१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्को साताबाट ट्यांकरमा ‘सेक्युरिटी लकिङ सिस्टम’

काठमाडौं– इन्धन ढुवानीमा हुने चुहावट नियन्त्रण गर्न नेपाल आयल निगमले अर्को साताबाट ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । निगम र पेट्रोलियम डिलर्स एसोसिएसनबीच मंगलबार भएको छलफलपछि पहिलो चरणमा भारतको सिलगुढीबाट झापा रुटमा कार्यान्वयन गर्ने सहमति भएको हो ।

करिब दुई वर्षअघि यो प्रविधि प्रयोग गर्ने सहमति भएको थियो । पेट्रोलियम पदार्थ ढुवानी गर्ने केही ट्यांकरमा लकिङ सिस्टम जडान गरिसकेकाले अर्को साताबाट प्रयोगमा ल्याउने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । ‘दुई/तीन दिनमा निगमका प्राविधिक आइओसीको डिपोमा गएर प्रविधि सिकेर आउँछन्,’ गोइतले भने, ‘अर्को साताबाट सुरु गर्छौं ।’

निगमले तेल ढुवानीको चुहावट रोक्न ट्यांकरमा पहिलोपटक यो नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो । आइओसीबाट निजी ट्यांकरले तेल ल्याउँदा चोरी भएपछि निगमद्वारा गठित एक कार्यदलले ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोग गर्न सुझाएको थियो ।

लकिङ सिस्टम जडान गरेका ट्यांकरको चेकजाँच गरेर ताल्चा लगाएर सुरु गर्ने निगमले जनाएको छ । पहिलो चरणमा सिलगुढी–झापा रुटपछि क्रमशः देशभर कार्यान्वनयमा ल्याउने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘धेरै पहिलादेखि छलफलमा आएको विषय अब कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको छ,’ भट्टराईले भने, ‘सबै ट्यांकरमा यो प्रविधि जडान गर्छौं ।’
भारतबाट तेल ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्ने गुनासो सुनिँदै आएको छ । ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकोले ढुवानीको क्रममा बीच बाटोमा चोरी हुने गरेकोले भारतमा यसअघि नै प्रयोगमा आएको लकिङ सिस्टम प्रयोगमा ल्याउन लागेको हो । 

यो प्रविधि प्रयोग गरेर निगमका कर्मचारी, चालक, व्यवसायीको मिलमतोबाट हुने चोरी रोक्न सकिने सबैको ठहर छ । उक्त प्रणालीमा ट्यांकरको ढक्कनदेखि तलसम्म रड जोडेर ताल्चा लगाइन्छ । यो प्रविधि अनुसार आइओसीमा तेल भरेर ताल्चा लगाएपछि यहाँको डिपोमा आएर मात्र खोल्न मिल्ने गोइतले बताए । ‘ट्यांकरमा तेल भरेपछि आइओसीका कर्मचारीले ताल्चा लगाउँछन्,’ उनले भने, ‘त्यो ताला यहाँ आएपछि डिपो प्रमुखको नेतृत्वमा खोलिन्छ ।’ यसका लागि विशेष किसिमको ताल्चा र साँचो निर्माण गरिएको छ । उक्त ताल्चा अन्य कम्पनीले साँचो तयार गर्न नसक्ने खालको हुने इन्जिनियर गोइतले बताए । ‘यहाँ प्रयोग हुने ताल्चा र साँचो अन्य कुनै कम्पनीले नक्कल गर्न सक्दैन,’ उनले भने, ‘उच्चस्तरीय प्रविधि भएकोले यो विश्वसनीय छ ।’

तेल ढुवानी गरिरहेका ट्यांकर समयसापेक्ष परिवर्तन नभएको हुँदा यो कार्यान्वयनमा ल्याउन लागिएको हो । यसमा मुख्य साँचो हुने भएकोले बीच बाटोमा चोरी हुने सम्भावना नहुने  विश्वास गरिएको छ । निगमको इन्जिनियरिङ विभागले निकै उपयोगी र वैज्ञानिक प्रविधि भनेर सिफारिस गरेको थियो । त्यसको लागि ट्यांकरमा जडान गरेका डोम कभर, हिन्ज, पाइप लाइनको डेलिभरी भल्व, पाइपलाइनमा जडान भएको फ्लेन्ज आदिको डिजाइन परिवर्तन गरिन्छ । यो परिवर्तन गर्न लाग्ने खर्च सम्बन्धित ट्यांकर धनीले बेहोरेका छन् । 

आइओसीले १४ वर्षअघि प्रयोगमा ल्याएको यो प्रविधि ढिलो गरी भए पनि प्रयोगमा ल्याउनु सकारात्मक भएको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । आइओसीबाट निगमको डिपो र डिपोबाट पेट्रोल पम्पमा ढुवानी गर्ने करिब १८ सय ट्यांकर छन् । ‘करिब चार सय ट्यांकरमा यो सिस्टम जडान गरिएको छ,’ प्रधानले भने, ‘सबै ट्यांकरमा जडान गरेर पूर्ण कार्यान्वयनमा ल्याउनु पर्छ ।’
ड्राइभरले तेल चोरी गर्ने गरेको व्यवसायी र निगमका अधिकारीले आरोप लगाउँदै आएका छन् । निगमले आइओसीबाट मासिक रुपमा करिब ३६ हजार पाँच सय किलोलिटर पेट्रोल, एक लाख १५ हजार किलोलिटर डिजेल, १८ सय किलोलिटर मट्टीतेल, १५ हजार किलोलिटर हवाई इन्धन आयात हुन्छ । पेट्रोल पम्प सञ्चालकले बिलिङ गरे अनुसारको तेल नपाएको भन्दै गुनासो गर्दै आएका छन् ।

 

प्रकाशित: १९ पुस २०७४ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App