coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘पुनर्निर्माण बाटोतर्फ’ सुनकुमारको यात्रा

सवारी साधनमा लेखिएका भावना कस्ता हुन्छन् ? सडक यात्रा गर्ने अधिकांशले सहजै उत्तर दिन सक्छन्– माया पिरतीका रमाइला र ठट्यौली भावना वा यस्तैयस्तै ।
तर, केही सवारी साधनमा भने मुलुकले भोगेको यथार्थ र अगाडि बढ्नुपर्ने बाटोबारे लेखिएको भेटियो ।  

‘मैले अरूको भविष्य हेरेर कोरेको यो चित्र अहिले मेरै भविष्यसँग मेल खान थालेको छ, चित्रको मुख्य पात्र त आज आफैं बन्नुप¥यो ।’

दुई वर्षअगाडि भक्तपुरको थिमीस्थित पेट्रोलपम्पको लाइनमा रोकिएको सागर लामाको ट्रकमा ‘अन्योल भविष्य’ कोरिएको थियो । यसको कारण थियो– विनाशकारी भूकम्प र भारतको नाकाबन्दी । भूकम्पले तातोपानी नाका बन्द भएपछि र नाकाबन्दीले तेल अभाव भएपछि उनले यस्तो भावना लेखेका थिए ।
‘मैले अरूको भविष्य हेरेर कोरेको यो चित्र अहिले मेरै भविष्यसँग मेल खान थालेको छ,’ लामाले त्यतिबेला नागरिकसँग भनेका थिए, ‘चित्रको मुख्य पात्र त आज आफैं बन्नुप¥यो ।’
दुुई वर्षपछि बुधबार साँखुबाट मेलम्चीतर्फ जाँदै गरेको मिनी टाटामा ‘पुनर्निर्माणको बाटोतर्फ’ लेखिएको भेटियो । मेलम्चीमा ढुङ्गा लिन जान लागेका नाङ्लेभारेका चालक सुनबहादुर तामाङले यस्तो नारा कोरेका थिए ।
‘हो, अब मुलुक निर्माणको युगमा अगाडि बढेको छ,’ ब्रम्हखेलमा रोकिएका चालक तामाङले भने, ‘हामी यस अभियानमा सहभागी भएका छौं ।’ डेढ वर्षअघि नयाँ गाडी निकालेपछि आफूले यस्तो भावना पोखेको उनले बताए । ‘यसअघि त मेरो गाडीमा पनि माया पिरतीका कुरा लेखिएका हुन्थे,’ उनले भने, ‘अहिले फेरिएको छ ।’
भूकम्पले घर भत्केपछि नयाँ जीवन पाएका उनले त्यसलगत्तै आफ्नो गाडीमा ‘आमाबुबाको आशीर्वाद’ लेखेका थिए । ‘यो जीवन उहाँहरूकै आशीर्वादले बचेको जस्तो लागेको छ,’ उनले भने, ‘निर्माण सामग्री ओसार्न थालेपछि चाहिँ ‘पुनर्निर्माणको बाटोमा’ भन्ने थपेको छु ।’
उनी दैनिक एक–दुई ट्रिप ढुङ्गा बालुवा बोक्छन् । उनले अघिल्लो वर्ष भूकम्प प्रतिरोधी घर बनाएका छन् । ‘भत्केका घर बनाउनु मात्र पनि पुनर्निर्माण होइन,’ उनले भने, ‘नभत्कने गरी घर बनाउनु पनि जरुरी छ ।’ त्यसैले उनले सकभर भूकम्प प्रतिरोधी घर बनाउन सल्लाह दिन्छन् ।
लामाको अन्योलपूर्ण भविष्यको नारा तामाङको नयाँ नाराले फेरिएको जस्तो देखिएको छ, तर यो पर्याप्त छैन  । सरकारले पुनर्निर्माणबारे जति कुरा गरे पनि अपेक्षाअनुरूप अघि बढ्न सकेको छैन । पुनर्निर्माणमा अपेक्षाकृत गति लिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल छाउन सक्ने कतिपयको बुझाइ छ ।
राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल पुरानै अडान र पुरानै ‘माइन्डसेट’ बोकेर नेताहरू अगाडि बढ्दा समस्याको समाधान निस्कन नसकेको सुनाउँछन् । सर्वसाधारणका माग र त्यसको समाधानबारे स्पष्ट हुन नसके मुलुक पुनः अन्योलमा भासिने उनी सुनाउँछन् ।
सरकारले भूकम्पको किस्ता वितरण ढिलाइ गर्दा निर्माणमा पनि ढिलो भएको उनको बुझाई छ । ‘भूकम्पको दोस्रो किस्ता आउन लागेकोले होला, अहिले धमाधम घर बन्दैछन्,’ उनले भने, ‘अहिले  मुलुक अन्योलपूर्ण अवस्थाबाट पुनर्निर्माणको बाटोतर्फ लम्कदै गएको देखिन्छ ।
समाजशास्त्री बलराम आचार्य भूकम्प र नाकाबन्दीको  घाउलाई  नयाँ निर्वाचन र संविधानले मलम लगाउँदै गरेको बताउँछन् । ‘हो, अन्योल केही हटेको छ,’ उनले भने, ‘अब अगाडिको यात्रामा बाधा नआओस् भन्ने चाहन्छौं ।’

प्रकाशित: २२ पुस २०७४ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App