१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जाडोमा के खाने के नखाने ?

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ?

बाँसबारी काठमाडौंका मनीष ज्ञवाली आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत छन् । हरेक वर्ष बदलिँदो मौसमसँगै उनको जीवनशैली पनि परिवर्तन हुन्छ । उनी आफू मात्रै नभएर, आफ्नो परिवारलाई पनि मौसमअनुसार चल्न सुझाव दिन्छन् । ‘जाडो मौसम लागेसँगै सुप र झोलिलो खाने कुरा खान थालेको छु । जसले गर्दा शरीर सुक्खा रहँदैन । टाउको दुख्ने, मुख सुक्खा हुने जस्ता चिसोले हुने समस्याबाट पनि बचिन्छ,’ उनी भन्छन्, ‘जाडोमा तरकारी मीठो हुन्छ, त्यसैले हाम्रो परिवारमा तरकारी धेरै खान्छौँ ।’

‘जाडो मौसम लागेसँगै सुप र झोलिलो खाने कुरा खान थालेको छु । जसले गर्दा शरीर सुक्खा रहँदैन । टाउको दुख्ने, मुख सुक्खा हुने जस्ता चिसोले हुने समस्याबाट पनि बचिन्छ । जाडोमा तरकारी मीठो हुन्छ, त्यसैले हाम्रो परिवारमा तरकारी धेरै खान्छौँ ।’

चिसो बढेसँगै उनले चिसो पेयपदार्थ खान पनि छाडेका छन् । दही, मही, कोक, फ्यान्टाजस्ता पेयपदार्थ उनी जाडोमा पिउँदैनन् । साथै, उनले बाहिर गएर खाने क्रम पनि घटाएका छन् । बेलुकी दाल पिउने, तरकारीको झोल र खाजामा भुटेको मकै खान थालेका छन् ।
तीनथाना, काठमाडौंकी लक्ष्मी खनाल गृहिणी हुन् । उनको घरमा जाडो मौसममा चियाको खपत ह्वात्तै बढ्छ । उनी पनि जाडो मौसममा आफ्नो र परिवारको स्वास्थ्यलाई ध्यानमा राख्दै दूध चियाको सट्टा ग्रिन टी र कालो कफी बढी खुवाउँछिन् । ‘खानासँग ज्वानो, गहतको झोल, मस्यौरा खान्छौँ । यसले शरीर भित्रैदेखि न्यानो बनाउँछ । त्यस्तै, खाजामा कोदोको रोटी, बेलुकीमा ढिँडो खाने गरेका छौँ,’ उनी भन्छिन् ।
सागले चिसो गराउँछ भन्ने लागेकाले जाडो मौसमको बेलुकी उनको भान्सामा साग पाक्दैन । तर हिङ, जिम्मु, ज्वानोले झानेका खानेकुरा खाने गरेको उनी बताउँछिन् । शरीरमा भिटामिन सी बढाउने भएकाले कहिलेकाहीँ घाममा बसेर सुन्तला खाने गरेको उनले बताइन् । ‘घाममा बसेर बदाम र सुन्तला खाँदाको मजै बेग्लै नि,’ उनी भन्छिन् ।
जाडो मौसममा रुघाखोकी र फ्लु हुन सक्ने भाइरसको पनि खतरा हुन्छ । यो समय हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले सामान्य रूपमा काम गरिरहेको सुनिश्चित गर्नु पनि जरुरी हुन्छ । त्यसैले जिंक पर्याप्त भएका खानेकुरा पनि खानुपर्छ । यस्तै, स्वस्थ र सक्रिय प्रतिरक्षा प्रणालीका लागि शरीरलाई आइरन पनि उत्तिकै आवश्यक छ । यसबाहेक माछा, अन्डा र चिजजस्ता भिटामिन बी– १२ पर्याप्त भएका खानेकुरा पनि निरन्तर खाइरहनुपर्छ ।
काठमाडौं टोखाकी कञ्चन बराल जाडो मौसममा छाला मात्रै नभएर शरीर पनि सुक्खा हुने गरेकाले झोलिलो पदार्थ धेरै खान रुचाउँछिन् । मटन सुप उनको भान्सामा जाडो मौसममा प्रायः तयार भइरहन्छ । ‘जाडोमा पानी कम खाइन्छ, त्यसैले पनि मटन सुप तयार भइरहन्छ,’ उनी भन्छिन् । त्यसबाहेक उनी स्वास्थ्यका विषयमा एकदमै सचेत छन् । उनले श्रीमान्सँगै स्वास्थ्य मध्यनजर गर्दै केही वर्ष अघिदेखि नुन र तेल कम खान थालेकी हुन् । उनको परिवारमा पनि खानपानको त्यही बानी बसिसकेको छ । उनीहरू बेलुकी रोटी र दाल खाने गर्छन् ।
हरेक ठाउँमा मौसममा आएको परिवर्तनसँगै खानपान र जीवनशैलीमा पनि परिवर्तन आउँछ । मौसमी फलफूल तथा तरकारी पनि आउने–जाने गर्छन् । गर्मी मौसममा बढी खाइने सलादलाई जाडो मौसममा सुपले प्रतिस्थापन गर्छ । बाहिर खाइने ग्रिल गरेको खानेकुरा भन्दा क्रक पट गरिएको खानेकुरा खानु राम्रो हुन्छ । जाडोमा जति धेरैपटक पकाएर खाइन्छ, त्यति धेरै नै खर्च नियन्त्रणमा रहने मात्र नभई आफ्नो शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।
जाडो मौसममा शरीरलाई न्यानो राख्न धेरै शक्ति चाहिन्छ । यसका लागि पर्याप्त मात्रामा कार्बोहाइड्रेट अथवा शक्तिबद्र्धक खाना खानुपर्ने चिकित्सकको सुझाव छ । ‘शरीरलाई जाडो मौसममा धेरै पोषणको आवश्यकता हुन्छ,’ डा. निश्चल ढकाल भन्छन् ।
जाडोमा खान सकिने थप विशेष खानेकुरा खजुर मिसिएको खीर पनि हुन सक्छ । खीरमा माथि ओखर र विभिन्न मौसमी फलफूल राखेर खानु पनि राम्रो हुन्छ । जाडोमा भिटामिन सी धेरै भएका फलफूल र तरकारी खान डाक्टर र डाइटिसियन सल्लाह दिन्छन् । सखरखण्ड, टमाटर, कागतीलगायत दैनिक सेवन गर्नाले शरीरमा शक्ति बढाउने मात्र नभई रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।
कतिपयलाई जाडो महिना मदिराले शरीर तताउने बहाना पनि हो । गर्मी र जाडो महिनामा मदिरा खाने प्रकृति पनि फरक हुने कतिपय बताउँछन् । जाडो महिनामा बियर कम खाइने ललितपुरको भैँसेपाटी बस्ने प्रभास यादव बताउँछन् । ‘बियर चिसो खान मजा आउँछ । त्यही भएर जाडोमा बियरको सट्टा रम खाइन्छ,’ उनी भन्छन् । रुघा लाग्ने बेलामा पनि तातो पानी र रमसँग मह खाँदा रुघा समेत ठीक हुने उनी बताउँछन् ।
जाडो महिना बाक्लो कपडा लगाउन पाइने महिना पनि हो । यो समयमा दुब्लो मानिसलाई पनि मोटो देखाउने र मोटो मानिसलाई पनि कपडा लगाएको भन्ने भ्रममा पार्न सकिने भएकाले पनि कतिपयलाई जाडो महिना मनपर्छ ।
जाडो महिनामा जति खाँदा पनि पच्ने र मोटाइने डर कम भएकाले टन्न खाने काठमाडौं बानेश्वरकी एलिसा कार्की बताउँछिन् । ‘मन लागेको कुरा खाने नै जाडो महिनामै हो,’ उनी हाँस्दै भन्छिन् । यो समयमा जति खाए पनि खास नमोटाइने उनको अनुभव छ । अलिअलि मोटाइहाले पनि बाक्लो कपडा लगाएर छोप्न सकिने उनी बताउँछिन् । 

प्रकाशित: २२ पुस २०७४ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App