८ वैशाख २०८१ शनिबार
अर्थ

थानकोटको पेट्रोल ट्यांक बिग्रियो

काठमाडौं- नेपाल आयल निगम थानकोट डिपोको पेट्रोल भण्डारण ट्यांक बिग्रिएको छ।  ७ सय ६० किलोलिटर (७ लाख ६० हजार लिटर) ट्यांकको फ्लोटिङ रुफ (ढक्कन) मा समस्या देखिएपछि निगमले सो ट्यांकमा पेट्रोल भर्न छाडेको छ।

ट्यांकको माथिको भाग छोप्ने बिर्कोको घेरा भाँचिएपछि तेल वाष्पीकरण भई उडेर क्षति भएका ट्यांकी खाली गरेर प्रयोग गर्न छाडेको थानकोट डिपो प्रमुख नेत्र काफ्लेले बताए। 'ट्यांक बिग्रिएर पेट्रोल क्षति भएपछि मर्मत गर्न केन्द्रीय कार्यालयलाई आग्रह गरेका छौं,' उनले भने, 'ठूलो ट्यांक बिग्रिएपछि स्टक गर्ने क्षमता कमजोर भएको छ।'

सो ट्यांकमा राखिएको पेट्रोल बिक्रीको क्रममा परिमाण घटेपछि निगमको प्रावधिक टोलीले जाँच गरेको थियो। परीक्षण गर्दा तेल लिक भएको पुष्टि भएपछि ट्यांक खाली गरेको निगमको इन्जिनियरिङ विभागका निर्देशक वीरेन्द्र गोइतले बताए। 'ट्यांकको भित्रि भागमा समस्या देखिएपछि पेट्रोल भर्न रोकेका छौं,' भने, 'पेट्रोलको भ्यापर हुने भएकाले मर्मतसंहार गर्नुपर्ने भएको छ।'

थानकोट डिपोमा १८ लाख लिटर पेट्रोल भण्डारण क्षमता थियो। एउटा ट्यांक बिग्रिएपछि अब १० लाख ४० हजार लिटरभन्दा धेरै भण्डारण गर्न नसक्ने प्रमुख काफ्लेले बताए। 'एउटा ट्यांकी बिग्रिएपछि पेट्रोल सप्लाईमा कठिनाइ भएको छ,' उनले भने, 'भारतबाट आएका ट्यांकर सिधै पम्पमा डाइभर्ट गर्न थालेका छौं।'

ट्यांकमा लामो समयदेखि समस्या देखिएको र पटकपटक आग्रह गर्दा सुनुवाइ नभएको उनले बताए। 'छिटो मर्मतसम्भार गर्न निगममा अनुरोध गरेको छु,' उनले भने, 'तत्काल ट्यांक नबनाउने हो भने बजारमा तेल अभाव हुन्छ।'

भण्डारण क्षमता करिब एक तिहाइ घटेपछि रक्सौल, नेपालगन्ज र भैरहवाबाट समेत पेट्रोल ल्याउन थालेको उनले बताए। नेपालगन्ज र भैरहवा डिपोको समन्वयमा दैनिक करिब १ लाख ६० हजार लिटर पेट्रोल ल्याउन सुरु गरेको उनले बताए। 'ती दुई डिपोबाट ८०–८० किलोलिटर काठमाडौं भिœयाएका छौं,' उनले भने, 'बजारमा अभाव हुन नदिने योजना हो।'

रक्सौलबाट दैनिक २ लाख लिटर आइरहेको उनले बताए। भण्डारण गर्ने ठाउँ नभएपछि बाहिरबाट ल्याएको पेट्रोल सिधै पम्पमा डाइभर्ट गर्न सुरु गरेको छ। '२० हजार लिटर खपत गर्ने पम्पमा नापजाँचपछि ट्यांकरलाई सिधै पम्पमा पठाउन थालेका छौं,' उनले भने, 'तत्काल बनाउने तत्परता नदेखाए उपभोक्ताले दुःख पाउनेछन्।' उपत्यकामा दैनिक करिब तीन लाख लिटर पेट्रोल खपत हुने गरेको छ।

ट्यांक सिधै पेट्रोल पम्पमा डाइभर्ट गर्दा व्यवसायीलाई मर्का पर्ने पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ। 'क्यालिब्रेसनको विषयमा पहिलेदेखि नै कुरा उठ्दै आएको छ,' एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, 'ट्यांक बिग्रिएको हो भने छिटो बनाउनुपर्‍यो। सिधै डाइभर्ट गर्दा पम्प सञ्चालक र उपभोक्ता ठगिन्छन्।'

बजारको मागलाई ६ दिनमात्र धान्न सक्ने क्षमता भएको निगमको थानकोट डिपोमा थप समस्या आए बजारमा तेलको हाहाकार हुनेछ। बिग्रिएको ट्यांकलाई मर्मतसम्भार गर्ने तयारी भएको निगमले जनाएको छ। जति सक्दो छिटो मर्मत गर्न पहल भइरहेको निर्देशक गोइतले बताए। निगमसँग ट्यांकको मर्मत गर्न नसक्ने भएकाले विदेशबाट प्राविधिक झिकाउनु पर्नेछ। 'यो बनाउने ज्ञान हामीसँग छैन,' उनले भने, 'निगमले प्रक्रिया पुर्‍याएर बनाउन केही समय लाग्छ।' निगमसँग भण्डारण क्षमता कमजोर हुँदा बाटो र ढुवानीमा सामान्य अबरोध हुनासाथ बजारमा पेट्रोलको अभाव हुने गरेको छ। निगमलाई पेट्रोलियम भण्डारणको क्षमता बढाउन निर्देशन दिए पनि कार्यान्वयनमा आएको छैन।

सन् २००५ मा एसियाली विकास बैंकको सहयोगमा भण्डारण क्षमता बढाएयता डिपो मर्मतसम्भार  गरिएको छैन। निगमसँग पेट्रोल भण्डारण क्षमता थोरै भएकोले ४२ लाख लिटरका मट्टीतेल ट्यांकलाई पेट्रोलमा परिणत गर्ने तयारी गरेको छ। मट्टीतेल खपत घटेपछि निगमले थानकोट डिपोस्थित दुई मट्टीतेल ट्यांकलाई १ करोड ७० लाख रुपैयाँ लागतमा पेट्रोल भण्डारण गर्ने बनाउन लागेको हो। २१ लाख लिटरका दुई मट्टितेल ट्यांक पेट्रोलमा परिणत गर्ने निगमको योजना हो।

यसैगरी, निगमले विराटनगरमा रहेको मट्टीतेलको ट्यांकलाई पेट्रोलमा परिणत गर्ने तयारी गरेको छ। 'मट्टीतेलको प्रयोग घटेपछि विराटनगर डिपोको ट्यांकलाई कन्भर्जिङ गर्न लागेका हौं,' उनले भने, 'क्षमता बढाउन प्रयत्नशील छौं।'

यसैबीच, निगमले भैरहवामा रहेको पेट्रोल पम्पलाई अत्याधुनिक प्रविधि जडान गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ। निगमले आफ्नै लगानीमा पम्प सञ्चालन गरेको हो। मुलुकभर निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गरिरहेको भए पनि भैरहवाको एक पम्प निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरिरहेको छ।   

प्रकाशित: २५ श्रावण २०७३ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App