७ वैशाख २०८१ शुक्रबार
अर्थ

गुणस्तरको ‘क्यालिब्रेसन टावर’

काठमाडौं– पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको मापन गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले ‘क्यालिब्रेसन टावर’ सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका डिपोभित्र क्यालिब्रेसन गर्दै आएको विभागले पहिलोपटक आफ्नै स्वामीत्वमा हेटौंडामा ‘क्यालिब्रेसन टावर’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

टावर यसै साताबाट सञ्चालनमा ल्याएको विभागले जनाएको छ । स्वतन्त्र रुपमा ट्यांकरको परीक्षण गर्नुपर्ने भएकाले क्यालिब्रेसनको लागि पूर्वाधार निर्माण गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘अहिलेसम्म निगमका टावरलाई प्रयोग गरेर ट्यांकरको मापन गर्दै आएका थियौं,’ पुडासैनीले भने, ‘अब हेटौंडामा आफ्नै टावरबाट ट्यांकरको परीक्षण सुरु भएको छ ।’  ट्यांकरले बोक्ने इन्धनको परिमाण ठिक छ, छैन नाप्ने प्रविधि क्यालिब्रेसन हो । यसमा राज्यको मानक नापतौलसँग दाँजेर इन्धनको नापतौल (मेजरमेन्ट) ठिक भए नभएको हेरिन्छ । 

नियमनकारी निकाय नापतौलको आफ्नै स्वामित्वमा टावर नहुँदा अनुगमन प्रभावकारी हुन सकेको गुनासो थियो ।  अब प्रत्येक दिन ३–४ वटा ट्यांकर परीक्षण गर्न सकिने विभागको वीरगन्ज कार्यालयका प्रमुख राकेश झाले बताए । ‘जुन निकायमाथि छानबिन गर्नुपर्ने हो उसकै (निगमकै) डिपोमा गएर परीक्षण गर्नु पथ्र्यो,’ झाले भने, ‘अब आफ्नै टावरमा परीक्षण गर्नु सुरु गरेका छौं ।’

अहिले मुलुकभर करिब १८ सय ट्यांकरले इन्धन बोक्छन् । हरेक वर्ष क्यालिब्रेसन गर्नुपर्ने भए पनि ट्यांकरले क्यालिब्रेसन नगरी तेल ढुवानी गर्दै आएका छन् । ‘अधिकांश गाडीले ४–५ वर्षदेखि गराएका छैनन्,’ झाले भने, ‘अब अनिवार्य रुपमा क्यालिब्रेसन गर्न लगाउँछौं ।’ हेटौंडामा निर्माण गरिएको क्यालिब्रेसन टावरमा दुई हजार लिटरका दुइटा, एक हजार लिटरको एउटा, पाँच सय लिटरको एउटा ट्यांकी रहेको छ । अब आधुनिक प्रविधि प्रयोग गरेर ट्यांकरको परिणाम चेकजाँच हुन्छ । 

विगतमा विभागले छड्कै चेकजाँच गर्नु परे पनि निगमकै सहारा लिनुपर्ने बाध्यता थियो । निगमको डिपोका अधिकारी कहिलेकाहिँ भ्याउँदैनौं भनेर विभागले चाहे पनि मापन हुन सकेको थिए । नेपालमा गुड्ने अधिकांश क्लालिब्रेसन नगरी पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ । यही कारणले तेल चुहावट भएको निगम र पम्प सञ्चालकले विवाद गर्दै आएका छन् । अब क्रस भेरिफिकेसन गर्न सजिलो हुने भएको छ । गलत काम गरेको फेला परे तत्काल कारबाही गर्न सकिने विभागले जनाएको छ ।

निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद हुँदै आएको छ । निगमले भारतमा गरेको क्यालिब्रेसनलाई मान्यता दिनुपर्ने बताउँदै आएको छ भने व्यवसायीले नेपालभित्र नापतौल तथा गुणस्तर विभागले नै क्यालिब्रेसन गर्नुपर्ने माग राख्दै आएका छन् । निगम परिसरभित्र गरिने क्यालिब्रेसनबाट व्यवसायी ढुक्क नभएको पेट्रोलियम डिलर्स एसोसिएसनले बताउँदै आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ढुवानी गर्ने ट्यांकरले भारतमा गर्ने क्यालिब्रेसन कागजीमात्र हुने गरेको बताउँदै आएका थिए । ‘अब हामीलाई शंका लागेमा पनि क्यालिब्रेसन गरौं भन्न सक्छौं,’ एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘यसले सही मापन गर्ने भएकाले सबैलाई फाइदा पुग्छ ।’
इन्धन ट्यांकरको क्यालिब्रेसन गर्नुका साथै फ्लो मिटर पनि परीक्षण हुन्छ । इन्धन बोक्ने ट्यांकरको हरेक वर्ष क्यालिब्रेसन गर्नुुपर्ने भए पनि यहाँका ट्यांकरले यो नियम पालना गरेका छैनन् । 

ट्यांकरले बोक्ने इन्धनको परिमाण ठिक छ, छैन नाप्ने प्रविधि क्यालिब्रेसन हो
 

नापतौलले नयाँ टावर निर्माण गर्नु स्वागतयोग्य भए पनि निगम र विभागको मापदण्ड एउटै हुनुपर्ने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । विभागले तयार गरेको मापदण्ड एउटै हुनुप¥यो,’ भट्टराईले भने, ‘हाम्रो प्रतिनिधि पनि राख्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ यसअघि टावर निगमभित्र रहे पनि विभागले नै प्रमाणित गर्दै आएको उनले बताए । 

ढुवानीकर्ता क्यालिब्रेसन गर्न तयार रहेकाले निगम र विभागको सम्वन्वयमा प्रभावकारी रुपमा टावर सञ्चालन गर्नुपर्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘विभिन्न बहानामा नियमित परीक्षण हुन सकेको छैन,’ अर्यालले भने, ‘ढुवानीकर्ता क्यालिब्रेसन गर्न तत्पर छन् ।’ अहिलेसम्म एकपटक क्यालिब्रेसन गरेपछि वर्षौंसम्म गर्दैनथे । यो टावर सञ्चालनमा आएपछि तेल चुहावट नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

निजी ट्यांकरमा तेल लोड गरी लैजाँदा नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले मापन गरी प्रमाणपत्र दिएको क्यालिब्रेसन चार्टबमोजिम तेल भरेर सम्बन्धित बिक्रेताको प्रतिनिधिले चेकजाँच गरेर बुझ्छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गत रहेको प्रुभिङ टावरबाट क्यालिब्रेसन गर्नुपर्ने नियम छ । स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार व्यावसायिक रुपमा सञ्चालन भएका सबै नापतौललाई क्यालिब्रेसन गनुपर्छ । 

 

प्रकाशित: २० पुस २०७४ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App