coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ३ को राजधानी काभ्रे माग

बनेपा- प्रदेश नं ३ को राजधानी काभ्रे जिल्लामा हुनुपर्नेमा विभिन्न राजनीतिक दल, नवनिर्वाचित संघीय सांसद, प्रदेश सांसदहरू, सरकारी निकाय र सरोकारवालाले जोड दिएका छन् ।

                ‘उपत्यकामा संघीय राजधानी रहने भएपछि प्रदेश राजधानीका लागि उपत्यकाबाहिरको सबैभन्दा उपयुक्त स्थान काभ्रे जिल्ला नै हुन्छ । हामीहरूको यसैमा विशेष जोड रहेको छ,’ काभ्रे क्षेत्र नं २ का सांसद गोकुलप्रसाद बाँस्कोटाले भने ।

                राज्य पुनर्संरचनाकै क्रममा काभ्रेलाई ३ नं प्रदेशको राजधानी बनाउनुपर्नेमा काभ्रेमा एमालेसहितका अन्य राजनीतिक दलले एउटै माग राख्दै आएको उनको भनाइ छ । ‘दुई ठूला राजमार्गले जोडेको, उपत्यकासँग जोडिएको र विगतमै सहरी विकास मन्त्रालयले स्याटेलाइट सिटीका रूपमा घोषणा गरिसकेबाट समेत प्रदेश राजधानीका लागि काभ्रे सबैभन्दा उपयुक्त हो,’ बाँस्कोटाले दाबी गरे ।

                काभ्रे जिल्लामा प्रदेश राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार पर्याप्त रहेकाले यो जिल्ला उपयुक्त हुने काभ्रे १(ख)का प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाको भनाइ छ । ‘जिल्लामा प्रदेशसभा बस्ने, मुख्यमन्त्री, मुख्य सचिवलगायत मन्त्रालय राख्ने सरकारी पूर्वाधार पर्याप्त छन् । यस्तै, भविष्यमा थप पूर्वाधारका लागि आवश्यक सार्वजनिक जग्गा पनि रहेको छ’, उनले थपे।

काभ्रे जिल्लामा विश्वप्रसिद्ध काठमाडौं विश्वविद्यालय, यूरोपियन स्ट्याण्डर्डको धुलिखेल अस्पताल, नेपालकै एकीकृत र बृहत खानेपानी योजना सञ्चालन भइरहेको हुँदा यी सबै कुराले समेत राजधानी बन्नका लागि मद्दत गर्ने लामाले बताए ।

उता, धुलिखेल नगरपालिकाले समेत नगरपालिका हाताको २५ रोपनी र नगरभित्र रहेका १५ हजार रोपनी सार्वजनिक पर्ती जग्गा आवश्यक संरचना निर्माणका लागि उपलब्ध हुनसक्ने जनाएको छ । यसका लागि नगरपालिकाको बोर्ड बैठकले आवश्यक सबै खालका सहयोग गर्ने निर्णय गरिसकेको छ ।

‘धुलिखेल नगरपालिकाले तत्काल आवास तथा नपुग भवनसमेत भाडामा व्यवस्थापन गर्न सकिने जनाएको छ,’ शहरी विकास तथा भवन डिभिजनका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

                यसैबीच, सहरी विकास मन्त्रालयले प्रदेश राजधानीका लागि संभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सो जिल्लामा रहेका सरकारी भवनको विवरण पठाउन निर्देशन दिए बमोजिम काभ्रेबाट पनि केही संरचनाको सिफारिस गरी पठाइएको छ ।

‘हामीले आइटी पार्कको मुख्य भवनमा प्रदेश मुख्यमन्त्री, मुख्यसचिव तथा उहाँहरूको आवासका लागि उपयुक्त हुने ठहर गरेका छौं । यस्तै, शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा प्रमुखको कार्यालय, प्रदेशसभा हल र भूमि व्यवस्थापन तालिम कार्यालयमा ५ वटा प्रदेश मन्त्रालय रहनसक्ने सिफारिस गरेका छौं,’ काभ्रेका प्रजिअ शिवप्रसाद सिमखडाले जानकारी दिए ।

मन्त्रालयले १० वटासम्म प्रदेश मन्त्रालय रहनसक्ने भवनको सिफारिस पठाउन निर्देशन भएकोमा कृषि, पशु, घरेलु, सहकारी डिभिजन, शिक्षालगायतका कार्यालय प्रयोग हुनसक्ने सिफारिस गरिएको उनको भनाइ छ । ‘नेपाली सेनाको ब्यारेकनजिकै भएकाले जिल्ला पशु सेवा कार्यालयको नयाँ भवनमा प्रदेश सभामुखको निवासका लागि सिफारिस गरेका छौं,’ सिमखडाले थपे ।

शैक्षिक तालिम केन्द्रलाई नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्यूटमा सारेर हाल दिइरहेका सेवा प्रदान गर्न सकिने विकल्प सोचिएको उनको भनाइ छ । आइटी पार्क र अन्य सरकारी संरचनामा प्रदेशका संरचना रहन सक्नेगरी मन्त्रालयमा दुईवटा विकल्प पठाइएको छ । आइटी पार्कले १ सय ९२ रोपनी जग्गा ओगटेको हुँदा थप संरचना बनाउनमा समेत मद्दत पुग्ने सिफारिसमा उल्लेख छ  ।

‘यतिखेर पार्कमा केयुले काम गरिरहेको भए पनि बाँकी दुईवटा निजी कम्पनीले आंशिकमात्रै काम गरिरहेकाले पार्क नै उपयुक्त हुने ठहर भएअनुसार सिफारिस भएको हो,’ प्रजिअ सिमखडाले भने । जिल्लाका सरकारी भवनको उपयोग गर्न सकिने भए पनि ती भवनको मर्मत सम्भार तथा नयाँ भवन बनाउनका लागि आइटी पार्कमा ३८ करोड र धुलिखेलस्थित सरकारी भवनका लागि २७ करोड रुपैंयाँ आवश्यक पर्ने भनि दुईवटा विकल्पपठाइएको भवन डिभिजन स्रोतले बतायो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि काभ्रेलाई प्रदेश राजधानी बनाउन पूर्व राष्ट्रसेवकका संस्था काभ्रे सेवा समाज र काभ्रे उद्योग वाणिज्य संघले पटक–पटक कार्यक्रम गर्दै आएका थिए । निर्वाचनका क्रममा जिल्लाका सबै उम्मेदवारले प्रदेश नं ३ को राजधानी काभ्रेलाई बनाउने चुनावी अजेण्डासमेत बनाएका थिए । तीन साता अघिमात्रै काभ्रे सेवा समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक ज्ञापनपत्रमार्फत प्रदेशको राजधानी काभ्रेलाई बनाउन बलिया आधार पेश गरेको अध्यक्ष प्रह्लाद केसीले जानकारी दिए ।

‘काभ्रेमा रहेका सरकारी संरचनाको विस्तृत विवरण माग गरी सहरी विकास मन्त्रालयले जिल्लामा पत्राचार गरेको हुँदा हामी आशावादी भएका छौं । प्रदेशको राजधानीका लागि सरोकारवालाको हैसियतमा हरेक सहयोग गर्न तयार छौं,’ केसीले भने ।

 

प्रकाशित: १९ पुस २०७४ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App