५ वैशाख २०८१ बुधबार
समाज

रोगसँगै ऋणको भारी

इलाम – जिल्लाको दुर्गममा पर्ने फाकफोकथुम गाउँपालिका–७, फुएतप्पाका १० वर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा छोराको उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर भौंतारिइरहेका छन्। 

अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ खर्च जुटाउनु ‘फलामको चिउरा चपाए’ जस्तै हो । ‘के गर्नु, उपचार नगरौं छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौं जायजेथाले धान्न नसक्ने ऋण थाप्लोमा परिसक्यो,’ रोमनाथले भने, ‘डाक्टरले छोरालाई निको हुन्छ भनेकाले मुटु मिचेर उपचारमा खर्च गर्नुपरेको छ, आफन्त र छिमेकीले पैसा उठाएर पठाइदिएका छन्।’ 

सरकारले विशिष्ट व्यक्तिको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दूरदराजका विपन्न बिरामीको मन भत्भती पोल्छ ।

उनले अहिलेसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको बताए । ‘एक सातामा डिस्चार्ज दिन्छु त भनेको छ तर यतै कहीँ बसेर नियमित चिकित्सकको निगरानीमा रहनुपर्ने अर्काे महाप्रलय आइलाग्दैछ,’ रोमनाथले बुधबार काठमाडौंबाट टेलिफोनमा भने, ‘यहाँ बस्ने र उपचार गर्ने खर्च कसरी जुटाउने भनेर त सोच्नै सकेको छैन।’

दुर्गम गाउँमा खेतीपाती गरेर गुजारा गरिरहेका रोमनाथका छोरा सञ्जीव मंसिर १२ मा एक्कासि बिरामी परे । झापाको बिर्तासिटी अस्पताल लैजाँदा मिर्गौलामा खराबी देखियो । अस्पतालले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान भन्योे । प्रतिष्ठानले मंसिर १८ सम्म उपचार गरेर रेफर गरेअनुसार  रोमनाथ छोरालाई लिएर काठमाडौं गएका हुन् । ‘काठमाडौं आएको महिना दिन भयो, उपचार खर्च एकातिर छ, घरमा रहेका परिवारका सदस्यको पालनपोषण अर्कातिर,’ रोमनाथले भने, ‘मुटुमा बज्र परेझैं भएको छ, कसले सुनिदेला हाम्रो पीडा ?’ 

सञ्जीवका दुवै मिर्गौलामा खराबी भएकाले धरानमा तीनपटक र काठमाडौं गएपछि करिब १४ पटक ‘डाइलाइसिस’ गराइसकिएको छ । सरकारले डाइलाइसिसको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि वडादेखि काठमाडौंसम्मका अस्पतालमा कागजात मिलाउने झन्झटिलो प्रक्रियाका कारण उनले यो सुविधा लिन पनि सकेका छैनन् । ‘अहिलेसम्म खर्च अस्पतालमा बाँकी राखेरै चलाउँदैछु, पछि तिर्ने कसरी हो थाहा छैन,’ उनले थपे, ‘भएको सुविधा लिनसमेत हामीजस्ताले निकै सास्ती खेप्नुपर्ने रहेछ।’ 

चिकित्सकले सञ्जीवको जस्तो समस्या भएका बिरामीमध्ये ५ प्रतिशतको मात्रै ‘रिकभर’ भएको भन्दै उपचार सुरु गरेका थिए । तर, उपचार गर्दै जाँदा अहिले ६० प्रतिशत सुधार भएकाले छोराको ज्यान बच्ने आश पलाएको रोमनाथले सुनाए । ‘अब डाक्टरले छोरो त बचाइदिन्छन् जस्तो लाग्छ,’ उनले भने, ‘तर, उसको उपचारमा लागेको खर्च तिर्नेगरी मचाहिँ कसरी बाँचौंजस्तो भइसक्यो।’ 

जिल्लाकै सूर्याेदय नगरपालिका–५, समालबुङका १५ वर्षीय प्रतीक राईको समस्या पनि सञ्जीवको जस्तै छ । करिब ४ वर्षअघि उनको दाहिने खुट्टामा सामान्य समस्या देखियो । उपचारका लागि काठमाडौं पुर्‍याउँदा चिकित्सकले उनको खुट्टा काटेर फाल्नुपर्ने भन्दै थप उपचारका लागि भारत लैजान सल्लाह दिए । 

भारतको भेल्लोरस्थित केएमसी हस्पिटलमा उपचार गराउँदा उनको खुट्टामा ‘बोन इन्फेक्सन’ देखियो । खुट्टा काट्नु त परेन तर नियमित रूपमा गर्नुपर्ने उपचारले उनको परिवारलाई ठूलो आर्थिक संकट आइलाग्यो । उनको उपचारमा अहिलेसम्म ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ‘अहिले ३–३ महिनामा जाँच गराउन भेल्लोर लैजानुपर्छ,’ बुबा टीकाबहादुरले भने, ‘एक पटकमा ५० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ ।’ हड्डीको समस्याका कारण चार वर्षअघि उनको दाहिने खुट्टा नबढ्ने समस्या देखियो । तर, देब्रे खुट्टा बढिरहेको छ । उनलाई लामो र छोटो खुट्टाका कारण हिँडडुल गर्न पनि समस्या छ।

खेतीकिसानी गरेरै जीविका चलाइरहेको राई परिवारलाई उपचार खर्च र हातमुख जोर्ने खर्च जुटाउन सकस भएको छिमेकी हीरा आचार्यले बताए । ‘टीकाबहादुरको परिवारको आर्थिक अवस्था ज्यादै दयनीय छ, उपचारमा मोटो रकम खर्चनुपर्दा के गरौं र कसो गरौं भएको छ,’ आचार्यले भने, ‘पहिला त हामी छिमेकीले पनि पैसा उठाएर उपचारमा सहयोग ग¥यौं तर सधैं त्यसरी पनि थाम्न नसकिँदोरहेछ!’ 

टीकाबहादुर उपचारमा कसैले सहायता गरे ठूलो गुन लाग्ने बताउँछन्। ‘खेती गरी कमाएको पैसाले खानलाउनै धौधौ छ,’ उनले भने, ‘उपचारमा त्यत्रो रकम नियमित जुटाउनु पर्‍यो, पुरानै ऋणले टाउको उठाउनै नसक्ने बनाइसकेको छ ।’ उनले सरकारी सहयोगबिना छोराको उपचारमा ज्यादै संकट आइलागेको सुनाए। 

सरकारले विशिष्ट व्यक्तिहरूको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दूरदराजका विपन्न बिरामीको मन भत्भती पोल्छ । टाउकोमा ऋणको भारी बोकेर रोगसँग संघर्ष गरिरहेका विकटका विपन्न सरकारले विशिष्ट व्यक्तिहरूको उपचार र सेवा–सुविधामा छुट्याएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन्। 

लाखौैं रुपैयाँ खर्च भइसके पनि वर्षाैंदेखि दीर्घ रोग निको हुन नसकेर थलिएका बिरामी गाउँघरमा सयौं भेटिन्छन् । ‘उपचार खर्च नहुँदा सहयोग माग्ननेले दिएका निवेदनको चाङ अफिसको टेबलमा रहन्छन्,’ महिला जागरण संघकी अध्यक्ष विष्णु दाहाल भन्छिन्, ‘परिवारको साथ नभएका र दीर्घरोग लागेका कतिपय वृद्धवृद्धालाई त सामान्य औषधि उपचार गरेर वृद्धाश्रममा राख्नुपरेको छ।’ 

पैसा नहुँंदा सास्ती

जिल्लाको बरबोटेस्थित आरुबोटे गाउँका ७८ वर्षीय धनरूप नोगू लिम्बु घाँटीमा पलाएको ऐजुरु (ट्युमर) को असह्य पीडा खेपेर बाँच्न बाध्य छन् । डाक्टरले उपचारमा २ लाख रुपैयाँ लाग्ने बताएपछि आर्थिक हैसियत नभएका उनीसँग पीडा सहेर बाँच्नुको विकल्प छैन।

१९९६ साल मंसिर १ मा जन्मेका लिम्बुको घाँटीमा २०२६ मा सानो कोठीजस्तो देखियो । बढ्दै गएकाले उनले सदरमुकामस्थित जिल्ला अस्पताल र सिङफ्रिङस्थित मेघबहादुर सामुदायिक अस्पतालमा उपचार गराए । उपचार गराउँदा गाउँलेले १३ हजार रुपैयाँ चन्दा उठाइदिए । तर, त्यसले एकछेउ पनि पुगेन। 

‘करिब २० वर्षअघि नै मैले यसको उपचार गराउन खोजें तर डाक्टरले २ लाख रुपैयाँ लाग्छ भनेपछि नौ–नारी गलेर आए,’ उनले सुनाए, ‘खाने–लाउने पैसासमेत नभएको मलाई २ लाख रुपैयाँ त सपनाजस्तो लाग्यो । कल्पनाभन्दा बाहिरको कुरा ।’ आर्थिक अवस्था कमजोर भएकै कारण आफू जीवनभर पीडित हुनुपरेको उनले बताए । ‘हुनेखानेको परिवारमा जन्मेको भए त मैले पनि उपचार पाएर अरूजस्तै सामान्य तवरले जीवन बाँच्न सक्ने थिएँ होला,’ उनले थपे, ‘तर, अब त मर्ने दिन पनि टाढा छैन, दुःख लुकाउने दिन आउँदैछ बाबु।’ 

उनको घाँटीमा पलाएको मासु अहिले गालासम्म फैलिएको छ । त्यसैका कारण उनी न राम्रोसँग बोल्न सक्छन्, न खाना खान र सुत्न नै । ‘भित्रपट्टि घाउ छ, बेला–बेलामा मुखबाट पिप र रगत बग्छ,’ उनले भने, ‘खाना खाँदा, दुख्छ, हिँडडुल गर्दा पनि साह«ै अप्ठेरो हुन्छ । कमसेकम उपचारसम्म गराउन सकेको भए यतिका वर्ष कति सुखले बाँच्ने थिएँ होला ।’ उनको समस्याबारे धेरैले जानकारी लिएर गए तर सहयोग गर्नेगरी कोही पनि फर्केर आएनन्।

फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाको एउटा परिवार पनि यस्तै आर्थिक दलदलमा छ । स्थानीय २७ वर्षे तुलसी सुब्बा र उनकी पत्नी पवित्रा दुवै दृष्टिविहीन छन्। परिवारबाट सहयोग नभएपछि उनीहरू दुवै गाउँमा सानो चटपटे पसल खोलेर गुजारा गर्दैछन् । तर, दृष्टिविहीनको चटपटे पसलमा चटपटे खान आउने पनि छिटफुटमात्रै हुने स्थानीय बताउँछन् । पवित्रा ८ महिनाकी गर्भवतीसमेत छिन् । तर, आर्थिक अभावकै कारण गर्भवतीका लागि पुग्नुपर्ने पोषण खान नसकेको उनी बताउँछिन्। 

‘घर–व्यवहारमा दिनहुँ उकाली–ओराली पार गर्नुपर्छ, कतै यसो ठेस लागेरै लडियो भने पनि ठूलो बज्रपात आइलाग्न सक्छ,’ तुलसी भन्छन्, ‘हातमुख जोर्ने मेलोका लागि पनि दिनहुँ सकेको काम त गर्नुपरेकै छ।’ उनले घर–परिवारले खास वास्ता नगरे पनि बिहान–बेलुकाको खाना भने दिने गरेको बताए । ‘लुगाफाटो, औषधि–उपचारलगायत सबै खर्च हामीले नै जोहो गर्दैछौं,’ पवित्राले भनिन्, ‘कसैले आर्थिक सहायता गरिदिए हाम्रो कल्याण हुनेथियो।’   

अपांगता र असहायको उद्धारमा क्रियाशील करुणा फाउन्डेसनका प्रदीप अधिकारी आर्थिक विपन्नताले दीर्घरोग पालेर बस्न बाध्य व्यक्तिहरू गाउँ–गाउँमा गनेरै नसकिने संख्यामा रहेको बताउँछन् । ‘उपचार अभावमा थलिएका धेरै व्यक्ति ठाउँ–ठाउँमा भेटिन्छन्,’ उनले भने, ‘रोग ठूलो हुँदैन तर ठूलो खर्च चाहिने भएकाले त्यस्तो खर्च जुटाउन नसक्दा पिरोलिएर रोग पाल्नु उनीहरूको बाध्यता बनेको देखिन्छ ।’ उनले यस्ता पीडितमध्ये केहीलाई सानोतिनो खर्च स्थानीय संघ–संस्थाहरूले उपलब्ध गराउने भएपनि कसैको उपचारमा लाखौं रुपैयाँ लाग्ने भएकाले खर्च जुटाउन समस्या हुने गरेको बताए । 

मानवअधिकार मञ्च नेपालका सचिव देवेन्द्र विश्वकर्माले निम्न आर्थिकस्तर भएका धेरै व्यक्ति उपचारमा आर्थिक सहयोग माग्न आउने गरेको बताए । ‘उपचार खर्च अभावले वर्षाैं घरमै थलिएका, उपचार हुनसक्ने मानसिक रोग भएपनि सडकमा भौंतारिन बाध्य व्यक्तिको उपचारमा सरकारी र गैरसरकारी संघ–संस्थाले विशेष काम गर्नु आवश्यक छ,’ उनले भने, ‘राज्यको स्रोत–साधनमा गरिबको पनि उत्तिकै अधिकार हुन्छ । त्यहाँसम्म उनीहरूको पहुँच बढाउन सबैले सहायता गर्नुपर्छ ।’

४० हजार नहुँदा अस्पतालमै 

इलाम नगरपालिका–५, बरबोटेकी १८ वर्षीया प्रेयसी राई यतिबेला काठमाडौंको गंगालाल हृदय केन्द्रमा उपचाररत छिन् । उनलाई अस्पतालले ४ दिनअघि नै डिस्चार्ज दिएको छ । तर, उपचारक्रममा खर्च भएको ४० हजार रुपैयाँ जुटाउन नसक्दा उनी अस्पतालमै छट्पटाइरहेकी छिन्। 

बरबोटे गाउँको तल्लो भेगमा पर्ने प्रेयसीको घरमा बुबाआमा र बहिनीमात्रै छन् । आर्थिक अवस्था ज्यादै दयनीय भएको उनको परिवारले गाउँतिरबाट चन्दा संकलन गरी प्रेयसीको उपचारमा करिब ५ लाख रुपैयाँ खर्च ग¥यो । ‘पुरानो ऋण त थाप्लोमा छँदैछ, छोरीलाई अस्पतालबाट निकाल्न वरिपरिका मेडिकलमा लागेको तिर्ने करिब ४० हजार रुपैयाँ नभएर डिस्चार्ज भएर पनि उनलाई अस्पतालमै राख्नुपरेको छ,’ घरमै रहेका उनका बुवा बुद्धिबल राईले सुनाए, ‘काठमाडौंमा उसका (प्रेयसीकै) दिदीभिनाजुले रुँगिरहेका छन्, अस्पतालबाट निकाल्ने पैसा जम्मा गर्न नसकेर रोएको छु।’ 

उपचारका लागि गत कात्तिकदेखि काठमाडौंमै रहेकी प्रेयसी मुटुका दुवै भल्व फेर्नुपर्‍यो । उपचार सफल भइसकेको डाक्टरले बताएपछि छोरीसँग मोबाइलमा कुरा गर्नसम्म पाएका छन् उनले। करिब ४ वर्षअघि १० कक्षामा पढ्दै गरेकी प्रेयसीलाई एक्कासि जे खायो त्यही वान्ता हुने लक्षण देखियो । बुवा बुद्धिबलले उनलाई झापाको बिर्तासिटी हस्पिटलमा पु¥याए । बिर्तासिटीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गर्‍यो। ‘धरानले भारतको भेल्लोर लैजान भने पनि पैसा नभएर घरै फर्काएको थिएँ, पछि फेरि उही बिरामले सिकिस्त भएपछि गाउँलेकै सहयोगमा छोरीलाई काठमाडौं पु¥याएको हुँ,’ बुद्धिबलले भावुक हुँदै भने, ‘सम्पत्तिका नाममा दुर्गम गाउँको १२ रोपनी जमिन भएको मलाई ५ लाख रुपैयाँ ऋणले थिचेको छ, अहिले ४० हजार रुपैयाँ नभएर छोरीलाई अस्पतालबाट घर ल्याउन सकेको छैन।’

प्रेयसी पढ्नमा तेज छिन् । तर, बिरामी भएकै कारण उनको पढाइ कक्षा १२ मा पुगेर अड्किएको छ । ‘छोरीले म पढेर जागिर खाएर भए पनि मेरो उपचारको ऋण तिर्छु बाबा भन्दा आँखामा आँसु अडिँदैन मेरो,’ बुद्धिबल भन्छन्, ‘उसलाई अस्पतालबाट निकालेर घरसम्म ल्याउन पाए, उसको पढ्ने सपना पूरा गरिदिन पाए उसको जीवन सार्थक हुन्थ्यो। हामीलाई ठूलो गुन हुन्थ्यो।’ 

 

प्रकाशित: २१ पुस २०७४ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App