८ वैशाख २०८१ शनिबार
अर्थ

२ सय ५२ कम्पनीमा एक खर्ब ५१ अर्ब वैदेशिक लगानी

काठमाडौँ– मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले मात्र निर्यातजन्य सामग्री उत्पादन गर्दैै आएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार काठमाडौंमा गरेको ‘निर्यात प्रवर्धन’ विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले द्रुत गतिमा उपभोग हुने उपभोग्य सामग्रीको अधिक व्यापार हुने गरेको र त्यस्ता आठवटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी रहेको बताए ।

तीनवटा उद्योगले पनि निर्यातजन्य सामग्री उत्पादन गरिरहेका जानकारी दिँदै उनले उपभोग्य सामग्री उत्पादन गर्ने आठ र तीनवटा उत्पादनमुखी उद्योगले मात्र निर्यात व्यापार गर्दै आएका जानकारी दिए ।

कार्यक्रमका अधिकांश वक्ताले भारतसँगको स्थिर मुद्रा सटही प्रणाली पुनरावलोकन हुनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, उद्यमशीलता विकासका निम्ति निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने प्राविधिक एवं भौतिक पूर्वाधारको पर्याप्त उपयोग हुनुपर्ने र तिनको निर्माणमा राज्यले जोड दिनुपर्ने बताए । 

अलैँची, अदुवा, चियाजस्ता निर्यातजन्य कृषि उपज भारतमात्र होइन अन्य मुलुकतर्फ निकासी गर्नेगरी ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने तथा गलैँचा, तयारी पोशाक र पश्मिनाको बजारीकरणमा आक्रामक ढंगले लाग्नुपर्ने आवश्यकता उनीहरुले औँल्याएका थिए । (रासस)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App