६ वैशाख २०८१ बिहीबार
अन्य

निद्रामा बलात्कारको प्रयास

राति चाँडै सुत्ने अनि बिहान सबेरै उठी घुम्न जाने एक किसिमको ‘बानी’ वा ‘रोग’का बारेमा तपाईंलाई थाहा हुन सक्छ तर कहिल्यै तपाईंले राति निद्रामा भएका बेला कोही व्यक्तिले छेउमा भएको व्यक्तिलाई ‘सेक्स’ गर्ने प्रयास गरेकोबारे सुन्नु भएको छ ?

बिबिसीकी सेली अब्राहम्स भन्छिन्, एक जना महिलाले यो समस्याका कारण ठूलो दुर्घटना बेहोर्नुपर्यो ।
घटना यस्तो छ । टम (नाम परिवर्तन) र सारा (नाम परिवर्तन)को भेट उनीहरुको एक जना साथीको घरमा भयो । दुवैबीच चाँडै नै मित्रता बढ्यो । टम निकै राम्रो कुरा गथ्र्यो र उसको हस्यौली–ठट्यौली यति मज्जाको थियो कि उसलाई आफ्नो भाइको स्मरण दिलाउँथ्यो । यसपछिका केही सातापछि दुवै जना कयौँ पटक डेटिङमा गए र सँगै समय बिताए । सारा कैयौँ पटक टमको फ्लाटमा पनि जान्थिन् । टम पनि साराको घरमा आएर बस्थे । दुवै एकअर्काका बारेमा बढीभन्दा बढी जान्न चाहन्थे । एक दिन उनीहरु सँगै सुतिरहेका थिए र यस्तो घटना घट्यो कि यसले सारालाई बेचैन पारिदियो ।

टम गहिरो निद्रामा थिए । निद्राका बाबजुद साराको छातिमाथि हात दौडाउन थाल्यो । केही क्षणमै उनी सारामाथि चढ्न थाले र साराको सहमतिबेगर नै जबर्जस्ती यौन क्रियाको प्रयास गर्न थाल्यो । साराका लागि यो ज्यादै अचम्मको कुरा थियो । साराको सम्बन्ध सुरुवाती अवस्थामा थियो । त्यसैले उनले यसबारे कुरा गर्नु भनेको टमसँगको सम्बन्ध अन्त्य गर्नु हो भन्ने ठानी कुरालाई गुपचुपमै राख्न उचित ठानिन् ।

निद्रामा जबर्जस्ती
सारा भन्छिन्, ‘मलाई त सुरुमा ऊ रमाइलो गर्ने मूडमा होला भन्ने लाग्यो र उसको यस किसिमको व्यवहारलाई गम्भीर रुपमा लिइनँ । अहिले निकै लामो समयपछि पछाडि फर्केर हेर्दा यस्तो घटना त कैयौँ पटक दोहोरिइसकेको छ ।’ समय बित्दै गयो । सारा र टम अझै नजिकिदै गए । उनीहरु अब सँगै खाना खान थाले । फिल्म हेर्न सँगै जान थाले । कुनै दिन लामो पदयात्रामा पनि सँगै हुन थाले । दुवैलाई एकअर्कासँग समय बिताउन राम्रो लाग्थ्यो । समयक्रमसँगै साराले सुरुको घटनालाई दुर्घटना ठान्दै बिर्सन थालेकी थिइन् । एक दिन दुवै जना रात्रिकालीन पार्टीमा गए । दुवैले मज्जाले रक्सी पिए । आधा रातमा साराको निद्रा खुल्दा के देखिन् भने टम निद्रामै छन् र पनि उनीसित यौन सम्पर्क गर्न खोजिरहेका थिए ।
बिना मूड नै उनले जबर्जस्ती गर्न खोजेकाले सारा दुःखी भइन् । उनले भोलिपल्ट टमसँग घटनाबारे बिस्तारमा बताइन् र यस किसिमको दुव्र्यवहार अब आइन्दा नसहने बताइन् । यस्तो दुव्र्यवहार भविष्यमा भएको खण्डमा सम्बन्ध नै नराख्ने भनी गम्भीर चेतावनीसमेत दिइन् ।

टम भने साराको कुराबाट उदेक मानिरहेका थिए । ‘तिमीले केको कुरा गरिरहेकी छ्यौ, मलाई बिल्कुलै थाहा नभएको कुरालाई लिएर किन ताण्डव मच्चाएकी ?’ टमले भने । सारा भन्छिन्, ‘उसको कुरा सुनेर मलाई ज्यादै रिस उठिरहेको थियो । रातिको घटनाका कारण मेरो निद्रा खल्बलिएको थियो र ऊ चाहिँ केही नजानेजस्तो व्यवहार गरिरहेको थियो ।’

टमको भनाइ थियो, ‘मलाई साराले जे आरोप लगाएकी छन्, त्यसबारे मलाई बिल्कुलै याद छैन । जसलाई म यति धेरै माया गर्छु, उसको चित्त दुखाउने र उसको सहमतिबेगर कुनै पनि काम गर्दिन भने त सेक्स गर्नु टाढाको कुरा भयो ।’
टमको जवाफले साराको दिमाग शून्य भयो । के सोच्नु के भन्नुको अवस्था रह्यो । टमले निद्रामा जे गरेका थिए, त्यो लगभग बलात्कार गर्ने शैली थियो । जबकि टमले कहिल्यै पनि नराम्रो व्यवहार गरेको वा खोट लगाउनुपर्ने कुनै पनि कुरा अहिलेसम्म सारासमक्ष प्रदर्शन गरेका थिएनन् । सारा भन्छिन्, ‘टमले त अहिलेसम्म ज्यादै संवेदनशील, स्नेही र प्रेमिल व्यवहार नै गरेका थिए । मैले कुनै गल्ती गर्दा पनि उनले सम्झाउने गर्थे ।’

बिहान केही स्मरण हुन्न
टम र साराको सम्बन्ध हुर्कंदै गर्दा टमले उनलाई एउटा घटना स्पष्टताका साथ बताएका थिए । उनले भनेका थिए, ‘म एक जना युवतीसँग सम्बन्धमा थिएँ । उनलाई म प्रेम गर्थें तर उनले मलाई बलात्कारको आरोप लगाइन् र मैले सात वर्ष जेल बस्नु प¥यो । जबकि मैले उनलाई कुनै गलत क्रियाकलाप गरेको सम्झन्नँ ।’
टम आफ्ना कान्छा छोरासँग भेट गर्न गएका थिए । कान्छो छोराकी आमा क्यारोनसँग टमको सम्बन्ध बिग्रिएको धेरै भइसकेको थियो तर छोरो भेट्न आएका टमलाई क्यारोनले खाना मात्र खुवाइनन्, सँगै बियर खाए र राति अबेरसम्म टेलिभिजन हेरिरहे । यसपछि क्यारोन सुत्न गइन्, टम पनि सुत्न गए । राति अबेर क्यारोन चिच्याएको आवाज आयो र आवाजले टमको निद्रा खुल्यो । क्यारोन टमलाई चिच्याउँदै भनिरहेकी थिइन्, ‘यो तिम्ले के गरेको ? यस्तो दुव्र्यहार तिमीबाट होला भन्ने अपेक्षा गरेकी थिइनँ । यो तिमी हुन सक्तैनौ ।’
क्यारोन चिच्याउन र रुन थालेपछि टम डराए । उनले केही सोच्न सकेनन् र उनी आफ्ना सामान उठाएर क्यारोनको फ्लाटबाट निस्किए । टमले सारालाई भनेका थिए, ‘निद्रामा भएका कारण क्यारोन चिच्याउनु र त्यसअघि घटेका क्रियाकलापबारे मलाई केही पनि थाहा छैन ।’
टमले यो घटना सुनाउँदा यसको गम्भीरताबारे सारालाई बिल्कुलै आशंका थिएन र आफूमाथि यस्तै घटना दोहोरिएला भन्ने उनले कल्पेकी पनि थिइनन् । टमको साधारण व्यक्तित्वभन्दा उसले सुनाउने गरेको घटना बिल्कुलै फरक किसिमको थियो । त्यसैले साराले यसलाई गम्भीरतापूर्वक लिइनन् ।
टम निदाएको बेला कैयौँ किसिमको हर्कत गर्थे । अब भने साराले ती कुराहरुलाई गम्भीरतापूर्वक लिन थालिन् । एक दिन मध्य राति नै टम उठे र भने, ‘म जान्छु ।’ टमले कुनै सर्ट पनि लगाएका थिएनन्, मात्र पेन्ट लगाए । बिहान साराले रातिको अनौठो व्यवहारका बारे बताउँदा टमलाई यसबारे बिल्कुलै थाहा थिएन ।
साराले टमलाई भनिन्, ‘तिमीलाई यस्तो व्यवहारबारे थाहा छैन भने चिकित्सकसँग भेट ।’ टमले खुरुक्क माने पनि । उनी लन्डनको गायज एन्ड सेन्ट थोमस हस्पिटलको स्लिप क्लिनिकमा गए । त्यहाँ उनको शरीरका केही भागमा इलेक्ट्रोड लगाइयो र राति क्लिनिकमै सुत्न भनियो ताकि उनको दिमागमा भइरहेको हर्कतका बारेमा थप जानकारी पाउन सकियोस् ।
रोगको नाम सेक्सोमेनिया
टम इलेक्ट्रोडका साथ क्लिनिकमै सुते र यसबीचमा चिकित्सकहरुले उनका बारेमा जे खोज र निष्कर्ष निकाले, त्यसले टमको जीवन नै परिवर्तन गरिदियो । टमको केस डाक्टर गाय लेस्जिनरले हेरिरहेका थिए । उनी ख्यातिप्राप्त न्युरोलोजिस्ट पनि थिए ।
गाय लेस्जिनर भन्छन्, ‘उनको दिमागको तरङ्गहरुलाई हेर्दा के थाहा हुन्छ भने जब उनी निद्रामा हुन्छन्, त्यो बेला बडो अजिबका हलचलहरु देख्न पाइन्छन् । उनी गहिरो निद्रामा हुन्छन् तर त्यसबेला उनको दिमागमा ठूला र साना ब्रेनवेभहरु देखिन्छन्, जुन एक लयले चलिरहेका हुन्छन् । यसले के देखाउँछ भने उनी सुतेका छैनन्, बरु जागा नै रहेका छन् । उनको शरीर निद्रामै छ तर उनको दिमाग भने जागा छ ।’
टमले पूरा जाँच गरिसकेपछि चिकित्सक लेस्जिनरको निष्कर्ष थियो, ‘टमलाई एक किसिमको रोग छ । निद्रामा हुने यस किसिमको रोग बडो उदेकलाग्दो हुन्छ र उनलाई सेक्सोमेनिया भन्ने रोग लागेको छ ।’
सेक्सोमेनियाको सम्बन्ध निद्रामा हिँड्नुदेखि राति डराउनुसम्म हुन सक्छ । निद्राको गहन चरणभन्दा अघि यस किसिमको व्यवहार रोगीले देखाउने गर्छन् । येल विश्वविद्यालयका प्राध्यापक मिर क्राइगर भन्छन्, ‘सबै किसिमका निद्रासम्बन्धी डिसअर्डर (रोग)लाई पारासोमनिया भनिन्छ । यस किसिमको रोग भएका मानिसहरुले सुतेको पहिलो चरणमा नै विविध लक्षणहरु देखाउने गर्छन् ।’
प्राध्यापक मिर गाइक्रर भन्छन्, ‘ती रोगीलाई देख्दा के लाग्छ भने उनीहरु जागृत अवस्थामै छन् भन्नेजस्तो लाग्छ तर वास्तविकतामा त्यस्तो हुँदैन । उनीहरु निद्रामा नै हुन्छन् तर हिँड्ने, कुरा गर्ने आदि काम गरिरहेका हुन्छन् । यो कुरा उनीहरुको ब्रेन वेभहरु हेर्दा मात्र पत्ता लाग्छ ।’
गाय लेस्जिनर भन्छन्, ‘यस्ता रोगीको मस्तिष्कको आँखा, शरीरको गतिविधि र भावनालाई नियन्त्रण गर्ने भाग भने जागृत नै हुन्छन् तर सही हो कि गलत भन्ने सोच्नेसँग जोडिएको मस्तिष्कका भाग भने गहिरो निद्रामा हुन्छन् । यस्ता रोगीले निद्रामा मज्जाले कुरा गर्छन्, हिँडडुल गर्छन्, खाना खान्छन्, खाना बनाउन पनि सक्छन् र सेक्स पनि गर्छन् । बिहान जसै उनीहरु उठ्छन्, राति घटेका कुनै पनि कुरा उनीहरुलाई स्मरण हुँदैन ।’

कानुनी सहयोगका कुरा
यस्ता रोगीले यस अवधिमा गरेका अपराध (बलात्कार, चोरी या अन्य गतिविधि) अचेत अवस्थामा गरेको भए पनि पक्राउ पर्छन् र जेल पर्छन् । यस्तो अवस्थामा टमले यस सेक्सोमेनियाको रोग र त्यसबाट उत्पन्न परिस्थितिमा लागेको आरोपमा सफाई पाउन सक्छन् त ?
लेस्जिनर भन्छन्, ‘जुन रात यो घटना भयो, त्यस रात सुत्दाका बेला उनको शरीरमा इलेक्ट्रोड्स लगाइएको छैन भने त्यो थाहा पाउनु निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा उनी आफूलाई लागेको रोगका कारण यस्तो व्यवहार गरिरहेका छन् कि जानाजान गरिरहेका छन् भन्ने थाहा पाउन सकिँदैन ।’
विगत केही वर्षयता बेलायती अदालतहरुमा यस्ता कैयौँ घटना आएका छन्, जुन गहिरो निद्राका बेला घटेको भन्ने आरोपीको दाबी छ । तीमध्ये केही त सेक्सोमेनियासँग सम्बन्धित छन् । यस्ता विषयमा आरोपीलाई दोषमुक्त घोषित गर्ने सम्भावना बढी हुन्छ ।
तर घटनाका पछाडि कुनै विकृत मानसिकता थियो कि बिना जानकारी नै निद्रामा घटेको दुर्घटना थियो भन्ने बारे कानुनले गहन छलफल, अनुसन्धानपछि मात्र फैसला गर्नुपर्ने हुन्छ ।
येल विश्वविद्यालयका प्राध्यापक मिर क्राइगर भन्छन्, ‘क्यानडाको टोरन्टो सहरमा घटको एउटा घटनाको निकै चर्चा भयो । एक जना व्यक्ति कारमा बसेर टाढासम्म गयो । उसले सासूको हत्या गर्यो र ससुराका साथ नराम्रो व्यवहार गर्यो । यस घटनामा न्यायाधीशले के पाए भने त्यो व्यक्तिले निद्रामा सासूको हत्या गरेको थियो । जसका कारण केटो हत्या मामिलामा जेल पर्नबाट जोगियो ।’

यसैगरी अमेरिकाको एरिजोना राज्यमा केही वर्ष पहिले यस्तै घटना प्रकाशमा आएको थियो । आरोपीले आफ्नी पत्नीको हत्या गरेका थिए र उनले आफूलाई यसबारे बिल्कुलै जानकारी नभएको बताएका थिए । अदालतले भने हत्यालाई निद्रामा गरेको होस् कि बेहोसीमा, त्यो हत्या नै भएकाले सजाय सुनाएको थियो ।
लन्डनको किङ्स कलेजमा न्युरोसाइकिएट्रीका प्राध्यापक माइकल कोपेलम्यान भन्छन्, ‘निद्रामा गरिएको अपराधका बारेमा भन्नु निकै कठिन हुन्छ किनभने त्यो बेला उनीहरुको ब्रेनवेभको जाँच गरिएको हुँदैन । यस्तो अवस्थामा आफ्नो रोग वा कमजोरीको उनीहरुले फाइदा पनि उठाएका हुन सक्छन् ।’
उनी थप्छन्, ‘जबसम्म हामी घटनाको गहिराईमा पुगेर त्यसको कारण पत्ता लगाउँदैनौँ, यस्तो अवस्थामा तपाईंले गरेको अपराध अन्जानैमा भएको हो कि होइन भन्ने पत्ता लगाउने सम्भावनाकै अन्त्य हुन्छ । यस्तोमा तपाईं निर्दोष हुने सम्भावना निकै कम हुन्छ तर वास्तविक अध्ययनमा तपाईं निर्दोष देखिनु भयो भने तपाईंको अपराध माफी पनि हुनसक्छ ।’

‘जन व्यक्तिमाथि आरोप लागेको छ, त्यसको पुरानो व्यवहार पनि हेर्नुपर्ने हुन्छ कि वास्तवमा ऊ निद्रामै हिँड्ने किसिमको रोगी हो कि होइन,’ उनी भन्छन्, ‘निद्रामा हिँडेका बेला उसको अवस्था कस्तो थियो र निद्राका बेला नहिँड्दा उसको अवस्था कस्तो छ । यस्तो अवस्थामा उसका पक्षमा कुनै सबुत त पाइँदैन तर यसले कोरोबोरेटिभ एभिडेन्स अर्थात् घटनाबारे जानकारी दिने किसिमको सबुत अवश्य पाइन्छ ।’

उपचारको प्रभाव
सेक्सोमेनियाका लागि भएको जाँचका कारण टममा निकै ठूलो परिवर्तन आएको छ । टमलाई सधैँभरि के लाग्थ्यो भने उनीमाथि जुन बलात्कारको आरोप लगाइयो, त्यो झूटो थियो । उनकी पूर्वपत्नीले उनीमाथि ठूलो वज्रपात गरिन् ।

यस किसिमको रोगको कुनै उपचार छैन तर यसबाट बच्न भने सकिन्छ । राति सुत्दा लुगा लगाएर सुत्ने, कसैलाई नछोइकन सुत्ने लगायतका क्रियाकलाप गर्दा यसबाट बच्न सकिन्छ । तनाव, रक्सी र निद्राको कमी या कुनै नौलो वातावरणमा सुत्दा पनि रोग बढ्ने सम्भावना हुन्छ । त्यसबाट बच्न जरुरी छ ।
आफ्नो रोग र कमजोरी थाहा पाएपछि टममा निकै परिवर्तन आएको छ । जाँच गराउनुअघि उनलाई हरेक दुई या तीन महिनामा सेक्सोमेनियाले चेप्थ्यो । सारा भन्छिन्, ‘अचेल टममा परिवर्तन आएको छ । म पूर्ण रुपमा उसमाथि भरोसा गर्न सक्ने भएकी छु कि यो लक्षण अहिले निकै हदसम्म नियन्त्रण भइसकेको छ । दुई–तीन वर्षयता उसमा त्यस किसिमको कुनै लक्षण देखिएको छैन ।’

प्रकाशित: १८ पुस २०७४ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App