coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रदर्शनीमा सुवालको ६० वर्षे कलायात्रा

काठमाडौं– कलाकार शंकरराज सिंह सुवालले आफ्नो ६० वर्षे कलाकारीमा  कोरेका कलाकृतिको दोस्रो संस्करणको प्रदर्शनी सुरु गरेका छन् । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको ‘६० वर्षे सृजनशिल यात्रा’ शिर्षकको कला प्रदर्शनीले उनका कलाको पुनरावलोकन गरेको छ ।

आर्ट सर्कलको आयोजनामा भएको प्रदर्शनीको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै काठमाडौं उपत्यका कलाकृतिको सहर भएकाले कलाका लागि गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर शाक्यले सुवालले आफ्नो जीवनकालको अधिक समय कलाकारिता गरेरै बिताए पनि अहिलेको उनको जोस पनि युवाको भन्दा कम नरहेको दाबी गरे । कार्यक्रमका सभापति शताब्दी पुरुष सत्यमोहन जोशीले सुवालको बहुआयामिक कलाकारिताको चर्चा गरे । सुवालजस्तो कलाकारबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने उनले औंल्याए ।  कला समीक्षक रमेश खनालले सुवालका चित्रकलामा विविध आयाम रहेको प्रष्ट्याए ।  ‘सुवाल जस्तोसुकै चित्र बनाउन सक्छन् । जुनसुकै माध्यमबाट चित्रमा खेल्न पनि सक्छन्,’ खनालले भने । खनालका अनुसार ऐतिहासिक, सांस्कृतिक, सामाजिकलगायत विभिन्न पक्षसँग उनका चित्र निकट छन् । खनालले बादलभित्र सिर्जना गरिएका चित्रकथाहरू अलौकिक लाग्ने जनाए । कला पत्रकार समाजका अध्यक्ष केशव खनालले कलाकारितामा लाग्नेका लागि सुवालका कला पाठशाला रहेको औंल्याए ।

सुवालले २०२१ सालदेखि यता बनाएका चित्रहरू प्रदर्शनीमा राखका छन् । ‘यो मेरो कला यात्राको संगालो हो,’ सुवालले भने, ‘यसमा मैले विगतदेखि वर्तमानसम्म जोड्ने कोसिस गरेको छु ।’ सुवालले आठ वर्षको हुँदादेखि नै चित्र कोर्न थालेका थिए । उनका बुवा अमेरिकन लाइब्रेरीमा डेपुटी असिस्टेन्ट डाइरेक्टर रहँदा उनी साथै जान्थे । लाइब्रेरिमा पाउने सिसाकलम र रंगसँग खेल्दा खेल्दै थाहै नपाइ उनी यसको पारखी बने । त्यहीबेलादेखि नै उनलाई सिसाकलमबाट पनि कला सिर्जना हुन सक्छ भन्ने विश्वास पैदा भयो । उनले जीवनभरी सीसाकलम, पेन इन्क, चारकोल, एक्रेलिक, वाक्स, पानी रंग, तेल वाक्स, तैलरंग प्रयोग गरेर आकर्षक तस्बिर बनाए ।

‘२०२१ सालदेखि २०२३ सालसम्म लैनसिंह वाङ्देलसँग औपचारिक कलाको शिक्षा लिएँ,’ उनले विगत सम्झे, ‘पछि कोलम्बो प्लान अन्तगर्तको प्रतिस्पर्धामा १ सय २१ जनालाई जितेर भारतमा कलाकारितामै स्नातकोत्तर अध्ययन गर्न पुगें । त्यहाँबाट फर्केपछि २०३२ सालमा आफूले बनाएका चित्र बेच्न न्युरोडतिर धाउन थालें ।’ उनका अनुसार न्यूरोडको एक पसलमा सित्तैमा झुन्ड्याउन दिएको चित्रसमेत कसैले टाँगिदिएनन् । क्यालेन्डर टाँग्ने भनेर फर्काए ।

त्यहीबेला गोरखापत्र संस्थानतिर चित्र बेच्न पुगेका उनलाई त्यहाँ कलाकारको जागिर नै प्राप्त भयो । उनले गोरखापत्रमा कलाकारिता र प्राविधिक दुवै पदमा जागिर खाए । त्यतिबेला भर्खर आएको प्रेसका बारेमा जान्ने धेरै मानिस थिएनन् । भारतमै रहँदा हातैले चित्र कोरेर पत्रिका छाप्न सिकेका उनले यहाँ पनि त्यही सिप प्रयोग गरे  । उनकै पालामा २०३३ सालमा मधुपर्क साहित्यिक पत्रिका पहिलो पटक रंगिन छापिएको थियो ।

आफूले बनाएका चित्र बेच्ने सवालमा भने सुवालका अनुभव सुखद छैनन् । ल्यान्डस्केप बनाउन जाँदा स्थानीयले खेदेर हैरान पार्थे । इनारमा छालाको जुत्ता लाएर छोयो र अशुद्ध पारिदियो भन्ने आरोप पनि उनले चित्र बनाउँदा खेपे । दरबारमै चित्र बेच्न जाँदा पनि आधा पैसा देउ भन्नेहरूदेखि उनी हैरान थिए । ‘त्यो बेला नबेचेको चित्र पनि यही प्रदर्शनीमा राखेको छु,’ उनले भने, ‘यहाँ इतिहास र वर्तमान सम्झाउने चित्र छन् ।’

उनले भने झैं उनले उतिबेला राजा पृथ्वीनारायण शाहले उपत्यका जित्दाको अवस्थाका ऐतिहासिक महत्वका चित्र पनि प्रदर्शनीमा देख्न पाइन्छ । बुद्धको जीवनी, रामायण कथा, महाभारत कथा, विष्णुका दश अवतारका शृंखला पनि प्रदर्शनीमा देख्न सकिन्छ । कलमले कोरेका चित्रहरू उनले कयौं दिन लगाएर तयार पारेका छन् । इचिङसँगै उनले अमूर्तकला, काष्ठकला, पोट्रेट, प्रभाववादी कलाका नमुनाहरू पनि आफ्ना संगालोमा राखेका छन् । 

२०७२ सालको भूकम्पको पराकम्पन पनि उनले चित्रमा समेटेका छन् । बसन्तपुर दरबारक्षेत्रलाई उनले भूकम्प आइरहेका बेलाको कल्पना गरेर चित्र कोरेका छन् । त्यहाँका सम्पदासँगै धरहरा र स्वयम्भूसमेत भूकम्पको असर चित्रमा प्रतिबिम्बित छ ।  १ सय २० बढी कलाकृति रहेको प्रदर्शनी ८ जनवरीसम्म चल्नेछ ।

 

प्रकाशित: १९ पुस २०७४ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App