coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलामन्दिरमा ‘ वीरबहादुर’

चितवन– ‘मदन पुरस्कार’ विजेता साहित्यकार रामलाल जोशीको कथा संग्रह ‘ऐना’मा रहेको कथा ‘श्रीमान वीरबहादुर’ नाटकका रुपमा मञ्चन हुने भएको छ । कर्मी नाट्य समूहले नारायणगढको नारायणी कलामन्दिरमा बुधबारदेखि चारदिनसम्म लगातार नाटक देखाउन लागेको हो ।

नाटकले कैलालीको वीरबहादुर थारुको कथालाई प्रस्तुत गर्नेछ । जोशीको कथालाई भिष्मराज जोशीले नाट्य रुपान्तरण गरेका हुन् । नाटकका निर्देशक पनि भिष्मराज नै हुन् । कर्मी नाट्य समूहले भरतपुरमा नाटक घर (थिएटर) बनाउँदै छ । त्यसैको लागि आर्थिक स्रोत जुटाउन कलामन्दिरमा चार दिन नाटक देखाउन थालेको हो । ‘दिनमा दुई पटक नाटक मञ्चन हुने छ । कलामन्दिरको हलको क्षमता पाँच सय दर्शक अट्ने भए पनि हामीले एक पटकमा २ सय ५० जना दर्शकका माझ नाटक देखाउने छौं । नाटक हेरेको दुई र पाँच सयको टिकट लाग्नेछ’समूहका संयोजक मुकुन्द खलपात्रले भने ।

नाटक देखाएर नाटक घर बनाउने अभियानलाई चितवनवासीले सहयोग गर्ने उनले बताए । मंगलबार पत्रकार र चितवनका साहित्यकार तथा कलाकारहरुका बीचमा नाटक प्रस्तुत गरियो । ५० मिनेट लामो नाटकमा सुरेश जिसी र कृपा अधिकारी मुख्य भूमिकामा छन् । नाटकमा भीष्म उप्रेती, विवेक तिवारी, सुमित आचार्य, तिलक आचार्य, अञ्जान ढुंगानाको पनि अभिनय रहेको छ । 
‘ कथाले वर्णन गरेको परिवेशलाई नाटकका दृश्यमा उतार्न  धेरै नै राम्रो मेहेनत गरेको देखियो । अभिनय पनि राम्रो छ । खोतल्ने हो भने केही कमी कमजोरी नभेटिने हैनन् । तर सबै कुरा बेजोड लाग्यो’ चितवन निवासी कलाकार ऋद्धिचरण श्रेष्ठले भने ।
गीतकार प्रेम विनोद नन्दनलाई पनि नाटक राम्रो लागेको बताए । ‘अभिनय जिवन्त लाग्यो । कथालाई नाट्य रुपान्तरण गरेर अभिनयले दर्शकको मन जित्ने काम चानचुने हैन’ नन्दनले भने । लगभग डेढ महिनाको रिहर्सलपछि नाटक मञ्चनका लागि तयार भएको हो । 

 

प्रकाशित: १९ पुस २०७४ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App