बाहिरिए ।

हालका एमाले उपाध्यक्ष युवराज ज्ञवाली त्यो बेला उम्मेदवार बने तर ज्ञवाली पनि माओवादीबाट पराजित भए । पोख्रेल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद चुनिए । त्यसपछिको पछिल्ल्लो संविधानसभा निर्वाचनमा पोख्रेललाई दाङको जनमतले साथ दिएन । उनी कांग्रेसका बुद्धिराम भण्डारीबाट पराजित हुनुपर्यो ।

पछिल्लो संविधानसभा निर्वाचन पछिका चार वर्षमा पोख्रेल दाङमा केन्द्रित थिए । गएको असार १४ मा भएको स्थानीय तहको निर्वाचनलाई उनले सक्दो उपयोग गरे । यही बेला स्थानीय नेता कार्यकर्ता प्रवेश गराउनेदेखि स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा माहोल सृजना गर्न उनको भूमिका निकै सशक्त रह्यो । स्थानीय तहको निर्वाचनमा विजयको ‘जस’ लिन सके प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा आफ्नो उम्मेदवारी र जित पक्का हुने हेक्का पोख्रेलको थियो । स्थानीय तहदेखिको चुनावी मिसनलाई पोख्रेलले सफल बनाई छाडे । पोख्रेल २० हजार ७ सय २३ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनका प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गरे । २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट आन्दोलनमा होमिएका पोख्रेल २०४४ मा अखिल स्वतन्त्र भारतीय विद्यार्थी युनियनको तर्फबाट राजनीतिमा लागेका थिए । त्यसपछि अनेरास्ववियुको वागमती अध्यक्ष हुँदै उनी २०५४ मा भएको एमालेको छैटौँ महाधिवेसनबाट एमालेको केन्द्रीय सदस्य चुनिए ।

पाँच नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्री पोख्रेलले यो प्रदेशको राजनधानीलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् । उनले आफ्नो गृहजिल्ला दाङ नै प्रादेशिक राजधानी बन्ने दाबी गरिरहेका छन् । ‘प्रदेशको राजधानी दाङ नै हुन्छ,’ उनले भने, ‘दाङबाहेक अन्यत्र राजधानी जान्छ भनेर सोच्नु गलत हो ।’ यसैगरी यो प्रदेशका जिल्लाहरुको शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यक्ता पूर्तिलाई मुख्यमन्त्रीको विकासे रेखा कोरिसकेका छन् । कृषि, पर्यटन विकासलाई प्रदेशको आर्थिक समृद्धिसँग जोडेर हेरेका उनले पानीको सहज उपलब्धता एवं सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेर मुख्यमन्त्रीको योजना तय गरिसकेका छन् । पोख्रेल मात्रै हैन, उनको परिवार नै प्रदेश तथा केन्द्रीय राजनीतिमा प्रत्यक्ष जोडिने गतिलो अवसर पनि बन्यो यो निर्वाचन । प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार पोख्रेलकी श्रीमती सुजिता समानुपातिक सदस्य चुनिन सके श्रीमानले प्रदेशको नेतृत्व र श्रीमतीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन् ।

प्रकाशित: १८ पुस २०७४ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App