coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बदलिँदो बिहे, बदलिँदो सम्बन्ध

पुष्पा थपलिया
नरनारी एकरथका दुई पाङ्ग्रा हुन् । बिहे नर र नारीको सामाजिक, धार्मिक र कानुनी मिलन मात्रै होइन, दुई परिवारको सम्बन्धको थालनी पनि हो । हाम्रो समाजमा कुनै एक केटा र केटीको बिहे हुन्छ तर सम्बन्ध हजारौंसँग गाँसिन्छ । त्यसलाई सही तरिकाले अगाडि बढाउन सकियो भने हामी धेरै कुरामा सफल हुन सक्ने समाजशास्त्री डा. मृगेन्द्र कार्की बताउँछन् । उनी भन्छन्– सम्बन्ध यस्तो चक्रव्यूह हो जसलाई अगाडि बढाउन जानियो भने युद्ध जितिन्छ, जानिएन भने त्यसैमा फसिन्छ र मरिन्छ पनि ।

बदलिँदो समयसँगै सम्बन्धहरू पनि बदलिन थालेका छन् । पहिलेपहिले एकपटक सम्बन्ध गाँसिएपछि टुटाउनु मर्नुसरह हुन्थ्यो, हिजोआज कस्को सम्बन्ध एकैछिनमा के भइसक्छ, थाहै हुँदैन । समाजशास्त्री डा. कार्की भन्छन्, ‘हिजोआजको सम्बन्ध, नेताजीको तालमेलले कार्यकर्ता अलमलमा परेजस्तै हुन थालेको छ, को कता कतिबेला तालमेल गर्न पुग्छ पत्तै हुँदैन ।’ यसको उदाहरणमा उनले भने, ‘मेरो एक साथीको छोरोको लभ म्यारिज भयो तर बिहेको पहिलो वर्षगाँठ मनाउन नपाउँदै उनीहरूबीच सम्बन्ध विच्छेद भयो ।’ केही दिनपछि फेरि मैले त्यो साथीको छोरालाई अर्कै केटीलाई अँगालो हाल्दै हिँडेको देखेँ, देखेको हप्तादिन जस्तोमा फेरि बिहेको निम्तो आयो, जाँदा अर्कै केटीसँग बिहे गर्न लागेको रहेछ ।

नेपालमा पनि केही वर्षयता सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार हरिओम पाठकले बताएअनुसार महिनामै तीन सयभन्दा बढीको सम्बन्ध विच्छेद हुन थालेको छ । जसमा सानै उमेरमा प्रेमविवाह गर्ने र वैदेशिक रोजगारीमा जानेहरू बढी छन् । त्यसो त, दशक अघिसम्म नेपालमा महिला हेपिएर बसेको र अहिले महिलाले समेत आफ्नो अधिकार प्रयोग गर्न थालेकाले तालमेल कहिले कता त कहिले कता भएको बताउँछिन्, महिला अधिवक्ता सुमित्रा शर्मा । उनले भनिन्, ‘हो पहिलेको तुलनामा सम्बन्ध विच्छेदका घटना ह्वात्तै बढेका छन्, यसलाई स्वतन्त्र हुँदैछन् भनेर खुशी मान्नुुपर्छ, सम्बन्ध विच्छेद हुनु भनेकै अर्को नयाँ सम्बन्ध स्थापित हुनु हो, त्यसमा रोइलो गर्नुपर्ने केही छैन ।’ शर्मा आफैँ पनि सम्बन्ध विच्छेद गरेर अहिले एकल जीवन बिताइरहेकी छिन् ।


सम्बन्ध विच्छेदका कारण मात्रै सम्बन्ध बदलिएको छैन, हाम्रो रहनसहन र चालचलनका कारण पनि सम्बन्ध परिवर्तन हुँदै गएको डा. कार्कीको ठहर छ । उनले भने, ‘समयको गतिसँगै आमाबाबुले छोराछोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ ।’ आज छोरीलाई निकै माया तथा स्नेहका साथ लालनपालन गरिन्छ । उनीहरूको लालनपालन छोरासरह नै हुन्छ ।

अभिभावकहरू आफ्ना चेलीको शिक्षा तथा करियरमा विशेष ध्यान दिन्छन् । आजका छोरी शिक्षित तथा आत्मनिर्भर हुन्छन् । उनीहरू जीवनसँग जोडिएका महत्वपूर्ण निर्णय गर्न पनि सक्षम भइसकेका हुन्छन् । त्यसैले सासू–ससुराले आफ्नी बुहारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको उनको बुझाइ छ । अझ अर्को रोचक कुरा त यो छ कि, हिजोआज उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीमा छात्रको तुलनामा छात्रा बढी छन् । धादिङका एक शिक्षकले बताएअनुसार, धेरै छात्रहरू घरको जिम्मेवारी वहन गर्नुपर्ने भएकाले वा पढाइमा कमजोर भएकाले साउदी कतारतिर हानिए, जसका कारण उच्चशिक्षा पढाइमा छात्राको संख्या बढी हुनपुग्यो ।

अहिले आत्मविश्वासी छोरीहरू बिहे गरेर कर्मघर जान हिच्किचाउँदैनन् । पहिले कुरा छिन्ने बेलामा मात्र भेटघाट भएर विवाह तय हुन्थ्यो तर अहिले भने भेटघाट तथा राम्रोसँग चिनजान भएपछि मात्र बिहे गरिन्छ । त्यसैले नयाँ वातावरणमा भिज्न समय लाग्दैन । अहिले इन्टरनेट तथा इमेलले संसारलाई निकै सानो बनाएको छ तसर्थ हरेक कुरामा दूरी कम भएको छ ।

सम्बन्धको संवेदनशीलता
समयका साथसाथै सम्बन्धप्रतिको संवेदनशीलता पनि अझै बढिरहेको छ । अहिलेको पुस्ताले आफ्नो भावी पुस्ताबाट आशा राख्दैन । त्यसैले पारिवारिक सम्बन्धमा सहजता कायम रहेको बुझाइ छ, अर्का समाजशास्त्री डिल्लीप्रसाद अर्यालको । अहिले परिवारमा एक–दुई बालबालिका हुन्छन् । छोराछोरीको बीचमा कुनै भेदभाव हुँदैन । समयका साथमा जागरुक र शिक्षित हुँदै जाँदा सम्बन्ध पनि सहज हुँदै गएको छ ।
सासूहरू आफ्नी बुहारीको भावना बुझ्ने प्रयास गर्छन् । त्यसैले विवाहपछि युवतीलाई नयाँ वातावरणमा घुलमिल हुन सजिलो भएको अर्यालको बुझाइ छ । आवश्यकता तथा कुनै समस्या आए उनीहरू सिधै गएर आफ्ना सासू–ससुरालाई बताउन धक मान्दैनन् जुन कुरा पहिले कल्पना पनि गर्न सकिँदैनथ्यो । अहिलेका युवती माइती तथा घरको सम्बन्ध सहज बनाउन सक्षम छन् । त्यसैले हिजोआज, कस्तो सासूबुहारी जस्तो झगडा गरेको भन्नेजस्ता बात सुन्नमा कमी आएको उनको अनुभव छ ।

व्यस्त जीवनशैली
अहिलेको अति व्यस्त महानगरीय जीवनशैलीमा केही समस्या पनि उत्पन्न भएका छन् । यसले मानिसलाई मेसिनजस्तै बनाएको छ । अहिले सासू–ससुराले आफ्ना छोरा तथा बुहारीलाई कुनै प्रतिबन्ध लगाउँदैनन् । निजी जीवनमा हस्तक्षेप गर्दैनन् । उनीहरू युवालाई आफ्नो ढंगले जिउन पूरै स्वतन्त्रता दिन्छन् । अहिले कसैलाई विनाकाम सल्लाह दिने फुर्सद पनि छैन । पहिले छोरीलाई माइती जान पनि निकै सकस हुन्थ्यो तर अहिले त्यस्तो रोकतोक हुँदैन, समाजशास्त्री अर्यालले भने ।

पहिलेका बुहारीहरू माइत जान सधैँ आतुर हुन्थे तर अहिले स्थिति त्यस्तो छैन ।  त्यसैले अहिलेका बुहारी निश्चिन्त भएर आफ्नो जिम्मेवारी वहन गर्न सक्छन् । तर यिनै व्यस्त जीवनशैलीका कारण छोराछोरी र आमाबाबुको सम्बन्धमा भने धेरै असर परिरहेको बताउँछिन्, सीएनएन सुपर हिरो पुष्पा बस्नेत । उनी भन्छिन्, ‘पहिले जेल परेर वा अन्य सजाय भोग्दा बालबालिका आफ्नो आमाबाबुदेखि टाढा हुन्थे तर अहिले नजिकै हुँदा पनि आमाबाबुको व्यस्तताले उनीहरू अनाथजस्तै भएका छन्,’ उनले थपिन्, ‘अहिले जन्मिन पाएको छैन, मोबाइल, भिडियो गेम्समा बच्चालाई अभिभावकले भुलाइदिन्छन्, जसका कारण उनीहरूको बालापन, बच्पनावस्था सबै गुमेको छ । उनीहरू भित्रदेखि बाहिर निस्कन चाहँदैनन्, जसका कारण कुनै दिन सामाजिकता छाड्न बेरछैन, केही बालबालिकामा त यो समस्या देखिन पनि थालिसक्यो ।

हेरचाह तथा आदान–प्रदान
अहिले पुरानो पुस्ताले केही प्राप्त गर्नका लागि केही दिन पनि जान्नुपर्छ भन्ने कुरा बुझिसकेको बताउँछिन्, कलाकार लक्ष्मी भुसाल । नयाँ पुस्तालाई माया दिनुपर्छ भन्ने कुरा जानेका कारण छोराछोरीले पनि आफ्ना आमाबाबुको मन राम्रोसँग बुझेको उनको बुझाइ छ । आजका सन्ततिसँग समय नभए पनि उनीहरू आफ्ना आमाबाबुलाई स्याहार गर्न, उनीहरूको हेरचाहमा कतै चुक्दैनन् । ‘आजका सासूहरूले पनि बुहारीलाई छोरीको दर्जा दिइसकेका छन्,’ उनले भनिन् । उनीहरूले पनि आफ्ना आमाबाबुप्रति जिम्मेवारी रहन्छ भन्ने कुरा थाहा पाइसकेका छन् ।कतिपय परिवारमा छोरी मात्र हुन्छन् र उनीहरूले घर तथा माइतीको व्यवहारलाई समान रूपले हेर्नेगरेको उनको अनुभव छ । जसका कारण सम्धि, सम्धिनीबीच पो नयाँ युद्ध सुरु हुन थालेको उनी बताउँछिन् ।  उनले भनिन्, ‘मेरा एक आफन्तको छोरा मात्रै थिए, जब छोराको बिहे भयो, जहिले जाँदा पनि उनी बुहारी यति राम्री, बुहारी उति राम्री, छोरीजस्ती भन्नेजस्ता कुरा गर्थिन् । तर एक वर्षपछि जाँदा उनी अनुहार फुलाएर बसेकी रहिछन् । कुरा के भएछ भने, बुहारीले सासूआमा र आफ्नी आमालाई साडी गिफ्ट ल्याएकी रहिछन्, उनलाई ल्याएको गिफ्ट सम्धिनीलाई बढी मन परेर गिफ्ट साँट्नुपरेछ । त्यस समयमा केही भन्न नसकेकाले उनी आफैँसँग मुर्मुरिएर बसेकी रहिछन् । सबै कहानी सुनाइसकेपछि, ती आफन्तले भनिछन्, उनको छोरी भए पनि अहिले त मेरी बुहारी हुन् नि, उनको भन्दा मेरो बढी हक लाग्छ ।
समयले छलाङ मार्दा बिहे परिवर्तन भयो, सम्बन्धका रंगहरू बदलिए, यसका शैली फरक भए तर हाम्रो सोच भने खासै परिवर्तन हुन नसकेको समाजशास्त्री कार्कीको भनाइ छ । उनले भने, ‘समय दौडिरहेको छ, सोच पाइला गनेर हिँडिरहेको छ, यी दुईबीच तालमेल नभए दुर्घटना घट्न सक्छ । त्यसैले समयको दौडाइसँगै सोचको पनि लगाम खिची अघि बढ्नुपर्छ ।’
 

प्रकाशित: १८ पुस २०७४ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App