४ वैशाख २०८१ मंगलबार
कला

कविता महोत्सवका विजेतालाई पुरस्कार

प्रथम स्थान प्राप्त कवि चन्द्र रानहँछालाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौं– गत असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औं वार्षिकोत्सवमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७४’मा विजयी भएका कविलाई मंगलबार पुरस्कृत गरिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पुरस्कृत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कविता महोत्सवमा प्रथम भएका चन्द्र रानहँछालाई ३० हजार,  द्वितीय भएका सुवास राई ‘क्याप्टेन’लाई २५ हजार, तृतीय भएका दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई जनही २० हजार रुपैंयाँ पुरस्कारसहित पदक प्रदान गरिन् । 

कार्यक्रममा प्रत्येक चार वर्षमा एक पटक दिइने ‘पृथ्वी प्रज्ञा पुरस्कार’  समालोचक तथा निबन्धकार प्राध्यापक डा. तारानाथ शर्मालाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा दिइने एक–एक लाखको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्राध्यापक डा. वीणा पौडेल र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा. रामावतार यादवलाई प्रदान गरियो । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ सालका लागि विमल निभा तथा २०७४ सालका लागि धु्रव सापकोटालाई राष्ट्रपति भण्डारीले प्रदान गरिन् ।

एक लाख रुपैयाँ राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ अब्दुल लतिफ शौक (उर्दू भाषा) र २०७४ सालको धिमाल भाषाको पुरस्कार सोमबहादुर धिमाललाई दिइयो । पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार–२०७३’ का लागि पदम राई र २०७४ सालका लागि धनबहादुर माझीलाई प्रदान गरियो ।
राष्ट्रपति भण्डारीले सांस्कृतिक क्षेत्रको यथोचित रुपान्तरण र प्रवद्र्धनमा स्रष्टाले भूमिका खेल्नुपर्नेमा जोड दिँदै नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजानका लागि प्रतिष्ठानलाई थप अग्रसरता देखाउन आग्रह गरिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले असल भाव र सन्देशका कविताले युगलाई सकारात्मक प्रभाव पार्ने बताए । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकीलगायत दक्षिण एसियाका विभिन्न प्राज्ञिक निकायसँग सहकार्य बढाउन पहल गरिएको अवगत गराए । सम्मानित डा. शर्माले पृथ्वीनारायण शाहको वीरताका कारण नेपाल एकीकरण सफल भएको बताए ।

प्रकाशित: १९ पुस २०७४ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App