८ वैशाख २०८१ शनिबार
राजनीति

अपत्यारिलो चुनाव खर्च !

झापा- सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएभन्दा ज्यादै थोरै छ । नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखैले देखेका आफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाइरहेका छन् ।

राष्ट्रिय राजनीतिका प्रभावशाली हस्ती एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्यधिक खर्च गर्ने नेता मानिन्छन् । तर दुवै नेताले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेपछि कार्यकर्ता नै अचम्ममा परेका छन् ।

आयोगको सीमाभन्दा कयौं गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् । खर्चको ‘सिलिङ’ तोक्ने तर त्यसको वास्तविकता बुझ्ने, अनुगमन गर्न ‘झन्झट’ नगर्ने आयोगको कमजोरीले निर्वाचन खर्च विवरण बुझाउने विषय ‘औपचारिकता’ मात्रै भएको छ ।  
‘यो एउटा औपचारिकता पूरा गर्ने कर्मकाण्ड मात्रै हो’, राजनीतिशास्त्रका अध्यापक चक्र बानियाँले भने, ‘न निर्वाचन आयोग यसमा गम्भीर छ न दलहरु । उम्मेदवारले जति बुझायो त्यति नै सदर हुने यो अर्थहीन कर्मकाण्डले दल र उम्मेदवारहरु पारदर्शी होलान् भन्ने आशा राख्नु व्यर्थ छ ।’
उम्मेदवारहरूले पेस गरेको खर्च विवरण कति अपत्यारिलो छ भन्ने जान्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको विवरण हेरे पुग्छ । राष्ट्रिय राजनीतिमा लामो समयदेखि छाएका यी दुवै नेता चुनावमा अत्यधिक खर्च गर्ने नेता मानिन्छन् । यसपटक चुनावमा पराजित कांग्रेस नेता सिटौला तीन दलीय घेराबन्दीमा पर्दा पनि उनलाई ‘सजिलै जितिने’ रिपोर्टिङ कार्यकर्ता पंक्तिले गरेको थियो । धेरैले खर्च परिचालन गर्न पाइने आशाले उनलाई चुनावमा उठ्न लगाएको चर्चा कांग्रेस वृत्तमा व्यापक छ ।
ओलीले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा २४ लाख १ हजार १ सय ६० रुपैयाँ खर्च भएको उल्लेख छ । जसमा मतदाता नामावली शीर्षकमा २ हजार खर्च देखाइएको छ । सवारीसाधन शीर्षकमा ४ लाख ६२ हजार खर्च देखाइएको छ । जब कि ओलीको निर्वाचन क्षेत्रमा हरेक दिन सयौं सवारीसाधन गुड्थे । ‘त्यो एक दिनलाई पनि नपुग्ने खर्च मात्रै हो’, ओलीको प्रचार अभियानमा सहभागी बनेका दमकका एक एमाले  नेताले भने, ‘यस्ता खर्च बेहिसाब भएका छन् ।’
ओलीको निर्वाचन परिचालन कमिटीले चुनावी अभियानमा खटिएका कार्यकर्ताका लागि अन्यत्रजस्तै मोटरसाइकलमा इन्धन भरिदिने प्रबन्ध पनि गरेको थियो । ओली निकट स्रोतका अनुसार इन्धनमा मात्रै कम्तीमा १५ लाख खर्च भएको थियो । तर, निर्वाचन कार्यालयमा बुझाएको विवरणमा भने ९९ हजार ९ सय ६० रुपैयाँ मात्रै इन्धन खर्च भएको उल्लेख छ । सामग्री छपाइ शीर्षकमा ओलीको खर्च १ लाख देखाइएको छ । यति खर्चमै अध्यक्षले चुनाव लड्नुभयो त भन्ने नागरिकको प्रश्नमा ओलीको चुनाव परिचालन कमिटी संयोजक रहेका एमाले नेता होमबहादुर थापाले भने, ‘यसपटक त्यस्तो कहाँ खर्च भयो र ? गाडी पनि धेरै कुदेनन्, तेल पनि हाल्नु परेन । फेरि विपक्षी उम्मेदवार खर्च गर्ने खालको नभएकाले पनि हाम्रो खर्च भएन ।’
थापाले यस्तो दाबी गरे पनि जिल्लाकै सबैभन्दा ठूलो र धेरै मतदाता रहेको झापा ५ मा महँगा प्रचार सामग्री देख्नेहरु यो सुनेर जिब्रो टोक्छन् । ‘क्षेत्रभर राखिएका फ्लेक्स, प्रचार सामग्री हेर्दा त्यो खर्चले छेउ पनि धान्दैन’, गौरीगन्जका दिनानाथ राजवंशीले भने, ‘खर्च त धेरै देखिएको थियो । पैसाको चलखेलले गाउँमा दिनरात चर्चा पाएको थियो ।’                                                            त्यस्तै प्रतिनिधि परिचालन भनेर ओलीले २ लाख खर्च देखाएका छन् । निर्वाचनको दिन मात्रै हरेक बुथमा परिचालित कार्यकर्तालाई खाजा र खाना खर्चका रुपमा यसको कयौं गुणा बढी रकम दिइएको थियो । त्यस्तै प्रचार–प्रसार शीर्षकमा ओलीले ९६ हजार २ सय रुपैयाँ खर्च भएको देखाएका छन् । ओलीले आफ्नै फोटो र सूर्य चिह्न अंकित लोगो बनाएर चुनावको मुखमा जिल्लाभर बाँड्न लगाएका थिए । ओलीको अर्को धेरै खर्च भएको कार्यालय सञ्चालन शीर्षकमा हो । जसमा उनले ४ लाख ६० हजार खर्च भएको देखाएका छन् ।
त्यसबाहेक जितेपछि प्रमाणपत्र थाप्न राजधानीबाट झापा आउँदा उनी यती एयरको विमान चार्टर्ड गरेर आएका थिए ।  यसबाहेक गौरीगन्ज, लखनपुर र जुरोपानी क्षेत्रको सुकुम्बासी बस्तीमा ओलीका कार्यकर्ताले जाडोका लागि न्यानो कपडा र बिछ््यौनाका सामग्रीसमेत बाँडेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका थिए ।
चुनावको एक महिनादेखि कुनै दिन आफ्नो क्षेत्र नछाडी घरदैलो गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै दैनिक दर्जनौं सवारीसाधन र कार्यकर्ताको लर्को देखिन्थ्यो । एमाले, माओवादी र राप्रपासहितको गठबन्धनविरुद्ध एक्लै लडेका उनी सुरुबाटै ‘डेन्जर जोन’ मा थिए । त्यसैले उनले यसपटक चुनाव जित्न भएभरको प्रयास गरेका थिए । विपक्षीहरु सिटौलाले पैसाको खोलो बगाएर पनि नजितेको आरोप लगाउँछन् । तर, सिटौलाले देखाएको खर्च विवरण भन उनीहरुको आरोपजस्तो ठूलो छैन । २२ लाख ६८ हजारमै उनले चुनाव लड्ने काम फत्ते गरेको उनको खर्च विवरणले देखाउँछ । विवरणअनुसार ४ लाख ७० हजार रुपैयाँ उनको चुनावी क्रममा सवारीसाधनमा खर्च भएको छ । इन्धनमा १ लाख, प्रतिनिधि परिचालनमा २ लाख , सामग्री छपाइमा ८० हजार खर्च भएको उनको दाबी छ । गोष्ठी अन्तरक्रिया र कार्यालय सञ्चालनमा सिटौलाले सबैभन्दा धेरै खर्च भएको देखाएका छन् । जसमा क्रमशः ६ लाख ५० हजार र ४ लाख ६५ हजार उल्लेख गरिएको छ । दलहरुले आमसभाको खर्च गोष्ठीमा समेटेको बताएका छन् । यति खर्च देखाउँदा मान्छेले पत्याउलान् ? नागरिकको प्रश्नमा कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले भने, ‘किन नपत्याउने ? आयोगले दिएको सीमाभन्दा माथि खर्च गर्न सक्ने अवस्था र सामथ्र्य दुवै थिएन । त्यसैले जति खर्च भयो, त्यही विवरण हामीले बुझायौं ।’  
झापा १ बाट निर्वाचित बनेका माओवादी नेता सुरेन्द्र (राम) कार्कीको खर्च विवरण झनै अपत्यारिलो छ । चुनावका लागि  काँकडभिट्टास्थित ‘राजकुमार आर्टस्’ मा झन्डा बनाउन लगाएका कार्कीको सम्पर्क कार्यालयमा उक्त पसलले १० लाखको रसिद बुझाएको छ । त्यो पनि झन्डाको मात्रै । झन्डाबाहेक ठूला फ्लेक्स, साना प्रचार सामग्री, अपिलको खर्च छुट्टै छ ।  तर, कार्कीले निर्वाचन कार्यालय झापामा बुझाएको विवरणमा ‘सामग्री छपाइ’ शीर्षकको खर्चमा सात लाख देखाएका छन् ।  
झापा १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने निश्चित भएर झापा आउनासाथ कार्कीले धुलाबारीमा सम्पर्क कार्यालय स्थापना गरेका थिए  । कार्यालयमार्फत खर्च गर्न भन्दै उनले १८ लाख रुपैयाँ क्षेत्रीय निर्वाचन परिचालन कमिटीलाई दिएको नेताहरू बताउँछन् । ‘बाहिरबाट कति खर्च भयो त्यो थाहा भएन, कार्यालयमार्फत करिब ४० लाख जति खर्च भएको छ’, झापा १ कै एक माओवादी नेताले भने । कार्कीले कार्यालय सञ्चालन शीर्षकमा भएको खर्च २५ हजार मात्रै देखाएका छन् । एक महिनाजति निरन्तर चारवटा  स्कार्पियो र अनगिन्ती कार र बाइक लिएर हिँडेका  कार्कीले सवारीसाधन खर्च भनेर जम्मा ५ लाखको हिसाब पेस गरेका छन् ।  उनी निकट कार्यकर्ताका अनुसार सवारीसाधनमा मात्रै कम्तीमा १२ लाख रुपैयाँ खर्च भएको छ । तर, २४ लाख १० हजारमा आफूले सम्पूर्ण खर्च विवरण पु¥याएको दाबी कार्कीको छ ।
२०७० को चुनावमा प्रशस्त पैसाको चलखेल गरेर पनि चुनाव जित्न नसकेको गुनासो पार्टी वृत्तमा गर्दै आएका एलपी साँवाले झापा ४ मा यसपटक सफलता पाए । म्यानपावर व्यवसायी पृष्ठभूमिका एमालेका साँवाले बुझाएको खर्च विवरण झनै अविश्वसनीय छ ।  उनले यसपटक २३ लाख ६३ हजार खर्च भएको जनाएका छन् । उनको खर्च विवरणमा सबैभन्दा धेरै रकम ‘विविध’ मा छ । जुन शीर्षकमा ५ लाख २० हजार खर्च भएको देखाइएको छ । प्रतिनिधि परिचालनमा ५ लाख १० हजार, गोष्ठीमा ४ लाख र सवारीसाधनमा २ लाख १५ हजार देखाइएको छ ।  उनको खर्च विवरणसँग उनकै सहयात्री पनि विश्वस्त छैनन् । तर, उनीहरु भन्न भने चाहँदैनन् । ‘झापामा सबैभन्दा राम्रो खर्च गरेर चुनाव लडेको उहाँले नै हो’, एमाले झापाका एक पदाधिकारीले भने, ‘त्यसैले उहाँको खर्च त्यतिमात्रै नहोला । हुन त आयोगमा बुझाउने खर्च विवरण कसको पो सही होला र ?’
आयोगले प्रतिनिधसभा सदस्यका लागि प्रत्यक्षबाट चुनाव लड्ने उम्मेदवारले २५ लाख रुपैयाँभन्दा बढी खर्च गर्न नपाउने सीमा तोकेको थियो ।

प्रकाशित: २० पुस २०७४ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App