४ वैशाख २०८१ मंगलबार
समाज

घरमूलीको मृत्युमा छाडिन्छ जग्गामा ढिस्को

उपत्यकाका केही नेवार समुदायले भोगचलन गर्ने जग्गाको बीच भागमा माटोका अग्गा चुचुरा राखिएका हुन्छन् । खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै जाँदा पनि धेरै ठाउँमा यस्ता माटोका ढिस्का त्यत्तिकै राखिएका हुन्छन् ।

अन्यत्रको माटो खारेर सम्याउँदा पनि यस्ता ढिस्कालाई भने जस्ताको त्यस्तै राखिएको भेटिन्छ । जग्गामा यसरी ढिस्को छाड्ने चलन नेवार समुदायको मृत्यु संस्कारसम्बन्धी मिथकसँग जोडिएको छ ।

अन्यत्रको माटो खारेर सम्याउँदा पनि यस्ता ढिस्कालाई भने जस्ताको त्यस्तै राखिएको भेटिन्छ । जग्गामा यसरी ढिस्को छाड्ने चलन नेवार समुदायको मृत्यु संस्कारसम्बन्धी मिथकसँग जोडिएको छ ।

उपत्यकाका कतिपय नेवारी समुदायमा घरमुलीको मृत्यु हुँदा उसको सम्झनामा एक पैसाभन्दा थोरै क्षेत्रफल जग्गा छाड्ने चलन रहेकाले खाली जग्गामा यस्तो ढिस्को देखिएको हो । ‘यो चलन कहिलेदेखि चलेको हो भन्ने यथार्थ हामीलाई पनि थाहा छैन,’ भक्तपुर देकोचाका श्यामलाल श्रेष्ठले भने, ‘हामीले पनि पुस्तौपुस्ताले मान्दै आएको प्रचलनलाई अनुसरण गरेका हौँ ।’ उनले यस्ता जग्गाभित्र घर बनाउने, किनबेच गर्नेलगायत कार्य गर्न नहुने मान्यता छ । तर अचेल जग्गाको भाउ बढेपछि भने त्यस्ता ढिस्का समेत भत्काउन थालिएको उनले बताए । उपत्यकाका नेवार बस्ती छेउका खुला क्षेत्रमा मात्र अचेल यस्ता ढिस्का देख्न सकिन्छ । भक्तपुरको कमलविनायक, मध्यपुर थिमी, चाँगुनारायणलगायत स्थानमा यस्ता ढिस्का भेटिन्छन् ।
भक्तपुर, कमलविनायकका स्थानीय ज्ञानुराज श्रेष्ठले घरमूलीको सम्झनामा जग्गा छाड्ने चलन पुरानो भएको बताए । उनका अनुसार यस्तो जग्गालाई नेवारीमा ‘भूलां’ भनिन्छ । ‘अहिले त धेरैले पुराना ढिस्का भत्काउन थालेका छन्, नेवार समुदायले अन्य समुदायका व्यक्तिलाई जग्गा बेचेपछि पनि ढिस्का भत्काएका हुन् ।’ उनी पहिलेपहिले त्यस्ता ढिस्कालाई हेरेर पूजा गरी बाबुआमाको सम्झना गर्ने चलन रहेको बताउँछन् । ‘अहिले यो परम्परा हराएको छ,’ उनले भने, ‘थोरैले मात्रै मृतकका नाममा जग्गा छाड्दै आएका छन्, धेरैले परम्परा भुल्न थालेका छन् ।’
भक्तपुर, बागेश्वरी कलेजका सह–प्राचार्य ज्ञानसागर प्रजापतिका अनुसार यसको किवंदन्ती अनौठो छ । उनका अनुसार परापूर्वकालमा एक तोला तौल भएकी एक महारानी थिइन् । तोला नाम गरेकी ती महारानी भक्तपुर कमलविनायकस्थित कमलपोखरीको पूर्वपट्टिको निलधारा (वचुहिटी)मा बस्थिन् । उनी बस्ने टोल एउटा ढिस्को मिलेर बनेको थियो ।
उनी हरेक साँझ नजिकैको कमलपोखरीमा कमलको फूल टिप्न जान्थिन् । शरीरको तौल एक तोला भएकाले उनी कमलको पातमा बसेर फूल टिप्थन् । ती रानीले आफ्नो मृत्यु हुनुपूर्व आफू बसेको जग्गाको ढिस्को (भुलां) राख्नु भनेकी थिइन् । उनको मृत्युपछि प्रजाले रानीको आज्ञालाई शिरोधार्य गरेर ढिस्को राख्न थालेको किवंदन्ती छ ।
‘रानीको मृत्युपश्चात उनी बसेको ढिस्को कसैले पनि भत्काएनन्, बरु नेवार समुदायले त्यसको सिको गर्न थालेका रहेछन्,’ प्रजापतिले भने, ‘नेवार समुदायमा घरमूलीको मृत्यु हुँदा अहिले पनि जमिनको अग्लो ढिस्को छाड्नुपर्ने प्रचलन कायमै छ ।’
संस्कृतिविद् ओम धांैभडेल यो मिथक राजा–रानीले सुनका गहना लगाउनु हुन्न भन्ने मान्यतासँग सम्बन्धित रहेको बताउँछन् । ‘हामीले सुने अनुसार राजा–रानीले सुनका गहना लगाउन नहुने पहिलेको मान्यता रहेछ, एकदिन ती तोलारानीले राजाको आग्रह नमानी सुनका गहना लगाएर फूल टिप्न पोखरीमा पसिछन्, फूल टिप्न निहुरिने क्रममा उनी पानीमा डुबिन् भन्ने  किंवदन्ती छ ।’
उनले उक्त समयदेखि मृतकको नाममा जग्गा छाड्ने प्रचलन चलेको बताए । ‘यसको कुनै लिखित दस्तावेज छैनन्,’ उनले भने, ‘अहिले मृतकको नाममा जग्गा छाड्ने परम्परा हराइसकेको छ ।’

प्रकाशित: २२ पुस २०७४ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App